निर्णय नं. ११३७८ - भन्सार मूल्याङ्कन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३७८ - भन्सार मूल्याङ्कन भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक: १ फैसला मिति :२०८१/०८/२० ६११ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान फैसला मिति : २०८१।८।२० ०७९-RF-०००४ मुद्दा:- भन्सार मूल्याङ्कन पुनरावेदक : नेपाल सरकार, अर्थ मन्त्रालय, मूल्याङ्कन पुनरावलोकन समितिका तर्फबाट अध्यक्ष राजन खनाल विरूद्ध प्रत्यर्थी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १० नयाँ बानेश्वर स्थित न्यु एभरेष्ट ट्रेडर्सका प्रो. सज्जन राज राजभण्डारी भन्सार मूल्य कायम गर्ने प्रयोजनका लागि बीजक मूल्य आधारभूत र महत्त्वपूर्ण प्रमाण हुने भए तापनि बीजक मूल्य शङ्कास्पद देखिएमा सोही मूल्य नै कारोबार मूल्य हो भनी प्रमाण पेस गरी बीजक मूल्यको विश्वसनीयता पुष्टि गराउने जिम्मेवारी पैठारीकर्ताको हुने । बीजकको विश्वसनीयतामा शङ्का देखिएको अवस्थामा भन्सार ऐन, २०६४ ले निर्धारण गरेबमोजिमको विधि र प्रक्रिया अवलम्बन गरी भन्सार अधिकृतले कायम गरेको कारोबारको मूल्यलाई नै मान्यता दिनुपर्ने । केबल बीजक र भुक्तानीको प्रमाण वा प्रतीतपत्रको पर्याप्त प्रमाण मात्र कारोबार मूल्य हुने भनी मानेमा भन्सार ऐन, २०६४ को दफा १३ को कारोबार मूल्य निर्धारणसम्बन्धी अन्य व्यवस्था निष्प्रभावी हुने । (प्रकरण नं.११) पुनरावेदकका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेशप्रसाद धिताल र विद्वान् अधिवक्ताद्वय श्री राजेन्द्र घिमिरे र श्री सिताराम अधिकारी अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क १, नि.नं.९५२८ सम्बद्ध कानून : भन्सार ऐन, २०६४ सुरू तहमा फैसला गर्ने:- सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा पुनरावेदन तहमा फैसला गर्ने :- माननीय अध्यक्ष श्री दिपककुमार कार्की राजस्व सदस्य श्री मणिदेव भट्टराई लेखा सदस्य श्री हरि पोखरेल राजस्व न्यायाधिकरण काठमाडौं यस अदालतबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला न्या.डा.नहकुल सुवेदी : राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति २०६९।३।२८ मा भएको फैसलाउपर यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई संयुक्त इजलाससमक्ष पेस हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम २ को खण्ड (ग) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भनी मिति २०७९।१०।०९ मा भएको आदेशानुसार यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड न्यु एभरेष्ट ट्रेडर्सले इन्भ्वाइस नं. G5569/70 Dated 25 June, 2009 बाट आयात गरेको मालवस्तु Land Rover Discovery-3 6 CYL TDV6, 7 seaters, 2720cc गाडीको बीजक मूल्य CIFCALUSD 22580.00 र Freelander-2 TD4 5 seater, 2179cc diesel. गाडीको बीजक मूल्य CIFCALUSD 16028.00 घोषणा गरी मूल्य कायम गरिपाउँ भनी मिति २०६६।४।१४ मा सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सामा पैठारीसम्बन्धी घोषणा पत्र पेस गरेको देखिन्छ । उक्त मिति २०६६।४।१४ मा पेस गरेको घोषणापत्रउपर कारबाही हुँदा भन्सार ऐन, २०६४ को दफा १३(९) बमोजिम Freelander-2 TD4 5 seater, 2179cc diesel. गाडीको प्रतियुनिट CIF CAL USD 27,145 र Land Rover Discovery-3 6CYL TDV 6, 7 seater, 2720cc गाडीको USD 29,046 कारोबार मूल्य निर्धारण गर्नु भनी सुख्खा बन्