निर्णय नं. ११३८१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३८१ - उत्प्रेषण भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०२/३१ ८३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।२।३१ ०७७-WO-०८५४ मुद्दा : उत्प्रेषण निवेदक : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.१४ घर भई हाल काठमाडौं जिल्ला, नागार्जुन न.पा. वडा नं.४ मावली बस्ने निलिमा खत्रीसमेत विरूद्ध विपक्षी : उच्च अदालत पाटनसमेत मुद्दामा नदेखाएकै कारणबाट विधिवत् विवाह भएकी श्रीमती र निजबाट जन्मेको सन्तानको अंश हक नै समाप्त हुन नसक्ने । (प्रकरण नं.४) अंशबन्डा नहुँदै अंशियार थप भएको अवस्थामा थप अंशियारको समेत बराबर अंश पाउने । त्यस्तो अधिकारबाट कसैलाई वञ्चित गर्ने वा प्रचलित कानूनमा उल्लेख भएको कानूनी व्यवस्थाबमोजिमबाहेक घटीबढी गरी बन्डा गर्नु नहुने । यसबाट फैसला कार्यान्वयन हुनुअगावै तत्काल कायम रहेका अंशियारहरूको यकिन गरी सबै अंशियारलाई बराबर हुने गरी सम्पत्तिको बन्डा गर्नुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री शरदप्रसाद कोइराला र श्री गोपालप्रसाद अर्याल विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री गुणनिधि न्यौपाने र विद्वान् अधिवक्ता श्री लक्ष्मी खड्का थापा अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ आदेश न्या.सुष्मालता माथेमा : नेपालको संविधानको धारा १७ (१) (च) नं.बमोजिम परेको प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यस प्रकार छः- निवेदकमध्येकी म शान्ति रिजालको ल.पु.जि.ल.पु.म.पा. वडा नं. १४ बस्ने सगुनबाबु खत्रीसँग परम्परागत विवाह भई निजसँगको दाम्पत्य सम्बन्धबाट छोरी निवेदिका निलिमा खत्रीको मिति २०५८।६।२४ मा, माइली छोरी नेहा खत्रीको मिति २०६०।३।२३ मा र कान्छी छोरी अपाङ्ग नम्रता भन्ने नमुना खत्रीको मिति २०६४।८।१३ मा जन्म भएको थियो । छोरी मात्रै जन्माउनेलगायतका दोषारोपण एवं कुटपिट गरी मिति २०६७।९।८ मा घरबाट निकाला गरेकोले मूल अंशियार ५ जनाबाट पति पिता सगुनबाबु खत्रीको १ भाग छुट्याई सोबाट विवाह खर्च छुट्याई ५ भाग लगाई ४ भाग अंश छुट्याइपाउँ भनी मिति २०६९।५।१८ मा ललितपुर जिल्ला अदालतमा फिरादपत्र दायर गरेकोमा ललितपुर जिल्ला अदालतबाट फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी मिति २०७३।२।२४ पेस भएको तायदातीको सम्पत्तिलाई ५ भाग लगाई १ भागलाई ६ भाग लगाई ४ भाग अंश पाउने गरी फैसला भएको छ । उक्त फैसला उच्च अदालत पाटनबाट मिति २०७६।१।३ मा सदर भई अन्तिम भएकोले अंश पाउने सम्पत्ति छुट्याइपाउन मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४१ बमोजिम मिति २०७६।६।७ मा ललितपुर जिल्ला अदालतमा दरखास्त गरेकोमा मिति २०७६।८।५ मा सगुनबाबु खत्रीसँगको विवाह भई एक छोरी बेबी खत्रीको जन्म भएको गर्भवतीसमेत भएकोले अंशियार थप गरी अंश छुट्याइपाउँ भनी कविता भण्डारी खत्रीले निवेदन गरेकोमा पछि मिति २०७६।९।२५ मा अत्यधिक रक्तश्राव भई गर्भ तुहिएकोले २ जना अंशियार थप गरी कारवाई गरिपाउन निवेदन गर्नुभएको थियो । सो निवेदनमा ललितपुर जिल्ला अदालतबाट मिति २०७७।८।१९ मा अदालतको फैसलापछि अंश मुद्दाको कार्यान्वयनको क्रममा थप अंशियार कायम गर्न गरिएको दाबी मुलुकी देवानी संहिता, २०७४ को दफा २१०(२) र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४१(२२) को प्रावधानले नमिल्ने र अदालतमा मुद्दा परी तहतह हुँदै फैसला भई अन्तिम फैसलापश्चात् उक्त