निर्णय नं. ११३८७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३८७ - अंश भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०८/२९ ११२५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।०८।२९ मुद्दाः अंश ०७८-DF-०००७ पुनरावेदक / वादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भनिएको सो नभई बर्दिया जिल्ला, जमुनी गा.वि.स. वडा नं.१ बस्ने युवराज सुवेदी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भोलाप्रसाद सुवेदीसमेत ०७८-DF-०००८ पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भोलाप्रसाद सुवेदी विरूद्ध प्रतर्थी / वादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भनिएको सो नभई बर्दिया जिल्ला, जमुनी गा.वि.स. वडा नं.१ बस्ने युवराज सुवेदी अंशबन्डा नभएका एकासगोलको घरपरिवारको नाममा रहेको सम्पत्तिलाई एकासगोलको मान्नुपर्ने । त्यस्तो सम्पत्ति सबै अंशियारहरूलाई बन्डा गर्नुपर्ने । कुनै अंशियारको नाउँमा रहेको सम्पत्ति निजी आर्जनको भई अंशबन्डाको १८ नं. बमोजिम बन्डा गर्नु नपर्ने सम्पत्ति हो भनी दाबी गर्नेले त्यस्तो सम्पत्ति पैतृक सम्पत्तिको लगानीबेगर आफूले निजी ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको हो भनी प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री कृष्ण थापा र श्री सपना सुवेदी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री कृतिनाथ शर्मा पौडल अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क १०, नि.नं.८४७५ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे पर्वत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित माननीय न्यायाधीश श्री उमेशराज पौड्याल पुनरावेदन अदालत बागलुङ यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला न्या. सपना प्रधान मल्ल : यस अदालतको संयुक्त इजलासको फैसलाउपर सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को खण्ड (क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड विपक्षी पिता भोलाप्रसादका २ श्रीमतीमा जेठी म फिरादीको आमा विपक्षी चन्द्रकली सुवेदी भई निज र पिता भोलाप्रसादको सहवासबाट एक छोरी र म फिरादीको जायजन्म भएको, विपक्षीमध्येकी कान्छी तुलाकुमारीतर्फबाट २ छोरा गोविन्दप्रसाद र इन्द्रप्रसाद तथा तीन छोरी कमला, सीता र मनुको जायजन्म भएकोमा सबै छोरीहरूको विवाहदान भइसकेको छ । विपक्षी पिता भोलाप्रसादले मेरी आमा चन्द्रकलीलाई हेलाहोचो गरी अंशसमेत नछुट्याएकाले मसमेत माइती मावलीमा बसेको हुँदा सधैँ मावलीमा बसी जीविकोपार्जन गर्न नसकी विपक्षी पिता तथा आमासमेतसँग गई इज्जत आमदअनुसार खान लाउन, औषधी उपचार गर्न, शिक्षादीक्षा प्राप्त गर्न खर्च दिनुहोस् भन्दा तँलाई खान लाउन पनि दिन्‍न जे जानेको छस् गर् भनी अन्यायपूर्ण जवाफ दिई अंश दिन इन्कार गरेकाले प्रतिवादीहरूसँग तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई ६ बन्डा लगाई त्यसको १ भाग अंश दिलाइपाउँ भन्‍नेसमेत बेहोराको फिराद पत्र । विपक्षीकी आमा चन्द्रकलीले म भोलाप्रसादउपर यसै पर्वत जिल्ला अदालतमा मिति २०३१।३।१५ मा अंश मुद्दाको फिराद दर्ता गरेकीमा मैले न