निर्णय नं. ११३९० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३९० - उत्प्रेषण भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/११/१८ ४६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७७।११।१८ ०६९-WO-११९५ मुद्दा: उत्प्रेषण निवेदक : जिल्ला महोत्तरी, खयरमारा गा.वि.स. वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ बस्ने, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा तत्काल कार्यरत प्र.स.नि. सूर्यबहादुर सुनुवार विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरवार काठमाडौंसमेत भ्रष्टाचारजन्य वा अन्य अवाञ्छित कार्य गरेको भन्ने तथ्य मात्र कारबाहीको लागि पर्याप्त आधार नहुने । अवाञ्छित कार्यका सम्बन्धमा कारबाहीको निमित्त कानूनले निर्धारण गरेको प्रक्रिया पनि अनिवार्य रूपमा अनुसरण गर्नुपर्ने । कानूनमा तोकिएका विभागीय सजायसम्बन्धी कारबाही गर्दा अपनाउनुपर्ने कार्यविधिको पालना नगरी वा पूर्वाग्रही भावना राखी भए गरिएका काम कारबाही त्रुटिपूर्ण र बदरयोग्य हुने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती र विद्वान्‌ अधिवक्ता श्री सन्तोष राना मगर प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश गौतम अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छ : तथ्यगत बेहोरा म प्रहरी सहायक निरीक्षक पदमा नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत थिएँ । मिति २०६७।५।१८ मा राष्ट्रिय दैनिक कान्तिपुर तथा नागरिक दैनिक पत्रिकामा "छोरालाई इन्स्पेक्टर बनाउन सभासद्‌ले नै घुस खुवाए" भन्ने शीर्षकमा प्रकाशित समाचारमा म निवेदक र सुरेन्द्रबहादुर आचार्यले खुल्ला प्रतियोगिताद्वारा लिने प्रहरी निरीक्षक पदको परीक्षामा समावेश गोविन्द नेपालीको छोरा नवराज नेपालीलाई पास गराइदिन्छु भनी निजसँग दुई लाख बैना स्वरूप लिएको भन्ने समाचार प्रकाशित भयो । सो समाचारको विषयमा मिति २०६७।५।१८ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक वीरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भई सो समितिले आफूले गर्न नहुने एवम् नमिल्ने काम गर्न सक्छु भनी लोभ लालचमा परी गैरकानूनी तवरले रकम लिने-खाने गरेको पाइँदा निजको उक्त कार्य प्रहरी नियमावली, २०४९ को नियम ८८(ङ) अनुसार आफ्नो पदको जिम्मेवारीअनुसार आचरण नगरेको, ऐ.ऐ.को (छ) अनुसार भ्रष्टाचार गरेको र ऐ.ऐ. को (ज) अनुसार आचरणसम्बन्धी नियमहरू उल्लङ्घन गर्नेसमेतको कसुर गरेको भनी म निवेदकलाई ऐ. नियमावलीको नियम ८४ को देहाय (ज) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरी मिति २०६७।१२।२५ गते प्रहरी नायब महानिरीक्षकबाट निर्णय भयो । सो निर्णयउपर प्रहरी महानिरीक्षकसमक्ष पुनरावेदन गरेकोमा सुरू आदेश मिलेकै देखिएको हुनाले पुनरावेदन खारेज हुने ठहर्छ भनी आदेश भएको छ । मैले गर्दै-नगरेको आरोप लगाई सेवाबाट बर्खास्त गर्ने गरी भएको आदेश गैरकानूनी छ । म निवेदक र गोविन्द नेपालीबिच घरायसी व्यवहारमा लेनदेन हुने गरेको र निजबाट व्यवसाय सञ्चालन गर्न सापटी स्वरूप मिति २०६७।४।३ मा लिएको रू.२,००,०००।- मिति २०६७।५।११ मा फिर्ता गरिसकेको छु । सोही समाचारको विषयलाई लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट अनुसन्धान गरी आयोगको निर्णय सं