निर्णय नं. ११३९३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३९३ - उत्प्रेषणयुक्त परमादेश भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/११/१६ ४३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७९।११।१६ ०७६-WO-०३०२ विषय : उत्प्रेषणयुक्त परमादेश निवेदक : वासुदेव सुवेदीको छोरा, साबिक जिल्ला भोजपुर, दलगाउँ गा.वि.स., वडा नं. १ बाट जिल्ला सुनसरी, रामधुनी नगरपालिका, वडा नं. ३ मा स्थानान्तरण भई हाल जिल्ला भक्तपुर, मध्यपुर थिमी नगरपालिका, वडा नं. २ मा घर भई जनक शिक्षा सामग्री केन्द्र केन्द्रीय कार्यालय, भक्तपुरमा वरिष्ठ सहायक पदमा कार्यरत एकराज सुवेदीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत खुल्ला प्रतियोगितामा सेवा बाहिरबाट सेवा प्रवेश गर्ने व्यक्तिहरूका हकमा सेवाको पदमा रही गर्नुपर्ने कामको प्रकृतिअनुसार न्यूनतम र उपल्लो हदको उमेर तोक्न सकिने भए तापनि एकपटक सेवा प्रवेश गरी सोही संस्थामा कार्यरत कर्मचारीहरूका हकमा उपल्लो पदमा प्रतिस्पर्धा गर्न उमेर हद तोक्नुको कुनै औचित्य पुष्टि नहुने । संस्थाभित्रका कर्मचारीहरूले जीवनको महत्त्वपूर्ण ऊर्जा, समय र सिर्जनशीलता सोही संस्थामा नै व्यतीत गरिरहेको अवस्था हुँदा अन्य उम्मेदवार र सोही संस्थामा कार्यरत बहालवाला कर्मचारीबिच फरक व्यवस्था गर्न नसकिने भन्ने नदेखिने । फरक फरक वर्ग वा समूहका व्यक्तिलाई औचित्यका आधारमा फरक कानूनी व्यवस्था (intelligible differentia) गर्न सकिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री माधव बस्नेत विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ताद्वय श्री सूर्यराज दाहाल र श्री खेमराज ज्ञवाली तथा विद्वान् अधिवक्ता श्री शिवराम तिमल्सिना अवलम्बित नजिर : ने.का.प.२०७८, अङ्क १, नि.नं.१०६३८ सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ लोक सेवा आयोग ऐन, २०६६ आदेश न्या.नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड म निवेदक एकराज सुवेदी जनक शिक्षा सामग्री लिमिटेड, सानोठिमी भक्तपुरमा मिति २०६१।३।२८ देखि तह-४ सहायक अफसेट (प्राविधिक) पदमा नियुक्ति भई जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानो ठिमी भक्तपुरको मिति २०७१।६।६ को निर्णयानुसार मिति २०७१।६।७ देखि ज्येष्ठता कायम हुने गरी बढुवा भई बढुवा भएको पद वरिष्ठ सहायक तह-५ प्राविधिक अफसेट समूहको पदमा हालसम्म कार्यरत छु । त्यसैगरी म निवेदक प्रभात प्रकाश हाडा ऐ.कार्यालयमा मिति २०५९।१।३१ मा तह-२ अफसेट हेल्परमा नियुक्ति भई हाल मिति २०७५।१।१९ को निर्णयले बढुवा भई सोही कार्यालयमा तह-४ प्राविधिक अफसेट पदमा कार्यरत छु । त्यसैगरी म निवेदक सन्तोषकुमार कार्की मिति २०५५।२।२९ को निर्णयानुसार सोही कार्यालयमा तह-२ अफसेट हेल्पर प्राविधिक पदमा नियुक्ति भई हाल मिति २०७५।१।१९ देखि तह ४ प्राविधिक अफसेट सहायक पदमा कार्यरत छु । त्यसैगरी म अजयकुमार पासमान मिति २०६१।३।२८ मा सोही कार्यालयमा तह-३ उपसहायक प्राविधिक पदमा नियुक्ति भई मिति २०५९।५।१२ देखि तह ४ सहायक प्राविधिक पदमा कार्यरत छु । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, केन्द्रीय कार्यालय, सानोठिमी भक्तपुरको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेसम्बन्धी राष्ट्रिय दैनिक गोरखापत्रमा मिति २०७६।५