निर्णय नं. ११३९७ - अंश भरपाईको लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३९७ - अंश भरपाईको लिखत बदर भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०८०/०३/२४ १६७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।३।२४ ०७३-CI-०६८३ मुद्दाः- अंश भरपाईको लिखत बदर पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३ बस्ने रेशमराज पण्डितसमेत विरूद्ध प्रत्यर्थी / वादी : धादिङ, जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३ घर भई हाल ऐ. वडा नं. ६ बस्ने कल्पना कौशिक कुनै अंशियारले आफ्नो अंश नलिने गरी अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गर्दा आफूले पाउने अंशमध्ये आंशिक रूपमा केही अंश लिएर वा केही नलिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंशबापत केही नगदी वा जिन्सी मात्र लिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गरेपछि अंश छोडपत्र गर्नेको हकमा निजको अंशबन्डा भएसरह मानिने । कतिपय अवस्थामा पत्‍नी वा छोराछोरीलाई अंश हकबाट वञ्‍चित गर्ने उद्देश्‍यले कुनै पति वा पिताले आफ्नो अंश छोडपत्र गर्न सक्ने अवस्था आउन नदिन मन्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सक्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भोजराज भट्ट प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री गणेशप्रसाद शर्मा तथा विद्वान्‌ अधिवक्ताद्वय श्री चित्रदेव जोशी र श्री जगन्‍नाथ अधिकारी अवलम्बित नजिर : ने.का.प.२०७१, अङ्क ११, नि.नं.९२७९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल धादिङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड विपक्षी प्रतिवादीहरू ससुरा रेशमराज पण्डित, सासू भिम कुमारी पण्डित, जेठा मेरो पति गिरिश कौशिक र कान्छा गोकर्णप्रसाद पण्डित गरी ४ मूल अंशियार भएकोले निजहरूबिच अंशबन्डा गरी ४ भाग लगाई सोको १ भागबाट पति गिरिश, सौता र सौता पट्टिका २ छोरा तथा म फिरादीसमेत ५ अंशियारमा ५ भाग लगाई सोको १ भाग अंश पाउँ भनी मैले २०६८ साल चैत्रमा यसै अदालतमा फिराद दायर गरेकोमा विपक्षीहरूले प्रतिउत्तर लगाउँदा सो प्रतिउत्तर पत्रमा मेरो पतिले रू.१,००,०००।- (एक लाख) नगद अंशबापत लिई प्रतिवादी गोकर्णप्रसादको भागमा ५ रोपनी र रेशम राजको भागमा २-१५-१ रोपनी लिने गरी विपक्षीहरूबिच मिति २०६८।०४।२९ मा र नं. ३४९ को अंश भरपाईको लिखत मालपोत कार्यालय धादिङबाट पारित भएको बेहोरा उल्लेख गरेको हुँदा मलाई थाहा हुन आयो । म बेवास्ता गरिएकी जेठी श्रीमती तथा बुहारी भएकोले मेरो अंश हक मेट्ने नियतले अंश भरपाई लिखत खडा गरेका हुन् । विपक्षी पतिले निरअंशी बनी सबै अंश परित्याग गरी मलाई अंशविहीन बनाई मेरो अंशहक मेट्ने कार्य गरेकोले सो कार्य मुलुकी ऐन अंशबन्डाको महल, अंशबन्डाको मूल्य मान्यतासमेतको प्रतिकूल हुँदा विपक्षीहरूबिच भएको मिति २०६८।०४।२९ को र.नं. ३४९ को अंश भरपाई लिखत बदर गरी मेरो अंश हक सुरक्षित गरिपाउँ भन्‍नेसमेत बेहोराको फिराद पत्र । हामी प्रतिवादीहरूको जम्मा सम्पत्ति मूल्य रू. ७,००,०००।- बराबरको भएको र सोको ४ भाग