निर्णय नं. ११३९८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३९८ - कर्तव्य ज्यान भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०८०/०३/११ १५९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।३।११ मुद्दा : कर्तव्य ज्यान ०६९-CR-०८७८ पुनरावेदक / प्रतिवादी : अगनबहादुर पुनको नाति टेकबहादुर पुनको छोरा रूपन्देही जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने गगनबहादुर पुनसमेत विरूद्ध प्रत्यर्थी / वादी : रूपन्देही जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने केशवलाल श्रेष्ठको जाहेरीले नेपाल सरकार ०६९-CR-१०३९ पुनरावेदक / वादी : केशवलाल श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने टेकबहादुरको छोरा गगनबहादुर पुनसमेत फौजदारी मुद्दामा अभियुक्तउपरको कसुर स्थापित हुनका लागि तीन महत्त्वपूर्ण पूर्वावस्था स्थापित भएको हुनुपर्ने । सर्वप्रथम आपराधिक कार्य वा वारदात (corpus delicti) स्थापित हुनु आवश्यक हुने । वारदातको अस्तित्व (existence of incidence) स्थापित हुन नसकेमा कसुरदारमा संलग्नताको प्रश्न उठ्न नसक्ने । कर्तव्य ज्यान मुद्दामा केवल लास फेला पर्नु मात्र वारदात स्थापित हुनका लागि पर्याप्त हुन नसक्ने । वारदात स्थापित हुनका लागि मृतकको मृत्यु कर्तव्यबाट भएको तथ्य स्थापित हुनुपर्ने । मृतकको मृत्यु कर्तव्यबाट भएको हो भन्ने तथ्य स्थापित हुन नसकेमा कसुरदारउपर कसुर स्थापित हुने पूर्वावस्था नै नरहने र अभियुक्तउपरको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहने भएकाले वादी पक्षले नै वारदातको अस्तित्व स्थापित गराउन सक्नुपर्ने । (प्रकरण नं.४) अभियुक्तउपरको आरोपित कसुर प्रमाणित गर्ने भारअन्तर्गत दोस्रो पूर्वावस्था कसुरदारको पहिचान (identification of accused) गर्नु रहेको हुने । वारदात वा आपराधिक कार्य स्थापित हुनु र अभियुक्तउपरको कसुर पुष्टि हुनु दुई फरक अवस्था हुने । वारदात स्थापित भएको पुष्टि भए तापनि वारदातमा आरोपित व्यक्तिको संलग्नता पुष्टि नभएमा अभियुक्तउपरको अभियोग स्थापित हुन नसक्ने । अभियुक्तको पहिचान शङ्कारहित तरिकाले पुष्टि हुनुपर्ने । (प्रकरण नं.५) अभियुक्तउपरको आरोपित कसुर प्रमाणित गर्ने भारअन्तर्गत अन्तिम वा तेस्रो पूर्वावस्था कसुरदारको वारदातमा संलग्नताको तह वा स्तर (involvement of accused) को पहिचान गर्नु रहेको हुने । प्रतिवादीहरूको आरोपित कसुरमा संलग्नता भएको पुष्टि भएकै अवस्थामा पनि सबै प्रतिवादीहरूको समान स्तरको संलग्नता नरहेको हुन सक्ने । अदालतले कसुरदारलाई सजाय निर्धारण गर्दा संलग्नताको स्तर, कसुरको गम्भीरता र दोषको मात्राअनुसार समानुपातिक रूपमा गर्नुपर्ने । कसुरदारको व्यक्तिपिच्छेको संलग्नताको स्तर यकिन नगरी गोश्वारारूपमा सजाय ठहर गर्नु फौजदारी दायित्वको वैयक्तिकताको सिद्धान्त (principle of individualized criminal liability) को विपरीत हुन जाने । कसुरमा संलग्न जति सबैलाई एकैरूपमा हदैसम्मको चर्को सजाय हुनुपर्ने भन्ने फौजदारी न्यायको सिद्धान्तअनुकूल हुन नसक्ने । अभियुक्तउपरको कसुर प्रमाणित हुनसक्ने वा नसक्ने प्रश्नको निर्क्यौल वारदातको अस्तित्व, कसुरदारको पहिचान र संलग्नताको स्तर (existence of incidence, identification of accused र involvement of accused) का आधारमा गरिने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू