निर्णय नं. ११३९९ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३९९ - जग्गा खिचोला भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०८१/०१/१३ ८७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८१।०१।१३ ०७६-CI-०८८१ मुद्दाः- जग्गा खिचोला पुनरावेदक / प्रतिवादी : नेपाल नागरिक उड्‍डयन प्राधिकरण, नेपालगन्ज नागरिक उड्‍डयन कार्यालय राझाँ बाँकेका तर्फबाट अख्तियारप्राप्‍त नेपाल नागरिक उड्‍डयन प्राधिकरणका महानिर्देशक वर्ष ४९ को संजिव गौतम विरूद्ध प्रत्यर्थी / वादी : राम औतारको पत्‍नी जिल्ला बाँके, नेपालगन्ज उ.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ७८ की मुन्‍नीदेवी बनेनी फैसलाबमोजिम हक स्थापित भइसकेको सम्पत्तिमा वादीले चलन नचलाएकै मात्र कारणले उक्त सम्पत्तिमा प्रतिवादीको प्रतिकूल स्वामित्व (adverse ownership) स्थापित हुन नसक्ने । यदि त्यस्तो हुने हो भने सम्पत्तिको प्राप्‍ति र समाप्‍तिसम्बन्धी हाम्रो मौलिक संरचना नै अस्तव्यस्त हुने । सम्पत्ति उपभोग गर्नबाट वञ्‍चित गर्ने प्रकारको प्रक्रियागत त्रुटि वा कमी कमजोरीहरू खोजी सोही आधारमा बन्देज लगाउने हो भने व्यक्तिको सम्मानपूर्वक बाँच्ने आधारको रूपमा रहेको सम्पत्तिसम्बन्धी संवैधानिक एवम् कानूनी हक हनन हुन जाने अवस्था सिर्जना हुन सक्ने । यस्तो अवस्थामा कुनै प्रकारको प्राविधिक कारणमा मात्र सीमित नरही यथार्थ एवम् तथ्यपरक प्रमाण र कानूनमा आधारित रही वास्तविक रूपमा न्याय प्रदान गर्नु अदालतको कर्तव्य हुने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री ताराबहादुर सिटौला र अधिवक्ताद्वय श्री द्वारिकाप्रसाद भट्टराई तथा श्री भेषराज न्यौपाने प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री मधुर पाठक अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री तेजनारायण पौडेल बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या.सुनिलकुमार पोखरेल : उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७५।०२।२७ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहर्‍याई हेर्ने अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः संक्षिप्‍त तथ्य जिल्ला बाँके मनिकापुर गा.वि.स. वडा नं.७क कि.नं.४३० को ज.वि.०-०-१२ जग्गा म फिरादीका नाउँमा दर्ता रही हकभोग गरी तिरो तिरी सो भोग चलन गर्दै आएकोमा विपक्षी हवाई विभाग तथा मन्त्रालयको आदेशले मेरो ज.वि.०-०-१२ मध्ये पश्चिमतर्फको ज.वि.०-०-७१/२ जग्गामा पनि तारबार लगाई आफ्नो कम्पाउन्डभित्र पारी घेर्न लागेको कुरा म फिरादीले थाहा पाएकोले म फिरादी विपक्षीहरूसँग गई यो जग्गा मेरो हो तपाइँले मेरो जग्गामा तारबार लगाउन पाउनु हुँदैन भनी अनुरोध गर्दा विपक्षी योजनाका कर्मचारीहरूले हामी सरकारी कर्मचारी हौं । उक्त जग्गा तिम्रो जग्गा भए पनि हामीहरू सो जग्गामा तारबार लगाई छाड्छौं । जे मन लाग्छ गर भनी ठाडो जवाफ दिई तारबार लगाई मेरो निर्विवाद हकभोग चलनको जग्गालाई अनाधिकार कब्जा गरी लिएकाले चित्त नबुझी प्रतिवादीहरूका नाउँमा जग्गा मिच्नेको १, १८ नं. को म्यादभित्र नालेस गरेको छु । उक्त खिचोला गरेको तारबारसमेत हटाई प्रतिवादीको खिचोला मेटाई चलन चलाइप