निर्णय नं. ११४०२ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४०२ - अंश चलन भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०७९/१२/१६ १०५६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।१२।१६ ०७८-DF-००१३ मुद्दाः अंश चलन पुनरावेदक / वादी : हुम्ला जिल्ला, सिमिट गा.वि.स. वडा नं.३ हाल परिवर्तित सिमकोट गाउँपालिका वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने डा.दिनेश रोकायासमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : हुम्ला जिल्ला, सिमकोट गा.वि.स. वडा नं.३ को हाल परिवर्तित सिमकोट गाउँपालिका वडा नं. ५ बस्ने जयबहादुर रोकायासमेत कर्मचारी सञ्चय कोषलगायत विभिन्न कोषहरूमा जम्मा भएको रकम सेवाको अवधिमा सहुलियत ऋणको रूपमा र अवकाशपछि एकमुष्ट फिर्ता पाउने हुन्छ । उक्त रकम विशुद्ध रूपमा जीवन निर्वाह तथा दैनिकी धान्नको लागि प्रयोग गरिने रकमको रूपमा रहने भएकोले उक्त सम्पत्तिमा सेवा निवृत्त कर्मचारीले जीवनकालभरि आफूले उपभोग गरी बाँकी रहेमा मात्र अन्यको दाबी रहनसक्ने सम्पत्ति हुने । निजको शेषपछि यसले खानु भनी लिखत गरिदिएको रहेछ भने लिखतैबमोजिम हुने । लिखत रहेनछ भने अपुताली खाने रोलक्रममा रहेका हकवालाले पाउने । (प्रकरण नं.११) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने र विद्वान् अधिवक्ता श्री सरोज अधिकारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मुकुन्द शर्मा पौडेल तथा विद्वान् अधिवक्ताहरू श्री शशिनाथ मरासिनि, श्री सुधा धिताल, श्री अमिता गौतम, डा. श्री रमेश पराजुली र श्री रजिता थापा अवलम्बित नजिर : ने.का.प.२०५६, अङ्क ७, नि.नं.६७४७ ने.का.प.२०७३, अङ्क १२, नि.नं.९७२५ ने.का.प.२०७५, अङ्क ९, नि.नं.१०१०१ ने.का.प.२०७६, अङ्क ५, नि.नं.१०२५६ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ कानून व्याख्यासम्बन्धी ऐन, २०१० कर्मचारी सञ्चय कोष ऐन, २०१९ निवृत्तभरण कोष ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री कृष्णराम कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री राजकुमार वन माननीय न्यायाधीश श्री अग्नीप्रसाद थपलिया उच्च अदालत पाटन यस अदालतमा फैसला गर्ने: माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला न्या.अनिलकुमार सिन्हा : यस अदालतको संयुक्त इजलासको फैसलाउपर सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) को देहाय (ग) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड प्रतिवादीमध्येका जयबहादुर रोकाया हामी फिरादीका पिता तथा प्रतिवादीमध्येकी जयकली रोकाया आमा र प्रतिवादीमध्येकी लक्ष्मी ऐडी रोकाया कान्छी आमा नाताका मानिस हुनुहुन्छ । जयकलीको तर्फबाट दुई छोरा हामी फिरादीहरू क्रमश: डा.दिनेश रोकाया र डा.नविन रोकाया तथा एक छोरी ममता रोकायाको जायजन्म भएकोमा छोरी ममता रोकायाको विवाह दानसमेत भइसकेको छ । यसै गरी कान्छी आमातर्फ दुई छोराहरू सागर रोकाया र सृजन रोकायाको जायजन्म भएको छ । यस स्थितिमा हामीहरू एकासगोलमा रहँदै बस्दै आइरहेको अवस्था छ । हामीहरूको बिचमा हालसम्म अंशबन्डा नभएको र हामी फिरादीहरू डा.दिनेश रोकाया र डा.नविन रोकाया तथा भाइहरू सागर रोकाया र सृजन रोकायाको विवाह गर्न बाँकी नै रहेको हुँदा हामीहरूको कानूनबमोजिमको विवा