निर्णय नं. ११४०९ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४०९ - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८१/०३/०४ १०१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी फैसला मिति : २०८१।३।४ ०७५-CR-०१९४ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम गैंडाकोट १३(ख) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी कोल्हवा गाउँ विकास समिति वडा नं.१ बस्ने डिल्लीराम थारूको छोरा शंकरप्रसाद थारू जबरजस्ती करणीसम्बन्धी कसुरको सर्वोत्तम प्रमाण पीडित हुने हुँदा पीडितको उमेर आर्थिक, सामाजिक अवस्थालाई समेत संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने । अर्काको घरमा भाँडा माझेर खानुपर्ने विपन्न पारिवारिक अवस्था भएकी पीडित बालिकाको वतनमा म्याद जारी हुँदा निज फेला नपरी घर दैलोमा टाँस तामेल हुँदा निज पीडित अदालतसमक्ष उपस्थित नभएको अवस्थाको फाइदा वा सुविधा प्रतिवादीले नपाउने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुशिला ज्ञावाली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा.जिल्ला न्यायाधीश श्री राधाकृष्ण उप्रेती नवलपरासी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ मा.न्यायाधीश श्री शान्ता सेढाई सापकोटा उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.शारङ्गा सुवेदी : यसै अदालतको क्षेत्राधिकारअन्तर्गत पर्ने प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउन निवेदन परी दोहोर्याई हेरिपाउने अनुमति प्राप्त भई दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ । संक्षिप्त तथ्य मिति २०७२।०६।१० गतेका दिन म जाहेरवालाको बहिनी परिवर्तित नाम गैंडाकोट १३(क) लाई शंकरप्रसाद थारूले आफ्नो होटलमा काम गर्न बोलाई रातिको समयमा जबरजस्ती करणी गरेको भनी बहिनीले गाउँघरमा भने पछि जानकारी पाई यो जाहेरी लिई उपस्थित भएको छु । प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम गैंडाकोट १३(ख) को जाहेरी दरखास्त । जिल्ला नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १३ पितौजी स्थित पूर्वमा चेतबहादुर खत्रीको खाली जग्गा, पश्चिम ज्ञानबहादुर खत्रीको घर, उत्तर पूर्व पश्चिम पर्ने राजमार्ग सडक र दक्षिण दाना फ्याक्ट्री यति चार किल्लाभित्र चेतबहादुर खत्रीको घर, सोही घरको भित्री कोठामा प्रतिवादी शंकरप्रसाद थारूले परिवर्तित नाम गैंडाकोट १३(क) लाई विभिन्न किसिमका धाक धम्की दिई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०७२।०६।१० गतेका दिन निज शंकरप्रसाद थारूले मलाई तिमी मेरो होटलमा भाँडा धुने, खाना पकाउने काम गर्नु तिमीलाई महिनाको ४/५ हजार दिउँला दसैँ खर्चसमेत दिउँला भनी भनेकोले; म सोही दिनको ३:०० बजेको समयदेखि निजको होटलमा काम गरी रातिको खाना खाई म सोही होटलको भित्र बेन्चमा सुतिरहेको अवस्थामा प्रतिवादी शंकरप्रसाद थारू सोही होटलको दक्षिणतर्फको ढोकातर्फको भुईंमा सुतेका थिए । राति अन्दाजी ११:०० बजेको समयमा निजले मलाई नानी, तिमी तल झर तिमीलाई कपडा किनिदिन्छु, जे भन्छौ त्यही ल्याइदिन्छु भनी मेरो खुट्टा समाई जबरजस्ती तल झारी मेरो कपडा खोल्न लागेपछि म कराउँदा मेरो मुख थुनी मलाई सोही होटलको दक्षिणतर्फको भुईंमा लडाई मेरो लुगा खोली जबरजस्ती करणी गरेपछि म त्यह