निर्णय नं. ११४११ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४११ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८१/०२/२५ १०२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल आदेश मिति : २०८१।२।२५ ०८०-WO-११४७ विषयः- उत्प्रेषणसमेत निवेदक : चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ६ मा सञ्चालित सूर्य मामा भान्जा गाई फार्म प्रा.लि. (द.नं.२२८२९६।०७६।०७७) को सञ्चालन चितवन जिल्ला रत्‍ननगर नगरपालिका वडा नं. १० बस्ने चन्द्रदत्त सुवेदीको नाति पशुपति सुवेदीको छोरा मेघनाथ सुवेदीसमेत विरूद्ध प्रत्यर्थी : कृषि विकास बैंक लि. कर्पोरेट बैंकिङ कार्यालय, रामशाहपथ काठमाडौंसमेत ऋणीले तोकिएको मितिमा कर्जाको साँवा तथा ब्याज नबुझाएको अवस्थामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७(१) ले दिएको अधिकार प्रयोग गरी प्रकाशित गरेको सूचना कानूनविपरीतको कार्य हो भनी मान्न नसकिने । बैंकप्रतिको ऋणीको कर्तव्य र दायित्वलाई ऋणी स्वयम्‌ले महसुस गर्न सक्नुपर्ने । बैंकले ऋणी र निक्षेपकर्ताको हितको रक्षा गर्नुपर्ने । ऋणीले बैंकबाट लिएको रकम नबुझाएको अवस्थामा निक्षेपकर्ताले आफ्नो निक्षेप फिर्ता पाउन सक्दैनन् भन्ने कुरालाई समेत अदालतले गम्भीरतापूर्वक हेर्नुपर्ने । यो वा त्यो तर्क र बहानामा कर्जा रकम नबुझाउने वा धितो लिलामको कार्यलाई रोक्ने नियत ऋणीमा हुनु नहुने । कर्जा प्राप्त गर्दाका बखत सहज रूपमा सर्तहरू स्वीकार गर्ने र कर्जा तिर्नुपर्दाको बखतमा विभिन्न परिस्थिति देखाएर अल्मल्याउने कार्य गर्नु स्वयम्‌ ऋणीको हितमा नहुने । कर्जा चुक्ता भुक्तान नगरेको अवस्थामा धितोमा रहेको सम्पत्ति लिलामी हुन्छ भन्ने कुरा ऋणीलाई थाहा नहुने विषय नहुने । कुन प्रकारको कर्जा हो, कर्जा चुक्ता भुक्तानको तालिका के हो, कति प्रतिशत व्याज गणना गरिन्छ, के कति मितिमा रकम चुक्ता भुक्तान गर्ने आदी कुराहरू बैंकसँगको कर्जा सम्झौतामा उल्लेख गरिएकै हुने । आधुनिक बैंकिङ कारोबारमा आफ्नो हिसाब र भुक्तानीको सहज पहुँच ऋणीमा नरहने भन्ने नहुने । कति साँवा ब्याज तिर्नुपर्ने हो भन्ने जस्ता कुराहरू धितो लिलामीको वखतमा आएर उठाउन सान्दर्भिक नदेखिने । कर्जा चुक्ता नगरेको अवस्थामा सम्बन्धित बैंक वा वित्तीय संस्थाले गर्ने लिलामीको कार्यलाई अन्यथा गर्नु नपर्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र विद्वान्‌ अधिवक्ता श्री मनिषा बस्नेत प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री निर्मलराज कोइराला, श्री झम्कप्रसाद तिमल्सिना, श्री देवीप्रसाद पोखरेल, श्री करूणाकर मल्लिक र श्री राम शरण चिमौरिया अवलम्बित नजिर : सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ आदेश न्या.बालकृष्ण ढकाल : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार रहेको छः- तथ्य खण्ड सूर्य मामा भान्जा गाई फार्म कम्पनीले विपक्षी कृषि विकास बैंकलाई कर्जाको किस्ता रकम सामान्य अवस्थामा तिरी बुझाइआएको र प्रतिकूल अवस्थाले केही महिना किस्ता रकम बुझाउन नसकेको अवस्था रहे पनि कर्जाको भाका ननाघेको अवस्था र हामी रिट निवेदक जमानीकर्ता मेघनाथ सुवेदी र मनु सुवेदीलाई कुनै पत्राचार नै नगरी जानकारीसम्म नदिई कम्पनीको नामको र हामी जमानीकर्ताको नामको घर जग्गा एकै पटकमा कर्जा रकम असुलीका लागि भनी धितो राखिएको निवेदक कम्पनी र जमान