निर्णय नं. ११४१२ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४१२ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८०/११/०८ ५८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल आदेश मिति : २०८०।११।०८ ०७४-WO-०४९४ विषयः- उत्प्रेषणसमेत निवेदक : लमजुङ जिल्ला, साबिक धुसेनी गाउँ विकास समिति, वडा नं. ५ को परिवर्तित सुन्दरबजार नगरपालिका, वडा नं. १० स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, तारकेश्‍वर नगरपालिका वडा नं. ७ बस्ने अधिवक्ता ज्ञानेश्‍वर कोइराला विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌‌को कार्यालय, सिंहदरबार काठमाडौंसमेत विशिष्ठ व्यक्तिहरूको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी सुरक्षाका लागि विश्वका प्रायः जसो मुलुकमा विशेष सुरक्षा प्रणाली अवलम्बन गरिएको पाइने । यो राज्यको दायित्वभित्र पर्ने विषय पनि हुने । यसै विषयलाई मध्यनजर गरी नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरूको लागि सुरक्षा व्यवस्थापन कार्यविधि, २०७० स्वीकृत गरी कार्यान्वयनमा ल्याएको पाइने । विशिष्ट व्यक्तिहरूको सुरक्षा सम्बन्धमा विशेष प्रबन्ध गर्नुपर्ने कुरामा विवाद नभए पनि सामान्यदेखि अति जरूरी कामका लागि यात्रामा निस्किएका आम सर्वसाधारण नागरिकहरूको यात्रालाई पनि बाधा नपुग्ने गरी विशिष्ट व्यक्तिको सवारी सुरक्षालाई व्यवस्थित गर्नुपर्ने । विशिष्ट व्यक्तिको सुरक्षा गर्दा सर्वसाधारण नागरिकले अनावश्यक हैरानी बेहोर्नुपर्ने अवस्था सिर्जित हुन नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्ञानेश्वर कोइराला विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको संविधानको धारा ४६ तथा १३३बमोजिमको क्षेत्राधिकारभित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यस प्रकार रहेको छः- रिट निवेदनको संक्षिप्‍त तथ्य मिति २०७४ माघ ८ गते बसन्त पञ्चमीको दिनमा सधैँजसो म बिहान ९:३० बजे कार्यालयतर्फ जाने क्रममा गंगबुबाट रानीबारी हुँदै सांग्रिला होटलको छेउबाट लैनचौर, महाराजगन्ज सडकमा प्रवेश गर्नै लाग्दा सम्माननीय राष्ट्रपतिको सवारी हुने भएकाले सर्वसाधारणका लागि सडक बन्द गरिएको रहेछ । सडकको दायाँ-बायाँ बाक्लो संख्यामा प्रहरीहरू तैनाथ थिए । पूरै सडक खाली गराइएको थियो । कार्यालयसम्म पुग्न अन्य विकल्प केही हुन सक्छ कि भनी त्यहाँबाट निस्कन खोज्दा पछाडि पनि पूरै सवारी साधनहरूको जाम भइसकेको थियो । न अगाडि जानु, न फर्कनु, यस्तो बन्धक अवस्थामा हजारौं सवारी साधनहरू रोकिएका थिए । मेरो पछाडि ट्याक्सीमा सुत्केरी व्यथा लागेकी महिला प्रशव व्यथाले छट्पटाइरहेको, चिच्याइरहेको प्रस्टै सुनिन्थ्यो । एक मिटर पनि यता उता सर्ने, सार्ने तथा जाम खुल्ने अवस्था थिएन । सवारी साधन रोकेर बसेका सवारी चालक यात्रु सबै कि त रमिते थिए, कि त सहयोग गर्न नसकेकोमा लाचार थिए । सायद यस्तै अवस्था अन्य चोक, गल्ली सडकहरूमा थियो होला । कति बिरामी अस्पताल पुग्नुपर्ने, कति आफ्नो काम विशेषले कार्यालय, कार्यक्षेत्र पुग्नुपर्ने त कति आकस्मिक सेवा तथा कार्य गर्नुपर्ने थिए । दमकल, एम्बुलेन्स, शव वाहनलगायत अत्यावश्यक सेवाहरू अवरूद्ध गरिएका थिए । कसैको हवाई यात्राको समय विलम्ब भएको थियो । सवाल जीवनमरण र रोजी रोटीको थियो । मानिसहरू सम्मानित संस्थाका विरूद्ध नमिठा टिप्पणीहरू गर्दै थिए । त्यस दिन सम्माननीयज्यू