निर्णय नं. ११४१४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४१४ - उत्प्रेषण भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८१/०६/०६ ८५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान आदेश मिति : २०८१।०६।०६ ०७४-WO-०९२७ विषय:- उत्प्रेषण निवेदक : मुस्ताङ जिल्ला थासाङ गाउँपालिका, वडा नं.३ लेतेको तर्फबाट अख्तियार प्राप्त काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१० बस्ने प्रेमा कुमारी गिरी विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत गाउँसभाको दुई तिहाइ बहुमतबाट केन्द्र परिवर्तनसम्बन्धी निर्णय गरी केन्द्र हेरफेर हुनसक्ने । गाउँ सभाबाट केन्द्र परिवर्तनको आवश्यकता महसुस गरी सो सम्बन्धमा आवश्यक निर्णय भएको नदेखिँदा नेपाल सरकारले २०७३ सालमा गरेको निर्णयबमोजिमको केन्द्रले निरन्तरता पाएको कुरालाई अन्यथा भन्न नमिल्ने । भौगोलिक अवस्थिति, जनसंख्या, इलाका स्तरका कार्यालयलगायतका भौतिक संरचना तथा एक स्थानदेखि अर्को स्थानसम्मको दुरीको हिसाबले कुनै गाउँपालिकाको केन्द्र कहाँ तोक्दा आम नागरिकहरूलाई पायक पर्ने हो भन्ने कुरा सम्बन्धित पालिकाका स्थानीय जनप्रतिनिधिहरूलाई नै जानकारी हुने । कुनै स्थान पायक वा अपायक भन्ने विषय सम्बन्धित पालिकाको भौगोलिक अवस्था, आम नागरिकहरूको बसोबास, यातायातको सुविधा जस्ता विभिन्न विषयहरूलाई आधार मानेर विचार गर्नुपर्ने । स्थानीय जनताहरूद्वारा निर्वाचित सदस्यहरूले थाहा नपाउने अनि अदालतले थाहा पाए जस्तो गरी कुनै स्थान विशेष पायक पर्ने स्थान हो वा होइन भनी रिट क्षेत्राधिकारको माध्यमबाट बोल्न उचित नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेश कुमार पौडेल तथा विद्वान् अधिवक्ताहरू श्री मेदिनीप्रसाद पौडेल र श्री विष्णु बस्याल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ आदेश न्या.विनोद शर्मा : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यसै अदालतको असाधारण क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार छः संक्षिप्त तथ्य नेपालको संविधानअनुसार स्थानीय तहको पुनर्संरचना गर्न गठित गाउँपालिका / नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो । विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार आयोगको उक्त प्रतिवेदनमा यस मुस्ताङ जिल्लाको प्रस्तावित थासाङ गाउँपालिकाको केन्द्र लेतेलाई तोक्ने निर्णयबमोजिम प्राविधिक सहयोग समितिले सम्भाव्यताको आधारमा तोक्ने भनी मिति २०७३ कार्तिक २२ गते बसेको जिल्ला स्तरीय परामर्श बैठकको सुझावका आधारमा आयोगलाई सिफारिस गरेको थियो । त्यस्तै मिति २०७३।७।२५ गतेका दिन थासाङ गाउँपालिकाको गाउँसभाका अध्यक्षको अध्यक्षतामा बसेको बैठकबाट पनि यस गाउँपालिकाको केन्द्र लेतेलाई तोक्न तुलनात्मक रूपमा बढी उपयुक्त देखिएकोले यस सम्बन्धमा आवश्यक एवम् उपयुक्त निर्णय लिन आयोगलाई अनुरोध गर्ने निर्णय भएपश्चात् थासाङ गा.पा.को गाउँ सभामा कुनै पनि बैठक बस्न नसकेको अवस्था विद्यमान हुँदाहुँदै स्थानीय विकास मन्त्रालयबाट सोझै निर्णय भई सोविपरीत कोवाङलाई केन्द्र तोकी मिति २०७३।११।२७ गते नेपाल राज पत्रमा सूचना प्रकाशित भएको अवस्था रहेछ । मन्त्रालको निर्णयपश्चात् मिति