निर्णय नं. ११४१८ - लिलाम दर्ता दाखिल खारेजसमेत बदर गरी नामसारी दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४१८ - लिलाम दर्ता दाखिल खारेजसमेत बदर गरी नामसारी दर्ता भाग: ६७ साल: २०८२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८०/०१/२१ ३०३२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश डा.श्री कुमार चुडाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०८०।०१।२१ ०७८-nF-०००४ मुद्दाः लिलाम दर्ता दाखिल खारेजसमेत बदर गरी नामसारी दर्ता पुनरावलोकनकर्ता / प्रतिवादी : बुद्धप्रसाद दुलालकी छोरी सोमप्रसाद पुडासैनीकी पत्नी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.८ कुमारीगाल, बौद्धद्वार घर नं.३८६/७ बस्ने मीरा पुडासैनी विरूद्ध प्रत्यर्थी / वादी : कृष्णप्रसाद पुडासैनीकी पत्नी काठमाडौं जिल्ला, गोठाटार गा.वि.स. वडा नं.९ बस्ने लक्ष्मी पुडासैनीसमेत ऋणीले लिएको कर्जा नतिरेपछि कर्जाबापत सुरक्षण दिएको जग्गा लिलामी प्रक्रियाद्वारा कर्जा असुलउपर गर्नु बैंकको कानूनी अधिकार हुने तर कर्जाबापत धितो दिएको सम्पत्ति लिलाम गर्दा सम्वद्ध कानूनले निर्धारण गरेको प्रक्रियाहरू सही तवरले पूरा गरेको हुनुपर्ने । बदनियतको गुञ्जायस हुन नहुने, गलत क्रियाले लिलामी कार्यमा स्थान पाएमा त्यस्तो कार्य चुनौतीविहीन नहुने । (प्रकरण नं.११) कुनै पनि व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिँदा बैंकले सुरक्षणबापत माग गर्ने जग्गा-जमिनमा सुरक्षण राख्ने व्यक्तिको एकलौटी हकाधिकार रहे-नरहेको र अन्य अंशियारको हकसमेत उक्त जग्गा-जमिनमा लाग्ने रहेछ भने अनिवार्य रूपमा त्यस्ता अंशियारसमेतको उल्लिखित जग्गाजमिन सुरक्षणबापत राख्न हाम्रो पनि मन्जुरी छ भनी कागज गराई मात्र सुरक्षणमा राख्नुपर्ने कुरामा बैंक तथा वित्तीय संस्थाहरू स्वयम् सतर्क हुनुपर्ने । अन्य अंशियारसमेतको मन्जुरी नलिई कुनै पनि जग्गा सुरक्षणबापत राखिएको रहेछ र ऋणीले ऋण नतिरेको खण्डमा सुरक्षणबापत राखिएको त्यस्तो जग्गालाई लिलाम गरी नतिरिएको ऋण उठाउन लिलामी कार्य प्रारम्भ गरी लिलामी हुने क्रममै वा लिलाम भइसकेपश्चात् समेत भइरहेको वा सम्पन्न भइसकेको लिलामीको कार्यमा अन्य अंशियारले हाम्रोसमेत अंश लाग्ने सम्पत्ति हो भनी दाबी गरेको अवस्थामा उक्त लिलामी कार्य चुनौतीविहीन नहुने एवं अंशियारले अदालतमा मुद्दा दायर गर्न पाउने र त्यसरी सम्पन्न भएको लिलामी कार्य बदर हुने । (प्रकरण नं.१२) प्रचलित कानूनले निर्धारण गरेको प्रक्रियालाई कुनै किसिमको बदनियत नराखी असल नियतले पूरा गरिएको हुनुपर्ने । त्यसरी पूरा गरिएका प्रक्रियागत कार्यले मात्र कानूनी मान्यता पाउने । बदनियत राखी पूरा गरिएका कानूनी प्रक्रियालाई त्यस्तो बदनियत राखी कार्य सम्पन्न भएको रहेछ भन्ने कुरा प्रमाणित भएको खण्डमा अदालतले त्यस्तो कार्यलाई जुनसुकै बेला बदर गरिदिन सक्ने । (प्रकरण नं.१४) परिवारका कुनै एक अंशियारले अन्य सदस्यलाई जानकारी नै नदिई बदनियतपूर्वक सगोलको कुनै सम्पत्ति बेच्ने वा हक हस्तान्तरण गर्ने कार्यमा संलग्न भएको रहेको छ भने त्यस्तो दूषित कार्यबाट सिर्जित परिणामले अन्य अंशियारहरूको अंश जस्तो नैसर्गिक हक कुण्ठित हुन नसक्ने । बदनियतपूर्वक गरिएको त्यस्तो कार्यलाई अदालतले बदर गर्नु नै न्यायको रोहमा उचित हुने । (प्रकरण नं.१७) पुनरावलोकनकर्ता / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र अधिवक्ता श्री वगला रेग्मी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान् अधिवक्ताहरू श्री पुनदेवी महर