निर्णय नं. ११४३१ - अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४३१ - अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री । भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८१/१०/०८ २४४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८१।१०।०८ ०७५-CR-१९७४ मुद्दाः अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री । पुनरावेदक / वादी : प्रहरीको प्रतिवेदनले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मुस्ताङ, जोमसोम नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १७ बस्ने पेम्बा भन्ने पेम्ब गुरूङ प्रतिवादी विरूद्धको कसुर प्रमाणित हुने प्रत्यक्ष प्रमाणको अभावमा हाम्रो न्यायिक प्रक्रियाबाट परीक्षण गर्न नसकिने विदेशका अदालतमा सोही देशको फौजदारी न्यायिक प्रक्रियाबमोजिम चलेको मुद्दाका प्रतिवादीले गरेको बहिर क्षेत्रीय (extra territorial) पोलयुक्त बयानलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीलाई शङ्का र अनुमानका आधारमा दोषी ठहर गर्नु फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश घिमिरे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ६, नि.नं.१००४० सम्बद्ध कानून : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रितेन्द्र थापा नवलपरासी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दयानाथ खरेल माननीय न्यायाधीश श्री दर्गाबहादुर बिश्वकर्मा उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः- तथ्य खण्ड बाल्मिकी टाइगर रिजर्भ डिभ.–२, बेतिया, बिहार भारतको पत्र संख्या १२४ को पत्रबाट जिल्ला नवलपरासी पक्लिहवा गा.वि.स. वडा नं.२ रामनगर स्थित जंगबहादुर खवासको घरमा बाघको छाला लुकाई राखेको र बाघको हड्डी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वा.नं.१७ ढल्कु बस्ने पेम्बा गुरूङलाई बेचेको र निजको मोबाइल नं.९८१८१७०१८५ रहेको भनी भोला साहको बयानले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनाङ्क २५–१–२०१६ मा लेखेको पत्र । मिति २०७२।१०।११ गते अ.९:०० बजेको समयमा इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीका प्र.नि.महेश्वर उपाध्यायसमेतको प्रहरी टोलीले उल्लिखित जिल्ला नवलपरासी पक्लिहवा गा.वि.स.वडा नं. २ रामनगर स्थित जंगबहादुर खवासको घरबाट पूरा पुच्छरसम्मको लम्बाइ २ मी.७० से.मी. र ८८ से.मी. चौडाइ भएको रातो खैरौ कालो सेतो धर्का भएको बाघको छाला रहेको सो बाघको टाउको (मुख) देखि पुच्छरको फेदसम्मको लम्बाइ १ मी.९२ से.मी. रहेको बाघको छाला बरामद गरेको भन्ने रूदल लोनियासमेतको रोहवरमा गरेको खानतलासी तथा बरामदी मुचुल्का । बाल्मिकी टाइगर रिजर्भ विहार भारतको चलान नं.१२४ मिति २५ जनवरी २०१६ को पत्रअनुसार जिल्ला नवलपरासी बस्ने जंगबहादुर थापा भन्ने जंगबहादुर खवासको घरमा पदम नारायण चौधरी र भोला साहले काठमाडौं ढल्कु बस्ने मोबाइल नं.९८१८१७०१८५ प्रयोग गर्ने पेम्बा गुरूङलाई बिक्री गर्नको लागि एक थान पाटे बाघको छाला लुकाइ छिपाइ राखेको र बाघको १२ के.जी. हड्डी नेपाली दुई लाख रूपैयाँँमा निज पेम्बा गुरूङलाई बिक्री गरिस