निर्णय नं. ११४३२ - हालैको लिखत बकस पत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४३२ - हालैको लिखत बकस पत्र बदर भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८१/०३/१८ ३९८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८१।०३।१८ ०७१-CI-१५९६ मुद्दाः हालैको लिखत बकस पत्र बदर पुनरावेदक / वादी : जिल्ला कपिलवस्तु, फुलिका गा.वि.स. वडा नं. ५ वहरवासी बस्ने, श्याम बिहारीको छोरा वर्ष ५१ को अशोक कुमार कुर्मी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला कपिलवस्तु, फुलिका गा.वि.स. वडा नं. ५ अघि बसोबास भई हाल ऐ.ऐ. गा.वि.स. बलुहवा वडा नं. ४ बस्ने शिवशंकरको श्रीमती वर्ष ४० की सुरसती कुर्मीसमेत कार्यालयको गल्तीबाट प्रतिवादीले जग्गा तह तह हस्तान्तरण गरेको र वादीले आफ्नो जग्गा सुरक्षित नै ठानी कहीँकतै उजुर नगरी बसेकोमा कार्यालयबाट भए गरेको गल्तीको कारण सम्बन्धित पक्षको हक समाप्त हुन जाने वा हदम्याद सकिएको भन्ने नहुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बालचन्द्र आचार्य, श्री महादेवप्रसाद यादव र विद्वान् अधिवक्ताहरू श्री बिजेन्द्र कुमार चौधरी र श्री कमलेश द्विवेदी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, २०२० सुरू तहमा फैसला गर्ने मा. न्या श्री वासुदेव न्यौपाने कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने मा. मुख्य न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री नीलम पौडेल पुनरावेदन अदालत बुटवल फैसला न्या.सुनिलकुमार पोखरेल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः- तथ्य खण्ड जिल्ला कपिलवस्तु गा.वि.स. चौदहवा वडा नं. ५/क कि.नं. ३१९ को २-८-१० (दुई बिघा आठ कठ्ठा दश धुर) जग्गा नापीको समयमा विवाद परी मुद्दा चली मिति २०३०/११/८ मा मिलापत्र भई श्याम विहारीसमेतको आधा हक हुने गरी हक स्थापित भई मिलापत्रले पाएको जग्गा म फिरादीले भोगी आएकोमा शिवशंकरको श्रीमती प्रतिवादी सुरसती कुर्मीले मिलापत्रविपरीत पूरै जग्गा आफ्नो नाममा दर्ता गराई जग्गा लुकाउने नियतले आफ्नी आमा राजदेई कुर्मीलाई मिति २०६२/१२/१३ मा र.नं. ५६३९ बाट हक हस्तान्तरण गरिदिएको हुँदा विवादित कित्ताको दक्षिणतर्फ कायम रहेको १-४-५ (एक बिघा चार कठ्ठा पाँच धुर) जग्गाको दर्ता बदर गरिपाउँ भन्ने बेहोराको वादी अशोक कुमार कुर्मीको फिराद दाबी । सुरसतीले दर्ता गराएको जग्गा वलिभद्रका हाँगातर्फको जग्गा हो । उक्त जग्गा सुरसती कुर्मीका नाममा २०६१ सालमा नामसारी दर्ता भई सुरसतीबाट राजदेई, निजबाट रामप्यारी, निजबाट दिपेन्द्र र दिपेन्द्रबाट लैनुन निसा मुसलमानको नाउँमा तहतह बकसपत्र, राजीनामाको माध्यमबाट हक हस्तान्तरण हुँदै गएकोमा लगभग १० वर्ष अगाडि हकभोग दर्ता तिरो भरो भएको जग्गा हदम्याद नाघेकोले वादीको नालिस लाग्न सक्दैन । उक्त सम्पत्तिमा वादीको कुनै हक नभएकोले काल्पनिक विवरणको आधारमा झुठ्ठा मुद्दा दिएका हुन् भन्ने प्रतिवादी सुरसती कुर्मीको प्रतिउत्तर जिकिर । प्रतिवादी राजदेई कुर्मीको नाउँमा सुरू जिल्ला अदालतबाट जारी भएको म्यादबमोजिम प्रतिउत्तर नफिराई निजले सुरू म्यादै गुजारी बसेको देखिन्छ । दिने सुरसती कुर्मी लिने राजदेई कुर्मी भई मिति २०६२/१२/१३ मा पारित लिखतमध्ये नरम गरम मिलाई तर्फ कायम हुने ग