निर्णय नं. ४३६० - परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६० - परमादेश समेत भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/३० २४५७ निर्णय नं. ४३६० ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४८ सालको रिट नम्बर १५०७ आदेश भएको मिति : २०४८।९।३०।३ मा निवेदक : कृषि अनुसन्धान केन्द्र जुम्लामा रा.प.तृ.प्रा. (शा.अ.) सहायक किटविज्ञ मुरलीधर मिश्र विरुद्ध विपक्षी : कर्णाली भेरी एकीकृत ग्रामीण विकास परियोजना समन्वय कर्ताको कार्यालय सुर्खेत सम्पर्क कार्यालय का.न.पं. वार्ड नं. १३ कालमाटीसमेत विषय : परमादेश समेत (१) तालीम वा अध्ययनमा विभागीय कर्मचारीहरुलाई पठाउने नियम, २०३४ ले (साविक पेज नं. ५०१) निवेदकलाई पठाउनु पर्ने गरी कसैलाई दायित्व तोकी एवं विवादको हकको सृजना हुने गरी कानुनी हक प्रत्याभूत गरेको पाइन्न, अध्ययन तालीममा निवेदकलाई असर पर्ने गरी अरु कुनैलाई मनोनयन गरेको एवं पठाउने निर्णय समेत गरेको नदेखिनुको अतिरिक्त प्रस्तुत कार्य विचाराधीन रहेकोले संविधानको धारा ११(१) एवं धारा १७(१) अन्तर्गत प्रस्तुत केश एवं अवस्थामा परमादेशको आदेश जारी गर्न उपयुक्त नदेखिने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री तुल्सी भट्ट विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ, विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म निवेदक श्री ५ को सरकार कृषि मन्त्रालय राष्ट्रिय कृषि अनुसन्धान केन्द्र जुम्लामा सहायक किटविज्ञ (रा.प.तृ.प्रा.) पदमा कार्यरत राष्ट्रसेवक हुँ । स्थानीय विकास मन्त्रालय अन्तर्गत संचालित कर्णाली भेरी एकीकृत ग्रामीण विकास परियोजनाले आफ्नो परियोजना भित्रका कर्मचारीहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत विदेशमा अध्ययन गर्न पठाउने कार्यक्रमहरु विभिन्न वर्षहरुमा संचालन गर्दै आएको थियो । म निवेदक पनि उक्त कार्यक्रमको सहभागी कर्मचारी भएकोले आ.ब. ०४५।०४६ को अध्ययन कार्यक्रममा मनोनयन भएको थिएँ तर विपक्षी तेजेश्वर बाबु गोड्डले मनोनयन सम्बन्धित मन्त्रालय तथा निकायबाट समयमै मनोनयन भई नआएको बहाना बनाई उक्त छात्रवृत्तिको सिट रद्द गर्नु भयो । उक्त ०४५।०४६ को छात्रवृत्ति सिट रद्द भए पश्चात आ.ब. ०४७।०४८ को छात्रवृत्ति कार्यक्रम विपक्षीहरुबाट राष्ट्रिय कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतको संबाली संरक्षण अधिकृत लिलाराम पौडेललाई पठाउन सिफारिश भएको कुरा सुनी आ.ब. ०४५, ०४६ मा मनोनयन भएको म निवेदकलाई अध्ययन गर्न नपठाई लिलारामलाई पठाउन नमिल्ने व्यहोरा उल्लेख गरी विपक्षीहरु समक्ष मैले निवेदन दिएको थिएँ । निवेदकले प्रस्तुत गरेको निवेदन उपर कारवाही भई राष्ट्रिय कृषि अनुसन्धान केन्द्रबाट निवेदक मुरलीधर मिश्रलाई मास्टर डिग्री अध्ययन गर्न पठाउने गरी श्री ५ को सरकारको सचिव स्तरीय निर्णय मिति ०४६।७।१८ मा मनोनयन गरी सकेको हुँदा सहानुभूति पूर्वक विचार गर्नु हुने भनी विपक्षी कर्णाली भेरी एकीकृत ग्रामिण विकास परियोजनालाई मिति २०४७।१०।१२ मा पत्र लेखिएको थियो । विपक्षी परियोजना कार्यालयबाट गैर न्यायिक तरीकाले लिलाराम पौडेललाई मुख्य उम्मेदवार र निवेदकलाई वैकल्पिक उम्मेदवारको रुपमा छनौट गरिएको व्यहोरा उल्लेख गरी विपक्षी परियोजनाले मिति ०४७।१२।१८ मा कृषि मन्त्रालय राष्ट्रिय कृषि अनुसन्धान केन्द्रला