निर्णय नं. ९९१६ - जग्गा दर्ता समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९१६ - जग्गा दर्ता समेत भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/११/२४ ३६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‌ठ माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७३।११।२४ ०67-CI-0285 मुद्दाः- जग्गा दर्ता समेत पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.16 बस्ने इन्द्रादेवी थापासमेत विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने बसन्त बहादुर थापासमेत § अवण्डा रहेको जग्गाको विषयमा कुनै कुरा उल्लेख नगरेको अवस्थामा पछि दर्ता श्रेस्ता कायम भएको अवस्थामा सबै अंशियारका बीचमा बराबर अंश भाग लाग्ने नै देखिन आउँछ। वण्डापत्र हुँदा दर्ता हुन नसकेको कारणले वण्डा नगरिएको र सोका सम्बन्धमा वण्डापत्रमा पनि केही बेहोरा उल्लेख नगरिएको पैतृक सम्पत्ति अंशियारमध्येका कुनै अंशियारले पछि आफ्नो नाममा दर्ता गराए पनि त्यस्तो पैतृक सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म पूर्व अंशवण्डा हुँदाको अवस्थामा कायम रहेका सबै अंशियारहरुको अंश हक निश्रृत रहने। (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता मुकुन्द शर्मा पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता बद्रीप्रसाद शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : शुरु तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री कैलाश के.सी. पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की माननीय न्यायाधीश श्री खेमराज शर्मा फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा 9 बमोजिम पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- पिता नेत्रबहादुर र माता रामदेवीका ३ भाइ छोरा र ४ छोरीमध्ये छोरामा जेठो म फिरादी विष्णु कुमारीका पति लक्ष्मण थापा, माहिला म फिरादी वसन्तबहादुर थापा, कान्छो विपक्षी खड्‍कबहादुर थापा र छोरीमा ३ छोरीको विवाह भइसकेको र जेठी छोरी विपक्षी इन्द्रादेवी थापा विवाह नगरी माइतमा बसेकी छन्। यसरी हामी ४ अंशियारबीच 2047 सालमा छुट्टिई भिन्‍न भएका हौं। आमा रामदेवीको मिति 2047/10/14 मा देहावसान भएको र पिता नेत्रबहादुरलाई हामी फिरादीहरूले पालनपोषण गरी आएकोमा मिति 2061/10/25 मा देहावसान भएको हो। हामी छुट्टिई भिन्‍न हुँदा दर्ता गर्न बाँकी रहेका जग्गाहरू आमा रामदेवीका नाउँबाट दर्ताको कारबाही चली दर्ता हुन बाँकी रहेकोमा आमाको मृत्यु भएकाले दर्ताको कारबाही विपक्षीहरूले चलाउने, खर्च चारै जनाले बेहोर्ने र दर्ता भएपछि चारै जनाले बराबर खाने घरसल्लाह भए अनुसार विपक्षीहरूले कास्की जिल्ला, लामाचौर-9 का साविक कि.नं.135, 136 र 137 हाल कायमी कि.नं.77 र 60 का जग्गाहरू दर्तातर्फ निवेदन दिई ८ नं. नापी गोश्‍वाराबाट मिति 2063/09/06 मा निर्णय आदेश भई श्रेस्ता पुर्जा तयार भइसकेपछि पूर्व शर्तअनुसार हाम्रो २ भाग हामीलाई देऊ भन्दा नदिएकाले विपक्षीहरूका नाउँमा दर्ता भएका कि.नं.60 बाट पश्‍चिमतर्फ क्षे.फ.0-4-0-2 र कि.नं.77 बाट पश्‍चिमतर्फ क्षे.फ.0-7-2-3 जग्गा विपक्षीहरूको दर्ता बदर गराई हाम्रा नाउँमा दर्ता गरी हक कायम गरी पाऊँ भन्‍नेसमेत बेहोराको संयुक्त फिराद दाबी। विपक्षी र हामी 2044 सालमा बाबुबाट र 2050/12/12 मा मालपोत कार्यालय काश्‍कीबाट र.नं.6278 को वण्डापत्र लिखत पास गरी छुट्टिई भिन्‍न भएका हौं। हामीसँग बसिरहेको अवस्थामा आमाको परलोक भएको र हामी प्रतिवादीहरूले मात्र खाने हाम्रो अंश हक