निर्णय नं. ११४३५ - निर्णय बदर छुट गुठी हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४३५ - निर्णय बदर छुट गुठी हक कायम भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/१०/०४ २५८ सर्वोच्च अदालत, बृहत पूर्ण इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८०।१०।०४ ०७०-NF-००१९ मुद्दाः- निर्णय बदर छुट गुठी हक कायम पुनरावेदक / प्रतिवादी : गुठी संस्थान शाखा कार्यालय काठमाडौं विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ४ बस्ने धर्मबज्र बज्राचार्य गुठियारहरूले आफू तथा आफ्ना पिता पुर्खाले गुठी सञ्‍चालनार्थ राखेको कुनै जग्गा जमिनलाई निजका सन्तानहरूले त्यसको उचित संरक्षण र सञ्‍चालन गर्दै गुठीलाई निरन्तरता दिनुपर्नेमा उल्टै गुठीबापत राखेको जग्गा कमाएकै आधारमा आफैँ मोही भई पुनः आफ्नो तथा हकदारहरूको नाममा मोही हक कायम गरी मोहियानी भाग छुट्याई बिक्री गर्ने अवस्था सिर्जना हुने हो भने गुठी राख्‍नुको पवित्र उद्देश्य नै खण्डित भई अन्ततः धर्मलोप हुने । गुठियारको कर्तव्य गुठीलाई परम्परागत रूपमा सञ्‍चालन गरी निरन्तरता दिनु नै हुने । (प्रकरण नं.१२) गुठीको जग्गामा गुठियार मोही कायम हुन पाउँछ भन्ने कहीँ कुनै कानूनले स्पष्ट पारेको नदेखिँदा कायम नै हुन नसक्ने मोहीलाई २०३३ सालमा आएको कानूनले पश्चात्‌दर्शी असर गरेको भनी मान्न नसकिने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री हरिहर दाहाल र श्री चण्डेश्वर श्रेष्ठ र विद्वान्‌ अधिवक्ता श्री रत्न अवाले अवलम्बित नजिर : सम्बद्ध कानून : गुठी संस्थान ऐन, २०२१, २०२९ र २०३३ भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री वीरसिंह महरा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री हरिबहादुर वस्नेत पुनरावेदन अदालत, पाटन यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री बलराम के.सी. मा. न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय फैसला न्या.कुमार रेग्मी : यस अदालतको संयुक्त इजलासको मिति २०६७।२।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम प्रतिवादीको यस अदालतमा परेको पुनरावलोकनको निवेदनउपर मिति २०७०।९।२६ मा पुनरावलोकनको निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- संक्षिप्त तथ्य काठमाडौं जिल्ला चिठुविहार गाउँ विकास समिति वडा नं. २(ख) कि.नं. १४१ को ०-४-० र ऐ. कि.नं. १४५ को ०-१४-० जग्गा गुठियार नाइके मैले जोती कमाई भोगचलन गरी आएको जग्गा सर्भे नापी हुँदा जोताहा किसान म धर्मबज्र बज्राचार्य कायम भई नापी भएको छ । मैले भोगचलन गर्दै आएको उक्त जग्गा राजगुठीमा परिणत भएको छुट गुठी जग्गा हो । उक्त जग्गा गुठी रैतानी नम्बरीमा दर्ता गरी पाउन निवेदन दिएको थिएँ, त्यसतर्फ कुनै निर्णय भइसकेको छैन । उक्त गुठीको गुठियार नियुक्ति पत्र वा बहाली पुर्जी लिन आउनु भन्ने मिति २०५५।१२।३ को गोरखापत्रमा प्रकाशित गुठी संस्थान केन्द्रीय कार्यालयको सूचना मुताबिक गुठियार नायोहरू १५ जना साबिकको गुठियार एवं हाल कायम गुठियारहरूको नामावलीसमेत खुलाई गुठियार नायोको नियु