निर्णय नं. ११४४५ - चेक अनादर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४४५ - चेक अनादर भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८१/११/१५ ३९२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।११।१५ ०८१-RF-०००१ मुद्दा: चेक अनादर पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ घर नं. ६४/३२ प्रयाग मार्ग शान्तिनगर बस्ने विष्णुलाल श्रेष्ठको नाति, ईश्वरलाल श्रेष्ठको छोरा, विवेक श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : सबिलराम अग्रवालको छोरा सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. २ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २१ घर भई हाल काठमाडौं विशालबजार लिमिटेडको कोठा नं. ८३ मा चश्मा पसल गरी बस्ने वेदप्रसाद अग्रवाल चेक सटही हुन नसक्ने गरी जानी बुझिकन आफूले बैंकमा खाता खोल्नुभन्दा अगाडिको मिति राखी चेक जारी गरेको अवस्था देखिएकोले ऐनमा भएको कानूनी प्रावधानबमोजिम सो चेक बैंकमा प्रस्तुत नगरी कसैले पनि ड्रअरउपर दाबी गर्न पाउने छैन भन्नु न्यायोचित नहुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादीले आफ्नो खातामा पर्याप्त रकम मौज्दात छैन भनी जानी जानी चेक हस्तान्तरण गरेकोमा चेकमा एक वर्ष पहिलेको मिति राखिएको सामान्य प्राविधिक कारणले मात्र बैंकमा पेस गरेपनि चेक अनादर भएको भनी औपचारिक पत्र जारी गर्न बैंकलाई असजिलो परेको कारण वादीले cheque return slip पेस गर्न नसकेको कारण देखाई प्रतिवादीले चेकबमोजिमको रकम तिर्नुपर्ने दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुन्दरलाल चौधरी र विद्वान् अधिवक्ता श्री सन्तोष खनाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री इन्द्रप्रसाद शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : विनिमेय अधिकार पत्र ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्या. श्री नारायणप्रसाद श्रेष्ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी पुनरावेदन अदालत पाटन यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी फैसला न्या. अब्दुल अजीज मुसलमान : पुनरावेदन अदालत पाटनको मिति २०७२।१०।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम परेको पुनरावेदन संयुक्त इजलाससमक्ष निर्णयार्थ पेस हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशबिच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ:- संक्षिप्त तथ्य प्रतिवादीहरू मसँग चिनजान भएका व्यक्तिहरू हुनाले मेरो डेराकोठामा आई ईश्वरलाल श्रेष्ठलाई मुटुको उपचार गर्दा लागेको ऋण रकम बुझाउन र व्यापार व्यवसाय गर्न केही ऋण रकम सहयोग गरिदिनुपर्यो भनेकाले रू.१७,५०,०००।- (सत्र लाख पचास हजार रूपैयाँ) दिएको र उक्त रकम फिर्ता माग्दा विपक्षीहरूले अहिले सावाँ रकम मात्रैको चेक लगी भुक्तानी लिनुहोस्, ब्याजको रकम पछि मिलाउँदै जाउँला भनेकोले मैले मन्जुर गरी विपक्षीमध्येका विवेक श्रेष्ठले मेरो नाममा मैले नबिल बैंक लिमिटेड काठमाडौं शाखाबाट भुक्तानी पाउने गरी खाता नं. Md २२१६५९९/३६१००१७५०३६०७ नं. र चेक नं. ०४७८२६३७ को