निर्णय नं. ११४४८ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४४८ - उत्प्रेषणयुक्त परमादेश भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/०३/०३ १७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०८०।०३।०३ ०७४-WO-०६१४ मुद्दाः- उत्प्रेषणयुक्त परमादेश निवेदक : धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका, वडा नं.१९ बेंगशिवपुर बस्ने रामचलित्र यादवको छोरा नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रको वरिष्ठ सहायक, मिटर रिडिङ सुपरभाइजरको पदमा कार्यरत राम निरञ्जन यादव विरूद्ध विपक्षी : नेपाल विद्युत् प्राधिकरण प्रशासन निर्देशनालय जनसाधन विभाग, काठमाडौंसमेत संगठनमा अवकाश नियमित एवम् अनिवार्य प्रक्रिया भई मानव स्रोत व्यवस्थापनको अभिन्न आयामको रूपमा रहेको हुने । कानूनले निर्धारण गरेको सर्त एवम् नियमको परिधिभित्र रही अनिवार्य अवकाशमा जाने कर्मचारीलाई निजले पाउने सेवा सुविधा निजको योगदानको कदर तथा सम्मानका साथ निवृत्त जीवनलाई समेत विचार गर्नुपर्ने । अधिकारप्राप्त निकायबाट जनशक्ति व्यवस्थापन, जनशक्ति विकास तथा मानव पुँजी विकासको अवधारणालाई पनि विवेकसम्मत रूपमा सम्बोधन गर्नुपर्ने । रिट निवेदकले आफ्नो जीवनको महत्त्वपूर्ण समय, क्षमता, ज्ञान, सीप तथा योग्यता संस्थानलाई सुम्पिएको तथ्यलाई मध्यनजर नगरी नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नागरिकता जारी मितिलाई वस्तुगत रूपमा अन्य प्रमाणसँग नभिडाई वा अन्यौल भएको स्थितिमा निवेदकलाई नबुझी गरेको निर्णय न्यायको रोहमा उचित मान्न नसकिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री लेखनाथ भट्टराई र श्री आवेश अधिकारी विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार छ :- तथ्य खण्ड म निवेदकले नेपाल विद्युत् प्राधिकरणको मिति २०३९।०३।२७ को निर्णयअनुसार सहायक स्तर द्वितीय श्रेणी, प्रशासन तथा लेखा सेवाको जुनियर अफिस असिस्टेन्ट पदमा अस्थायी नियुक्त भएको थिएँ । यसपश्चात् विभिन्न पदमा बढुवा भई मिति २०७१।०९।१८ को निर्णयअनुसार मलाई प्रशासन सेवा, प्रशासन समूह-६ सहायक प्रशासकीय अधिकृत (प्रशासन) पदमा बढुवा गरी वितरण तथा सेवा निर्देशनालयअन्तर्गत जनकपुर वितरण केन्द्रमा पदस्थापना भएँ । आजसम्म म नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रमा सहायक प्रशासकीय अधिकृतको पदमा कार्यरत छु । यसैबिच नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कर्मचारी प्रशासन शाखा अभिलेखको पत्र संख्या २०७४।०७५, च.नं.९३५ को मेरो नाउँको अनिवार्य अवकाश जनाउबारे शीर्षकको पत्रको जानकारी मैले मिति २०७४।१०।२३ मा पाएको हुँ । उक्त पत्र हेर्दा, मेरो व्यक्तिगत फाइलमा संलग्न नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति २०१७।०३।१३ भएकोले उमेरको हिसाब गर्दा मिति २०७५।०३।१२ मा ५८ वर्ष पूरा हुने हुँदा नेपाल विद्युत् प्राधिकरण कर्मचारी विनियमावली, २०६२ को विनियम ८४(१) र ९३(१), (२) र (३) मा व्यवस्था भएबमोजिम उमेरको हदले अनिवार्य अवकाश पाउने देखिएकोले मिति २०७५।०३।१३ देखि लागु हुने गरी अनिवार्य अवकाश हुने बेहोरा मिति २०७४।०८।०८ को निर्णयानुसार जानकारीको लागि अनुरोध छ भन्ने रहेको छ । जो गलत एवम् वस्तुसङ्गत छैन् । मेरो जन्ममिति २०१८।०६।१५ हो । मैले २०३५।०३।१२ को विद्यालय परित्याग प्