निर्णय नं. ११४५२ - सम्पत्ति शुद्धीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४५२ - सम्पत्ति शुद्धीकरण भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८१/०७/०८ ३८८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।७।८ ०७९-CF-००१२ मुद्दाः- सम्पत्ति शुद्धीकरण पुनरावेदक / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत उमेशराज जोशीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ तीनकुने सुविधानगर बस्ने कृष्णप्रसाद गिरीको छोरा अभिषेक गिरीसमेत सम्पत्ति शुद्धीकरणको कसुर स्थापित हुन पहिलो चरणमा उक्त सम्पत्ति कसुरजन्य कार्यबाट आर्जित वा प्राप्ति भएको देखिनुपर्ने । सम्पत्ति शुद्धीकरण आफैँमा स्वतन्त्र अपराध हो तर यसको प्रक्रिया वा गतिविधि आपराधिक आय वा प्राप्तिसँग जोडिएको हुने । यो कसुर हुन पहिलो चरणमा अन्य अपराधबाट सम्पत्ति आर्जन भएको हुनुपर्ने तथा सो आर्जित सम्पत्तिलाई शुद्धीकरणको प्रक्रियामा संलग्न वा वित्तीय लगानीमा प्रयोग गरिएको हुनुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान एवम् विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शेरबहादुर के.सी. एवम् श्री योगेन्द्रबहादुर अधिकारी र विद्वान् अधिवक्ता श्री नरबहादुर योगी अवलम्बित नजिर : ने.का.प. २०७१ अङ्क ४ नि.नं. ९१४९ ने.का.प. २०६० अङ्क ३ नि.नं. ७८२९ सम्बद्ध कानून : सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः अध्यक्ष माननीय न्यायाधीश श्री बाबुराम रेग्मी सदस्य माननीय न्यायाधीश श्री चण्डीराज ढकाल सदस्य माननीय न्यायाधीश श्री नारायणप्रसाद पोखरेल विशेष अदालत काठमाडौं फैसला न्या.सपना प्रधान मल्ल : विशेष अदालत काठमाडौंको मिति २०७५।३।५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) तथा विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम परेको पुनरावेदन संयुक्त इजलाससमक्ष निर्णयार्थ पेस हुँदा संयुक्त इजलासको मिति २०८०।१।६ को आदेशबमोजिम सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ग) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने आदेशबमोजिम पूर्ण इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मुद्दाको संक्षिप्त तथ्य मिति वि.सं. २०६८।११।०४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट रघुनन्दन गिरीको नाति, कृष्णप्रसाद गिरीको छोरा, जिल्ला मोरङ, विराटनगर उप-महानगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ तीनकुने सुविधानगर बस्ने वर्ष ३५ को अभिषेक गिरी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही विभिन्न कसुर गरी सम्पत्ति जम्मा गरेको सन्दर्भमा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने गरी अनुसन्धान अधिकृत तोकिएको पत्र । मिति २०६९।८।१९ सम्म लुम्बिनी विकास बैंक लिमिटेड दरबारमार्ग, काठमाडौं शाखामा प्रतिवादी अभिषेक गिरीको नाममा १०२०४२१२ नं.को खाता रहेको, हाल उक्त खातामा रू.३,५१२।६२ मौज्दात रहेको हालसम्म उक्त खातामा विभिन्न मितिमा जम्मा हुन आएको कुल रकम रू.१,१९,४५,०४८।७२ रहेको भन्ने बेहोराको पत्रसाथ प्राप्त कारोबारसम्बन्धी कागजातहरू ।