निर्णय नं. ११४५७ - नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४५७ - नाता कायम भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०७/०३ १८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७९।७।३ ०७४-CR-०२४३ मुद्दाः- नाता कायम पुनरवेदिका / वादी : जिल्ला रूपन्देही विष्णुपुरा गा.वि.स. वडा नं.७ माइतीघर भई हाल जिल्ला कपिलवस्तु हथौसा गा.वि.स. वडा नं.८ बस्ने निर्मला हरिजन चमार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही विष्णुपुरा गा.वि.स. वडा नं.७ गिदहिया बस्ने शिव नारायण चमार बाबु आमा दुवैको मृत्युपश्‍चात् नातामा विवाद उठेबाट आमा बाबुको मृत्युको कारणले मात्र नाता नरहने भन्‍न नमिल्ने । मृतकको जीवन नरहे पनि नाता जीवित रहने, पहिचान र नाता जीवितसँग मात्र नजोडिने, मृत्यु भइसकेका व्यक्तिसँग पनि नाता र पहिचान जोडिने । बाबु आमासँगको नाता निर्मित नभई जन्मको आधारमा प्राप्‍त गरिने नाता हुने । वैवाहिक सम्बन्धको जस्तो जोडिने र तोडिने नाता नहुने । जीवित हुँदासम्म नातामा विवाद नरहेको बाबु आमाको मृत्युपश्‍चात् मृतकको विवाहित छोरी हुँदाहुँदै नातामा प्रश्‍न उठाई आफूले अपुताली खाने नियतले विवाद उठाउँदैमा विवाहित भएको नाताले मात्र महिलाको आफ्नो बाबु आमासँगको नाता नरहेको भन्‍न नमिल्ने । (प्रकरण नं.१२) पुनरवेदिका / वादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ताद्वय श्री टीकाराम भट्टराई, श्री हरि अर्याल र विद्वान् अधिवक्ताद्वय श्री चुरामणी भूसाल, श्री जगदेव चौधरी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री केदारप्रसाद दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामकृष्ण खनाल कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत, बुटवल फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्‍‌त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍‌त तथ्य एवम् ठहर यस प्रकार रहेको छ: तथ्य खण्ड बाबु साधु चमार र आमा गुलवा चमारको तर्फबाट म एक मात्र छोरी निर्मला चमारको जन्म भएको र बाबु आमाको शेषपछि मैले अपुताली जग्गा सम्पत्ति हक भोग गर्दै आएको छु । उक्त जग्गाहरू नामसारी गर्नका लागि सम्बन्धित कार्यालयमा निवेदन दिएकोमा हाम्रो कुनै नाता नभएको विपक्षी प्रतिवादी शिव नारायण चमारले मेरो बाबुको झुट्ठा भतिजा नाता देखाई मेरो बाबुको अपुताली खाने नियतले म निर्मला चमारको विवाह दर्ता प्रमाणपत्र र नागरिकता प्रमाणपत्र बदरको उजुरी निवेदन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दिएकोमा कारबाही हुँदा नागरिकता र विवाह दर्तासमेत बदर हुने गरी मिति २०६६।०४।०४ मा भएको निर्णयमा चित्त नबुझी पुनरावेदन अदालत बुटवलमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत, बुटवलबाट नातासम्बन्धी विवाद उठेकोमा साधिकार निकायबाट नाता कायम गरी ल्याउन भनी सम्बन्धित पक्षहरूलाई नसुनाइएको भन्‍‌नेसमेत आधारमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको निर्णय बदर गरी मिसिल फिर्ता पठाइएकोमा मिति २०६७।०४।१३ मा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट निर्मला चमार कसकी छोरी हुन्, नाता कायम गरी ल्याउन भनी आदेश दिएकोले जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुको सक्कल मिसिलसमेत बुझी र मिति २०६४।०५।०९ मा भएको मेरो व