निर्णय नं. ११४६१ - जबरजस्ती करणी र गर्भपतन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४६१ - जबरजस्ती करणी र गर्भपतन भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८१/०३/१६ ४७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८१।३।१६ ०७५-CR-०१३२ मुद्दाः- जबरजस्ती करणी र गर्भपतन पुनरावेदक / वादी : प्र.नि. मुक्तिनाथ सापकोटाको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला संखुवासभा, खाँदवारी नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय, संखुवासभामा कैदमा रहेका सोमनाथ ढुङ्गाना जबरजस्ती करणी तथा गर्भपतन लुकीछिपी गरिने अति संवेदनशील विषय भएको र यसको सामान्यतया प्रत्यक्ष प्रमाण पाउन कठिन हुने हुँदा कसुर कायम गरी सजाय गर्नको लागि मिसिल संलग्न प्रमाणको लेखाजोखा गर्दा जाहेरी तथा पीडितको बकपत्रलाई प्रमाण मूल्याङ्कनको प्राथमिकतामा राख्नुपर्ने भए तापनि सो कुरालाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणले पुष्टि गर्नुपर्ने । पीडितको बकपत्रलाई शङ्कारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाणबाट कसुर पुष्टि हुन नसकेकोमा केवल जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी यस्तो संवेदनशील फौजदारी मुद्दामा प्रतिवादीलाई सजाय गर्न उचित नहुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रतिमा दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री इश्वरीप्रसाद घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपककुमार खरेल सङ्खुवासभा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री सीताराम मण्डल उच्च अदालत विराटनगर, धनकुटा इजलास फैसला न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ दफा ९ (१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ: तथ्यगत बेहोरा मिति २०७३।०२।२२ गते दिनको अन्दाजी १३:०० बजेको समयमा जिल्ला सङ्खुवासभा खाँदवारी नगरपालिका वडा न. ३ बस्ने बलबहादुर सुवेदीको छोरा वर्ष २० को शम्भु सुवेदीले परिवर्तित नाम जिल्ला ०५ खाँदवारी नगरपालिका वडा नं. ३ बस्ने वर्ष १६ की कोसी "क" एक्लै घरमा भएको मौका छोपी कोसी "क" सुतेको कोठामा गई कोसी "क" को मुख छोपी बोल्न चल्नसमेत नदिई जबरजस्ती करणी गरेको भन्ने मिति २०७३।०३।०१ गतेको घटनास्थल मुचुल्काको प्रतिलिपि । मिति २०७३।०२।२२ गते दिनको अन्दाजी १३:०० बजेको समयमा घरमा मेरी वर्ष १६ की छोरी परिवर्तित नाम कोसी "क" एक्लै घरको माथिल्लो तलाको बरन्डा कोठामा सुती बसेको अवस्थामा छिमेकी बलबहादुर सुवेदीको छोरा वर्ष २० को शम्भु सुवेदी मेरी छोरी कोठाभित्र सुतिरहेको अवस्थामा कोठाभित्र प्रवेश गरी मेरी छोरीको संवेदनशील अङ्गहरू सुम्सुम्याई मेरी छोरीले लगाएको रातो रंग भएको हाफपेन्ट र भित्री कपडा खोली जबरजस्ती जोर जुलुम गरी मुख थुनी बोल्न कराउनसमेत नदिई छोरीलाई खाटमा लडाई पल्टाई जबरजस्ती करणी गरेको कुरा हामी श्रीमान श्रीमती बेलुकी बजारबाट फर्केपछि घटनाबारे छोरीले बताएपछि मैले शम्भु सुवेदीले मेरो छोरीलाई जबरजस्ती करणी गरेको थाहा पाएँ । निज शम्भु सुवेदीले योभन्दा अगाडि पनि २०७२ सालको पुस, माघ महिनादेखि यता हामी श्