निर्णय नं. ११४६४ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४६४ - अंश चलन भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८१/०७/२९ ३०२ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल माननीय न्यायाधीश श्री नृपध्वज निरौला फैसला मिति : २०८१।७।२९ ०८०-NF-००२९ मुद्दा: अंश चलन पुनरावेदक / वादी : नरबहादुरको नाति, चोकबहादुरको छोरा, काठमाडौं जिल्ला, मूलपानी गाउँ विकास समिति वडा नं. ९ हाल परिवर्तित कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ मूलपानी बस्ने चेतबहादुर फुयाँल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नरबहादुरको नाति, चोकबहादुरको छोरा, काठमाडौं जिल्ला, मूलपानी गाउँ विकास समिति वडा नं. ९ हाल परिवर्तित कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ मूलपानी बस्ने नारायणहरी फुयाँलकी श्रीमती बिमला फुयाँलसमेत घर निर्माण नै रोकिपाउँ भन्ने निवेदन दिएको वादीले उक्त घर निर्माणमा योगदान गरेका होलान् भनी सामान्य अनुमानसमेत गर्न नमिल्ने । घर निर्माण भएको जग्गा सगोलको भए तापनि उक्त निर्मित घरमा सगोलको लगानी नभई कुनै अंशियारको निजी तवरबाट लगानी भएमा अन्य अंशियारको बन्डा नलाग्ने । (प्रकरण नं.५) पृथक् पृथक् तथ्य एवम् विषयवस्तु रहेका मुद्दामा पृथक् पृथक् राय, सिद्धान्त एवम् व्याख्या हुनु स्वाभाविक हुने । फरक फरक तथ्य एवम् विषयवस्तु रहे भएको मुद्दामा कायम गरिएको फरक राय, सिद्धान्त एवम् व्याख्यालाई ruling बाझिएको भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण नेउपाने एवम् विद्वान् अधिवक्ताद्वय श्री तृप्ती घिमिरे एवम् श्री आतिस कार्की अवलम्बित नजिर : ने.का.प. २०७९, अङ्क ११, नि.नं. १०९७४ ने.का.प. २०६९, अङ्क ३, नि.नं. ८७८७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री कमलराज विष्ट काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेल उच्च अदालत पाटन यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला न्या.सुनिलकुमार पोखरेल : यस अदालतको संयुक्त इजलासको मिति २०७९।६।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम वादीको यस अदालतमा परेको पुनरावलोकनको निवेदनउपर मिति २०८०।११।१७ मा पुनरावलोकनको अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- संक्षिप्त तथ्य म फिरादीको बाजे नरबहादुर फुयाँलको पाँच जना छोराहरू गणेशबहादुर फुयाँल, चोकबहादुर फुयाँल, श्यामबहादुर फुयाँल, डिल्लीबहादुर फुयाँल भन्ने दिलबहादुर फुयाँल र हरिबहादुर फुयाँल हुन् । बाजे बज्यै तथा जेठो बुबा गणेशबहादुर र जेठी आमाको कालगतिले परलोक भइसकेको छ । बाबु चोकबहादुर बेपत्ता भई निजको हक खाने हकदारहरूमा म फिरादी चेतबहादुर फुयाँल र विपक्षीहरू रत्नबहादुर के.सी. र नारायण हरि फुयाँलसमेत गरी तीन जना छौँ । काका श्यामबहादुर पनि बेपत्ता भई निजकी श्रीमती तथा छोराछोरी कोही पनि छैनन् । बाबु बाजेको पैतृक सम्पत्तिको विषयमा आमा तथा काकाहरूबिच मिति २०५१।२।१७ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा परी सो मुद्दामा मिति २०५३।३।११ मा मिलापत्रसमेत भई सो मिलापत्रअनुसार पैतृक सम्पत्ति भाग बन्डा लगाइसकेको छ । त