निर्णय नं. ११४६८ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४६८ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/१०/०७ १९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी आदेश मिति : २०८०।१०।०७ ०७५-WO-०७०० मुद्दाः उत्प्रेषणसमेत निवेदक : काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. ५ बस्ने अधिवक्ता दिपक विक्रम मिश्र विरूद्ध प्रत्यर्थी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, काठमाडौंसमेत पुरातात्त्विक विषयमा राज्यको तर्फबाट दायित्व र भूमिका निर्वाह गर्ने विज्ञहरूको उपस्थिति रहेको पुरातत्त्व विभागको भूमिका पशुपति क्षेत्रको संरक्षणमा नरहने भन्ने होइन । पशुपति क्षेत्रको पुरातात्त्विक वस्तुहरू तथा स्मारकहरूको संरक्षणको कुरामा पुरातत्त्व विभाग र पशुपति क्षेत्र विकास कोषका बिच समन्वयकारी र सहयोगात्मक भूमिकाको स्वाभाविक अपेक्षा रहने । संस्थागत स्वायत्तता प्रदान गर्ने छुट्टै कानून बनेको छ भन्ने आधारमा नै पुरातत्त्व विभाग र सो सम्बद्ध विशेषज्ञबाट विज्ञतापूर्ण दक्ष सेवा प्राप्‍त गर्नु पर्दैन भन्ने होइन । पशुपति क्षेत्रको पुरातात्त्विक वस्तुहरू तथा स्मारकहरूको संरक्षणको कुरामा पुरातत्त्व विभागको समेत जवाफदेहिता रहने । पशुपतिक्षेत्र विकास कोष तथा पुरातत्त्व विभाग दुवैले कुनै प्राविधिक कारण देखाएर संरक्षण कार्यबाट पन्छिन, अन्देखा गर्न वा यसलाई महत्त्वहीन ठान्न नमिल्ने । (प्रकरण नं.९) पशुपति क्षेत्र धर्म, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको क्षेत्र भएकोले यसको संरक्षण र सम्वर्द्धन गर्ने कुरा राज्यद्वारा खडा गरिएका कुनै निकायको एकाधिकार वा स्वेच्छाचारी विशेषाधिकार बन्न नसक्ने । पशुपतिक्षेत्र विकास कोष जस्ता संस्थाहरू पशुपति क्षेत्रका पुरातात्त्विक सम्पदाहरूको मालिक नभएर संरक्षण र कुशल व्यवस्थापन प्रयोजनका लागि खडा गरिएका न्यासधारी (trustee) संस्था हुन् । पशुपति क्षेत्र आम नेपालीहरू लगायत समस्त धर्मानुरागी र संस्कृतिप्रेमी मानव जातिको साझा धरोहर रहेकोले यसको संरक्षण कार्यमा पनि त्यसै प्रकारको उदात्त चाहना र भावना मुखरित हुनुपर्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री दिपक विक्रम मिश्र, श्री मनोहर लामिछाने, डा. श्री पुण्यप्रसाद खतिवडा, श्री हरिकृष्ण श्रेष्ठ, श्री सुरेन्द्र विक्रम के.सी., श्री उत्तमबहादुर श्रेष्ठ सरोकारवालाको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रकाशमणि शर्मा तथा विद्वान्‌ अधिवक्ता श्री संजय अधिकारी प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल तथा विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री महेश नेपाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान प्राचीन स्मारक संरक्षण ऐन, २०१३ पशपुति क्षेत्र विकास कोष ऐन, २०४४ वातावरण संरक्षण ऐन, २०५३ आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार छः तथ्यगत बेहोरा हाम्रो देश सांस्कृतिक एवं धार्मिक रूपमा पवित्र छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक स्मारक, सम्पदा तथा धरोहरहरूमा आम नागरिकको भावनात्मक सम्बन्ध गाँसिएर अटुट आस्था रहेको हुन्छ । विश्वले प्राचीन तथा सांस्कृतिक सम्पदाहरूको बहुमूल्यता बुझेर नै सन् १९७२ मा विश्व सम्पदासम्बन्धी महासन्धि पारित गरेको देखिन्छ । विश्व सम्पदासम्बन्धी महासन्धि पारित भइस