निर्णय नं. ११४७१ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४७१ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८१/०२/२२ १८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री बालकृष्‍ण ढकाल आदेश मिति : २०८१।२।२२ ०७९-WO-११४१ मुद्दा: उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : नेपाल दशनामी समाज, भक्तपुर जिल्ला कार्य समितिद्वारा गठित नेपाल दशनामी समाज समाधिस्थल व्यवस्थापन समितिका तर्फबाट अख्तियारप्राप्‍त आफ्नो हकमा समेत भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ३ हाल भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने रविन्द्र पुरीसमेत विरूद्ध विपक्षी : भक्तपुर नगरपालिका, भक्तपुरसमेत कुनै पनि धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्नु सम्बन्धित समुदायको मात्र नभई राज्यको पनि जिम्मेवारीको विषय हुने । नेपालको संविधानको धारा २६ मा धर्ममा आस्था राख्‍ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने, प्रत्येक धार्मिक सम्प्रदायलाई धर्मस्थल तथा धार्मिक गुठी सञ्‍चालन र संरक्षण गर्ने हक हुने छ भनी धार्मिक स्वतन्त्रताको हकको प्रत्याभूति गरेकोले राज्यले सबै धर्म, सम्प्रदायलाई समान संरक्षण र व्यवहार गर्नुपर्ने । आफ्नो धर्म, संस्कृतिको निर्विघ्न र निर्वाध रूपमा उपभोग र पालना गर्न पाउने नागरिकका मौलिक अधिकारको लागि यस्ता धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षण गरिएको हुने । कुनै पनि व्यक्ति वा सम्प्रदायले आफ्नो धर्म र संस्कृतिको विनाअवरोध प्रयोग गर्न पाउनुपर्ने हुँदा यस्तो अवसरबाट कसैलाई पनि वञ्चित गरिनु नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाशमणि शर्मा तथा विद्वान् अधिवक्ताहरू श्री रोचक रेग्मी, सुमन कुमार के.सी. विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोष शर्मा तथा विद्वान् अधिवक्ता श्री काशिनाथ अर्याल, श्री बाल मुकुन्द श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : स्थानीय सरकार सञ्चालन ऐन,२०७४ स्थानीय स्वायत्त शासन ऐन,२०५५ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६, र १३३(२)(३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनसहितको संक्षिप्‍त तथ्य एवम् आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड नेपाल दशनामी समाज नेपाल राज्यका तमाम गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आरण्य, तीर्थ तथा आश्रमसमेतका दशनामी समुदायको बिचमा आपसी एकता र सहयोगको भावनालाई स्थापित गरी मुलुकमा साम्प्रदायिक सद्‌भाव, विविध धर्म तथा जातिसमेतमा धार्मिक सहिष्णुता, आपसी सद्भावको अभिवृद्धिमा सार्थक योगदान पुऱ्याउने उद्देश्यले दर्ता भएको समाजिक सेवामूलक संस्था हो । हामी निवेदक विभिन्न नगरपालिकामा बसोबास गर्ने र समाधिस्थलको हकमा भने परापूर्व कालदेखि रहेको भक्तपुरको हाल विनास भइरहेको स्थलमा नै समाधि गर्दै आइरहेका व्यक्तिहरू हौं । शंकराचार्यबाट प्रभावित हजारौँ सन्यासीहरूलाई व्यवस्थित र सङ्गठित गर्न सुरूमा चार जना शिष्य बनाई चारवटा मठमा नियुक्त भएका थिए । ६०० वर्षअगाडि नै दशनामीहरू भक्तपुर र आसपासको क्षेत्रमा बसोबास गर्दै आएको कुरामा दुईमत छैन । हाम्रा पुर्खाहरू सन्यासी भएका र तपस्वी भएकाले हाम्रोमा मृत शरीरले समेत समाजलाई मुक्तिको बाटोमा लिएर जाने र अध्यात्मिक सचेतना प्रदान गरी रहने विश्वास गरी भूमिमा गाड्ने चलन रहेको छ जसलाई हामी दशनामीहरू समाधि भन्दछौं । दशनामीहरूको मृत्यु भएकोमा नि