निर्णय नं. ११४७३ - दाखिल खारेज दर्ता बदरसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४७३ - दाखिल खारेज दर्ता बदरसमेत भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८१/०४/१५ ३२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।४।१५ ०७५-CI-११४२ मुद्दाः दाखिल खारेज दर्ता बदरसमेत पुनरावेदक / वादी : कृष्णबहादुरको छोरी, सानु जितबहादुर सुन्चुरीको श्रीमती, सिन्धुपाल्चोक जिल्ला, साबिक ठोकर्पा गाउँ विकास समिति वडा नं.२ को परिवर्तित ऐ. जिल्ला सुनकोशी गाउँपालिका वडा नं.१ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ ताहाचल, कालिमाटी बस्ने रमादेवी सुन्चुरी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३, कालिमाटीस्थित महालक्ष्मी प्लाजामा कार्यालय रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.समेत ठोस आधार र कारणबिना आफैँले ऋण दिँदा गरेको मूल्याङ्कनभन्दा पनि कम मूल्याङ्कन गरेको र पञ्‍चकिर्ते मूल्याङ्कन गर्ने कानूनी व्यवस्था र लिलामका सन्दर्भमा स्थापित असल अभ्यासबमोजिमको कार्यविधिसमेत पूरा नगरी जसको धितो लिलाम हुँदै छ, उसैलाई कुनै थाहा जानकारी नदिई एकपक्षीय हिसाबले वादीको जग्गा लिलाम गरेको कार्यलाई कानून र न्यायसम्मत भएको भनी मान्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजुप्रसाद धिमाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री बाबुराम भट्टराई र श्री हेमबहादुर खत्री अवलम्बित नजिर : ने. का. प. २०५८, अङ्क ३, नि. नं. ६९८६ ने. का. प. २०८० अङ्क ३, नि. नं.११०४३ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या. श्री पुरूषोत्तमप्रसाद ढकाल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री भीमकुमार ओझा माननीय न्यायाधीश श्री कृष्ण कमल अधिकारी उच्च अदालत पाटन फैसला न्या.टेकप्रसाद ढुङ्गाना : उच्च अदालत पाटनबाट मिति २०७४।०७।१३ मा भएको फैसलाउपर वादीको मुद्दा दोहोर्‍याई हेरिपाउँ विषयको निवेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिम यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवम तपसिल खण्ड यसप्रकार रहेको छः- मुद्दाको संक्षिप्त तथ्य मेरो नाउँमा दर्ता रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ मा रहेको कि.नं.१६२ को क्षेत्रफल १५८.९५ व.मि. (०-५-०-०) जग्गा र सो जग्गामा रहेको साढे दुई तल्ले पक्की घरसमेत धितो राखी मिति २०६६।२।२७ मा रू.२०,००,०००।– र मिति २०६६।७।१३ मा रू.५,००,०००।- गरी जम्मा रू.२५,००,०००।- (पच्चिस लाख) विपक्षी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बाट ऋण कर्जा लिएको थिएँ । उक्त ऋण कर्जाको किस्ता सावाँ ब्याजबापत पटकपटक रकम बुझाउँदै गरेको थिएँ । मिति २०७२।१२।७ मा मैले मालपोत कार्यालय कलंकी, काठमाडौंमा गई बुझ्दा मिति २०७२।१२।७ मा गैरकानूनी तवरबाट दूषित लिलाम दाखिल खारेज दर्ता गरेको जानकारी भई उक्त दाखिल खारेजसमेतका कागजहरूको नक्कल सारी लिई हेर्दा मेरो माथि उल्लिखित घर जग्गालाई मलाई थाहै नदिई प्रक्रिया पूरा नगरी प्राकृतिक न्यायको सिद्धान्तसमेतविपरीत हुने गरी घर जग्गाको मिति २०७२।११।१० मा जम्मा रू. ३०,००,०००।- पञ्‍चकिर्ते मूल्याङ्कन बनाउनु भएछ । सहकारी संस्थाबाट मैले ऋण लिँदा भएको घर जग्गाको जम्मा मूल्याङ्कनबाट ७० प्रतिशत