निर्णय नं. ११४७८ - लागु औषध (नुफिनसमेत)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४७८ - लागु औषध (नुफिनसमेत) भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/१२/०७ १२९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८०।१२।७ ०७९-CR-०३६९ मुद्दा:– लागु औषध (नुफिनसमेत) पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, बलरा नगरपालिका, वडा नं. ९ बलुवाभार बस्ने राम पवित्र महतोको छोरा जियालाल महतो विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार लागु औषधको कारोबार गर्ने वा सेवन गर्ने दुवै व्यक्तिले लागु औषध खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म ओसार्नुपर्ने र केही समयका लागि सञ्चयसमेत गर्नुपर्ने हुन्छ । तर त्यो व्यक्ति सेवनकर्ता नभई लागु औषधको कारोबार गर्ने हो भन्नलाई निजले आफूसँग भएको लागु औषध को कसलाई र के कति मूल्यमा बिक्री गर्ने रहेछ भन्ने कुरा वादीले खुलाउनुपर्ने । अझ आरोपित व्यक्ति सेवनकर्ता हो कि, कारोबार गर्ने हो भन्ने कुरा लागु औषधको किसिम, सोको मात्रा र समूहलगायतका तथ्यहरूले निर्धारण हुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री उद्धवप्रसाद चौलागाई र श्री चन्द्रकला रेग्मी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : ने.का.प. २०७१, नि.नं. ९२१७, अङ्क ७ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री अशोककुमार बस्नेत काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञराज भट्ट माननीय न्यायाधीश श्री बासुदेव आचार्य उच्च अदालत पाटन फैसला न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी परेको निवेदनमा अनुमति प्रदान भई यस अदालतसमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवम् तपसिल यसप्रकार रहेको छः- मुद्दाको संक्षिप्त तथ्य मिति २०७४।०९।०७ गते अन्दाजी १६:०० बजेको समयमा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. १० धौलागिरीस्थित सडक खण्डमा जियालाल महतोलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट लागु औषध ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला परेको भन्ने बेहोराको बरामदी मुचुल्का । मिति २०७४।०९।०७ गते अन्दाजी १६:०० बजेको समयमा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका, वडा नं. १० धौलागिरीस्थित सडक खण्डमा जियालाल महतोलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट लागु औषध ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला परेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन । मैले कुनै पनि किसिमको लागु औषध सेवन गर्दिनँ । हाल म वैदेशिक रोजगारीको सिलसिलामा बाहिर जाने भनेको हुनाले आजभन्दा १ महिनाअगाडि वैदेशिक रोजगारीमा बाहिर जाने कुरा गर्दै जाने क्रममा नरेन्द्र झा भन्ने मानिसलाई चिनेको थिएँ । निज नरेन्द्र झासँग चिनजान भएपछि निज नरेन्द्रले नै मलाई विदेश पठाइदिन्छु भनेको हुनाले निजसँग समय समयमा सम्पर्कसमेत भइरहने हुनाले ऐ. ८ गतेको दिन तिम्रो काठमाडौंमा अन्तर्वार्ता छ, तिमी अन्तर्वार्ता दिन जानु र मेरो अलि अलि टिटिको सामान छ, काठमाडौंमा चिज श्रेष्ठलाई दिनु, निज चिज श्रेष्ठले नै तिमीलाई अन्तर्वार्ता गर्ने ठाउँमा पुर्याइदिन्छ भनेका थिए ।