निर्णय नं. ११४८७ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४८७ - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०५/१० ४५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।०५।१० मुद्दाः जबरजस्ती करणी ०७४-CR-००३० पुनरावेदक / वादी : परिवर्तित नाम द राजको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला कञ्चनपुर, झलारी पिपलाडी नगरपालिका, वडा नं.११ कलुवापुर बस्ने हर्कबहादुर रानाको श्रीमती कलावतीदेवी राना ०७४-CR-०५३२ पुनरावेदक / प्रतिवादी : जिल्ला कञ्चनपुर, साबिक झलारी गाउँ विकास समिति, वडा नं. ९ भई हाल शुक्लाफाँट नगरपालिका, वडा नं. ११ बस्ने हर्कबहादुर रानाको छोरा साङ्केतिक नाम "शुन्य १८" विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम द राजको जाहेरीले नेपाल सरकार विदेशी कानून, रोमियो जुलियटको सिद्धान्त तथा हाल विकसित अन्तर्राष्ट्रिय कानूनअनुसार पनि किशोरावस्थाका बालबालिकामा सहमतिको यौन सम्बन्धमा बालबालिका बिचको समान वा थोरै मात्र उमेरको फरक रहेकोमा यौन सम्बन्ध राख्ने निर्णय लिन सक्ने र परिणाम बुझ्ने परिपक्वताको आधारमा सहमतिपूर्ण यौनसम्बन्ध रहेको र शोषणपूर्ण यौन क्रियाकलाप नभएको अवस्थामा कानूनसँग द्वन्द्वमा रहेको बालबालिकालाई आपराधिकरण गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने देखिए तापनि नेपालमा किशोरावस्थाको यौन सहमति (adolescent consent) को हकमा स्पष्ट कानूनी व्यवस्था नरहेको अवस्थामा प्रचलित कानूनी व्यवस्थाहरूअन्तर्गत कसुर ठहर तथा सजाय निर्धारण गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कुलदेवराज शाही तथा विद्वान् अधिवक्ता श्री लोकेन्द्रबहादुर बम अवलम्बित नजिर : ने.का.प.२०७१, अङ्क १०, नि.नं.९२५७ सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ प्रमाण ऐन, २०३१ बालबालिकासम्बन्धी ऐन, २०७५ आपराधिक कानून (यौन अपराध र सम्बन्धित मामिलाहरू) संशोधन ऐन, २००७ सुरू फैसला गर्ने:- माननीय न्यायाधीश श्री दिवाकर भट्ट कञ्चनपुर जिल्ला अदालत पुनरावेदन फैसला गर्ने:- माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः संक्षिप्त तथ्य मिति २०७१।११।२३ गतेको बेलुकी अन्दाजी ५:०० बजेको समयमा मसहित परिवारका मानिसहरू आफन्तको विवाहमा धनगढी गएको अवस्थामा सोही साँझ अं. ६:३० बजेको समयमा कलावती राना मेरो घरमा आई छोरी परिवर्तित नाम कञ्चनपुर थ कुमारीलाई तिम्रो घरमा आज कोही पनि छैन मेरो घरमा सुत्न आउ भन्दा छोरीले इन्कार गरेपछि ऐ. राति १०:०० बजेको समयमा छोरीको साथमा रहेको मोबाइलमा फोन गरी ललाई फकाई आफ्नो घरमा लगी निजले आफ्नो छोरा साङ्केतिक नाम "शुन्य १८" को कोठामा लगी सुताई निज साङ्केतिक नाम "शुन्य १८" ले जबरजस्ती करणी गरेको रहेछ । उक्त कुरा कहीँकतै जानकारी गराएमा ज्यानसमेत लिने धम्की दिएको भन्ने कुरा भोलिपल्ट मैले थाहा पाएकोले निज अन्यायीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम द राजको किटानी जाहेरी दरखास्त ।