निर्णय नं. ११४९५ - गुणस्तरहीन वस्तुको मूल्य र क्षतिपूर्ति भराइ पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४९५ - गुणस्तरहीन वस्तुको मूल्य र क्षतिपूर्ति भराइ पाऊँ भाग: ६७ साल: २०८२ महिना: माघ अंक: १० फैसला मिति :२०८०/०१/११ ३३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।०१।११ ०७४-CI-०२८८ मुद्दाः गुणस्तरहीन वस्तुको मूल्य र क्षतिपूर्ति भराइ पाऊँ । पुनरावेदक / वादी : नेपाल विद्युत्‌ प्राधिकरण दरबारमार्ग काठमाडौं विरूद्ध विपक्षी / प्रतिवादी : नेपाल आयल निगम लिमिटेड, बबरमहल काठमाडौंसमेत वस्तुको गुणस्तर merchantable quality को रहेको भन्ने दाबी बिक्रेताले मात्र गर्दैमा बिक्री गरिएको वस्तु merchantable quality कै रहेको भनी मान्न सकिने अवस्था नरहने । खरिदकर्तालाई पनि आफूले बिक्री गरेको वस्तु merchantable quality को रहेको भनी आश्वस्त पार्न सक्नुपर्ने । वस्तु बिक्री गर्नुपूर्व वस्तुको गुणस्तरको सुनिश्‍चितता गर्नु बिक्रेताको दायित्व हुने । (प्रकरण नं.११) नेपालको हकमा इन्धन आयात, ढुवानी, भण्डारण र वितरण गर्ने जिम्मेवारी पाएको एक मात्र निकाय नेपाल आयल निगम लिमिटेड रहेकोमा निगमसँग इन्धनको गुणस्तर जाँच गर्ने refine station नभएको भन्ने आधारमा आफ्नो दायित्वबाट छुट पाउन सक्ने अवस्था नरहने । आफूले अन्य राष्ट्रबाट खरिद गरी नेपाली बजारमा बिक्री गर्न अधिकारप्राप्‍त निकायले बिक्री गर्ने वस्तु गुणस्तरीय रहेको सुनिश्‍चित गराउनुपर्ने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शरदप्रसाद कोइराला, विद्वान्‌ अधिवक्तात्रय श्री राजकुमार पोखरेल, श्री खडानन्द कँडेल र श्री दिनेश कुमार रोक्का विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्तात्रय श्री कृष्ण थापा, श्री शार्दुल थापा र श्री उज्ज्वल घिमिरे अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ९, नि.नं.८२२८ ने.का.प.२०६९, नि.नं.८७७३ सम्बद्ध कानून : करार ऐन, २०५६ मुलुकी देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भोजराज शर्मा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड उर्जा संकटलाई न्यूनीकरण गर्नको लागि प्राधिकरणको सुनसरी दुहबिमा Multi fuel power plant आयोजना सुरू गरी आ.व. २०६९/०७० बाट विद्युत् उत्पादन सुरूवात गरिएको थियो । विद्युत्‌ उत्पादन गर्न आवश्यक पर्ने फर्नेन्स आयल (furnance oil) इन्धन medium viscosity furnance oil (MVFO) आपूर्ति गर्न प्रतिवादीलाई पत्राचार गर्दा प्रतिवादीबाट आपूर्ति गर्न सहमति जनाइएको थियो । फिरादी र प्रतिवादीबिच भएका पत्राचारबाट इन्धन आपूर्तिको प्रयोजन सम्बन्धमा प्रतिवादी पूर्ण जानकारी रहेको पुष्टि हुन्छ । फिरादीले इन्धनद्वारा विद्युत्‌ उत्पादन गर्न प्रयोगमा ल्याइएको संयन्त्र DG set अत्यन्त संवेदनशील यान्त्रिक प्रणाली हो । यो संयन्त्र जडान गर्ने तथा पछिल्लो समयमा मर्मत सम्भार गर्ने कम्पनीले विद्युत्‌ उत्पादनको लागि उपयोग गरिने इन्धनमा पानीको मात्रा ०.३ प्रतिशत मात्र हुनुपर्ने तोकिएको छ । प्रतिवादीले भारतीय आयल कर्पोरेसनबाट इन्धन खरि