निर्णय नं. ११४९८ - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४९८ - लिखत दर्ता बदर दर्ता भाग: ६७ साल: २०८२ महिना: माघ अंक: १० फैसला मिति :२०८१/०५/१९ २४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८१।०५।१९ ०७६-CI-०५७६ मुद्दाः लिखत दर्ता बदर दर्ता पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, हंसपुर न.पा. वडा नं. ३ (हंसपुर कठपुल्ला गा.वि.स., वडा नं. ४) बस्ने सीतादेवी भेडहरनीसमेत विरूद्ध प्रत्यर्थी / वादी : धनुषा जिल्ला, मिथिला बिहारी न.पा., वडा नं. ५ (साबिक मिथिलेश्वर निकास गा.वि.स., वडा नं. ९) बस्ने सुनिता देवी भेडहरनीसमेत सुरू अदालतले मुल्तबीमा राख्ने गरी गरेको आदेश बदर गराउन नगई तत्काल स्वीकार गरी बस्ने, सुरू फैसलाउपर उच्च अदालतमा गरेको पुनरावेदनमा यस विषयमा जिकिर नै नलिने र उच्च अदालतले गरेको फैसलामा सोही आफूले जिकिर नै नलिएको विषयमा नबोलिएको त्रुटि भएको भनी यस अदालतमा जिकिर प्रस्तुत गर्नु प्रचलित कार्यविधि कानूनको उचित प्रक्रियाको सिद्धान्त (principle of due process of law) को प्रतिकूलसमेत देखिने । कार्यविधि कानूनको उचित प्रक्रियाको सिद्धान्तलाई अदालत तथा न्यायिक निकायहरूले मात्र नभई मुद्दाका सम्बन्धित पक्षहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने । पहिलो पुनरावेदनमा जिकिर नलिई स्वीकार गरी बसेको विषयमा अन्तिम पुनरावेदनको रोहबाट निरूपण गर्न कानूनको उचित प्रक्रियाको सिद्धान्तअनुसार नमिल्ने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६९ निर्णय नं.८८२१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री राधाकृष्ण उप्रेती धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. मुख्य न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री राजेश्वर तिवारी उच्च अदालत जनकपुर फैसला न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्रको भई दायर भएको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने विषयको निवेदनमा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड वादीहरूको फिरादपत्रः प्रतिवादीमध्येका रामकुमार गडेरी हामी फिरादीहरूको छोरा तथा दाइ नाताका हुन् । हामीहरूबिच हालसम्म अंशबन्डा भएको छैन । एकासगोल परिवारमै बस्दै आएका छौं । प्रतिवादी रामकुमार गरेडीले हामीहरूसमेतको अंश हक लाग्ने जग्गा हामीहरूलाई थाहा जानकारी नदिई हाम्रो मन्जुरी नलिई जिल्ला धनुषा, गा.वि.स. मिथिलेश्वर मैवाही, वडा नं. २ कि.नं. २६२ को क्षेत्रफल ०-१७-१० जग्गा मालपोत कार्यालय धनुषाको र.नं.६३१(ख) मिति २०६८/०५/०८ को राजीनामा लिखतबाट प्रतिवादीमध्येका सीतादेवी भेडीहरनीलाई बिक्री गरेकोले सोमध्ये उत्तरतर्फबाट हामीहरूको अंश हकजति ४ भागको ३ भागसम्म उक्त जग्गाको लिखत बदर दर्ता बदर गरी हामी फिरादीहरूको नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादीहरू सुनितादेवी भेडहरनी र धिरज राउतको हकमा संरक्षक भई आफ्नो हकमा समेत रामदिरपाल गडेरीको संयुक्त फिरादपत्र । प्रतिवादी सीतादेवी भेडहरनीको प्रतिउत्तरपत्रः प्रतिवादी रामकुमार गरेडीले आफ्नो पालामा आफूले आर्जन गरेको सम्पत्ति आफूखुस गर्न पाउने हुँदा सो जग्गा बिक्री गर्दा कसैको मन्जुरी लिनु नपर्ने हुँदा वादी दाबीबमोजिम लिखत बदर दर्ता बदर हुनुपर्