निर्णय नं. ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८१/०३/१९ १८७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल आदेश मिति : २०८१।०३।१९ ०७९-WO-०९९१ विषयः- उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ निवेदक : बाग्लुङ जिल्ला, बडिगाड गाउँपालिका, वडा नं ५ घर भई हाल काठमाडौं जिल्ला, टोखा नगरपालिका, वडा नं.६ बस्ने अधिवक्ता संयोजिता आचार्यसमेत विरूद्ध विपक्षी : काठमाडौं महानगरपालिका, नगरपालिकाको कार्यालय, काठमाडौंसमेत नेपालको संविधानको अनुसूची-८ को क्र.सं.१० मा स्थानीय बजार व्यवस्थापन गर्ने विषयलाई स्थानीय तहको एकल अधिकारको सूचीमा सूचीकृत गरिएबमोजिम व्यापार, व्यवसाय सञ्‍चालन गर्ने अधिकार आम नागरिकको भए पनि यस्तो अधिकार निरपेक्ष नहुने । व्यापार व्यवसाय गर्ने कुरा प्रचलित कानूनको अधीनमा रही हुने र राज्यले व्यापार व्यवसायसँग सम्बद्ध कानूनबमोजिम नियमन गर्नसक्ने । सडकपेटीमा गरिने व्यापार व्यवसायको कारण आवागमन अवरूद्ध हुने र पैदल यात्रीसमेत सडकबाट हिँड्दा दुर्घटना हुने सम्भावनालाई उपेक्षा गर्न वा नजरअन्दाज गर्न नमिल्ने हुँदा यस्ता कुरालाई व्यवस्थित गर्नु राज्य संयन्त्रको दायित्वको विषय भएकोले महानगरपालिकाले पैदल यात्री तथा सवारी साधनको आवागमनलाई व्यवस्थित गर्न चालेका कदमलाई अन्यथा अर्थमा ग्रहण गर्न नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाशमणी शर्मा र विद्वान् अधिवक्ताहरू श्री प्रज्वलता कार्की, श्री सञ्‍जय अधिकारी र श्री राजु प्रसाद चापागाईं विपक्षीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री महेश कुमार नेपाल र विद्वान् अधिवक्ताहरू श्री ओम प्रकाश अर्याल र श्री पुन्देवी महर्जन अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान स्थानीय सरकार सञ्चाल ऐन, २०७४ फोहोरमैला व्यवस्थापन ऐन, २०६४ आदेश न्या.महेश शर्मा पौडेल : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् यस अदालतको आदेश यसप्रकार छः- रिट निवेदनको संक्षिप्‍त तथ्य विद्यालय वा अन्य क्षेत्रबाट सिप हासिल गर्न नसकेका नागरिकहरूले आफ्नो परिवार वा समाजबाट पाएका स-साना स्रोत र सिपको प्रयोग गरी कानूनले नियमन नगरिएका ठाउँमा गई व्यवसाय गर्ने श्रमिकहरूलाई अनौपचारिक व्यवसायी मानिन्छ । अनौपचारिक क्षेत्रका व्यवसायीहरूको स्थापनाहरू दर्ता गरिएको हुँदैनन् भने आमरूपमा अनौपचारिक क्षेत्र नेपालको दीर्घस्थायी आर्थिक विशेषता हो । रोजगार सिर्जना, उत्पादन र आय आर्जनमा अनौपचारिक क्षेत्रले नै प्रभुत्व कायम गरिरहेको छ । यस्तै दर्ता नभएका संस्थाहरूले बनेको अनौपचारिक आर्थिक क्षेत्रको महत्त्वपूर्ण अङ्ग हो सडक व्यवसाय । नेपालमा सडक व्यवसायीले अनौपचारिक आर्थिक क्षेत्रको ठुलो हिस्सा ओगटेका छन् भने विभिन्‍न उद्योगमा टेवा पुर्‍याउँदै आएका छन् । कतिपय सामान जस्तै पोलेको मकै, भुटेको बदाम, अमला र कति सेवा जस्तै जुत्ता बनाउने, छाता मर्मत आदि धेरै संख्यामा सडक व्यवसायीले पूर्ति गरेको देख्‍न पाइन्छ । सडक व्यवसायले काठमाडौंका धेरै जनतालाई आधारभूत सेवा प्रदान गर्दै आइरहेका छन । सडक व्यवसायमा संलग्न आधाभन्दा बढी नागरिक महिला रहेका छन् । कति महिलाहरू आफ्नो र परिवारको जीविकोपार्जन गर्नको लागि बाध्यताले सडक व्यवसायमा लागिरहेका छन् । सडक व