निर्णय नं. १५६८ - अदालतको अवहेलना ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५६८ - अदालतको अवहेलना । भाग: २४ साल: २०३९ महिना: असोज अंक: ६ फैसला मिति :२०३९/०६/१० २६१६ निर्णय नं. १५६८ ने.का.प. २०३९ अङ्क ६ सिंगलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं.१५९ आदेश भएको मिति : २०३९।६।१०।१ मा निवेदक : अधिवक्ता श्री बिष्णुप्रसाद भट्टराई विरुद्ध विपक्षी : सम्माननीय प्रधान मन्त्री श्री सूर्यबहादुर थापा समेत विषय : अदालतको अवहेलना (१) कसैको हक हितमा आघात भएमा कानून बमोजिमको उपचार प्रदान गर्न राज्यमा अदालतको स्थापना भएको हुन्छ । न्यायको पवित्र प्रवाहबाट त्यसको तिर्खा मेट्ने सुअवसर सबैलाई उपलब्ध छ । तर कसैले यसको उपभोग गर्दैन भन्ने कुराले यसको गति मन्द हुने होइन। जबसम्म यो स्वच्छ रुपमा निरन्तर प्रवाहित भइरहेको हुन्छ । यसको गतिमा कुनै कुराले अवरोध उत्पन्न गर्दैन, तबसम्म अदालतको गरिमामा आघात पर्यो भन्न सकिने स्थिति हुँदैन । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : आदेश न्या.धनेन्द्रबहादुर सिंह १. अदालतमा चौविस घण्टा धाएर तारेख खेप्ने पक्षमा आफू नरहेको र त्यस प्रकारको मुद्दामा लाग्ने आफ्नो बानी नभएको कुरा पनि श्री थापाले बताउनु भयो भन्ने कुरा २०३९ भाद्र ३ गतेको गोरखापत्रमा प्रकाशित भएकोमा उक्त पत्रिकाको सम्पादकलाई समेत विपक्षी बनाई अदालतको अवहेलनामा सजाय गरी पाउँ भनी प्रस्तुत निवेदन पर्न आएको छ । २. निवेदक र निवेदक तर्फका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले चौविसै घण्टा धाएर तारेख खेप्ने पक्षमा आफु नरहेको भन्ने वाक्यांशले अदालतको अवहेलना हुन गएको छ । किनभने, अदालतमा मुद्दा गरे पछि तारेख खेप्नु पर्छ र तारेखको सिलसिलामा अदालतमा चौविसै घण्टा उपस्थित भई रहनु पर्छ भन्ने यो भनाईको अर्थ हो अदालत १० देखि ५ या ४ बजे सम्म मात्र खुल्छ भने चौविसै घण्टा अदालतमा उपस्थित हुनु पर्छ भन्ने कुरा अदालतलाई ब्यंग गरेको भयो, अदालतलाई निचा देखाएको हुन्छ । तसर्थ, यो अदालतको अवहेलना भयो भन्ने बहस प्रस्तुत गर्नु भएको छ । ३. अदालतको मान मर्यादा र यसको भव्यता सदा कायम रहोस् भन्ने जनभावनाको परिपूर्ति गर्न र त्यसको सुरक्षा गर्न अदालतको अवहेलनामा कारवाही चलाई दोषीलाई दण्डित गर्ने अधिकार प्रयोगमा ल्याइने कुरा हो । निवेदन जिकिरबाट सो कुरा देखिन्छ देखिँदैन हेर्नु पर्ने हुन आएको छ । ४. सर्वप्रथम उक्त गो.प.मा प्रकाशित समाचार के कस्तो प्रकारको छ हेरौं । निवेदनमा चौबिस घण्टा धाएर तारेख खेप्ने पक्षमा आफू नरहेको भन्ने वाक्यांशले अदालतको अवहेलना हुन गएको भनिएको छ । उक्त गो.प.मा प्रकाशित सो सम्पूर्ण लेखको अवलोकन गरी उक्त वाक्यांशको सन्दर्भ र अभिप्राय पहिल्याउनु पर्ने हुन्छ । उक्त लेखमा अदालतमा २४ घण्टा धाएर तारेख खेप्ने पक्षमा आफू नरहेको र यस प्रकारको मुुद्दामा लाग्ने आफ्नो बानी नभएको कुरा पनि श्री थापाले बताउनु भयो भन्ने लेखिएको छ । उक्त लेखको अवलोकनबाट मुद्दा नगर्ने भन्ने कुरा व्यक्त गरेको र मुद्दा नगर्नुको कारणमा प्रथम अदालतमा चौविस घण्टा धाएर तारेख खेप्ने पक्षमा नरहेको दोश्रा मुद्दा लड्ने बानी नभएको भन्ने कुरा दर्शाएको देखिन्छ । ५. मुद्दामा तारेखमा बस्नु पर्छ भन्नेमा दुई मत हुन सक्ने कुरा होइन । चौविस घण्टा धाएर भन्ने कुरा कुन सन्र्दभमा प्रयोग भएको हो भन्ने हेरौं । वालकृष्ण शर्मा लिखित नेपाली शब्द कोषमा “धाउनु” शब्दको अर्थ कुनै काम सिद्ध गर्न बारम्बार जानु, टाढा देख