निर्णय नं. १५७४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५७४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३९/०६/२४ २५०५ निर्णय नं. १५७४ ने.का.प. २०३९ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०३८ सालको रि.नं. १४८१ आदेश भएको मिति : २०३९।६।२४।१ मा निवेदक : का.जि.का.न.पं.वडा नं.३३ मैतीदेवी बस्ने त्रि.वि.वि.कानून अध्ययन संस्थानको उपप्राध्यापक हाल सहायक डिन श्यामकान्त सिलवाल विरुद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय सेवा आयोग त्रिपुरेश्वर काठमाडौं विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) राष्ट्रिय शिक्षा समिति ऐनले दिएको अधिकार प्रयोग गरी त्रिभुवन विश्वविद्यालयलाई सो राष्ट्रिय शिक्षा समितिद्वारा विवादास्पद पदमा आवश्यक थपघट तथा सुधार मिलाई निर्देशन दिने अधिकार भएको नै देखिँदा सो अनुरुप दिएको निर्देशन कानून बमोजिम नै देखिने । (प्रकरण नं. १९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह र विद्वान अधिवक्ता श्री नारायणबल्लभ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधार आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी विपक्षी त्रिभुवन विश्वविद्यालय सेवा आयोग मिति ०३८।७।३० को सिफारिस बदर गरी पाउँ भनी रिट निवेदन मिति ०३८।१०।१५।५ मा दर्ता भएकोरहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन : उपर्युक्त विषयमा त्रि.वि.वि.सेवा आयोगले गत ०३७ साल श्रावण २१ गते प्रकाशित गरेको बिज्ञापन नं.१।०३७ अनुसार कानून अध्ययन संस्थानको लागि सहप्राध्यापक पद पूर्तिको आह्वान गरिएको र म समेत ६ जना योग्य उम्मेदवारहरुले सो पदको लागि निवेदन दिएको थियौं । सो पदपूर्ति गर्ने सिलसिलामा कानून अध्ययन संस्थानले सहप्राध्यापक पदको लागि ४ पद स्थायी पूर्तिको लागि माग फाराम भरी मिति ०३७।३।३० को पत्रद्वारा त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा पठाइएको थियो । सोही आधारलाई दृष्टिगत गरी २०३७ साल श्रावण २१ गते विज्ञापन आह्वान गरिएको हो । सोही विज्ञापनको सम्बन्धमा २०३८ साल आश्विन ५ गतेमा म समेत ६ जनाको अन्तरवार्ता लिइयो । त्यसको करिव एक महिना २५ दिनमा अर्थात २०३८ साल कात्र्तिक ३० गते यो विज्ञापन यो नतिजा प्रकाशित गरी केवल १ जना श्री टोपबहादुर सिंहलाई मात्र छानियो । जबकि ४ जवानको लागि पद खाली छँदै छ । शिक्षण संस्थानको उच्च शैक्षिक पदको लागि चाहिने सबै योग्यता भएको उम्मेदवारहरु मध्ये त्रि.वि.वि.कानून अध्ययन संस्थानका सबै भन्दा पुरानो शैक्षिक योग्यता कानूनमा दुइवटा माष्टर डिग्री भएको, आफ्नो क्षेत्रमा अनुसन्धान कृतिहरु गरेको र आर्टिकलहरु लेखी प्रकाशन गरी पठन–पाठन गरी आएको म एक उपप्राध्यापकलाई आज ७।८ बर्षदेखि खाली रहन आएको कानूनको सहप्राध्यापक पदमा नियुक्ति गरिएन । अतः यस सम्मानित सर्वोच्च अदालतको असाधारण क्षेत्रको शरणमा आएको छु । ३. त्रिभुवन विश्वविद्यालय नियमहरुको परिच्छेद १४ को नियम १४.५ मा विश्वविद्यालय सेवा आयोगको काम कर्तव्य र अधिकारको व्यवस्था गरिएको पाइन्छ । सोही नियम १४.५ को १ मा शिक्षकको नियुक्तिको सिफारिस गर्ने छ भन्ने नियम १४.५.२ मा एउटा मूल्यांकन विधि अपनाउनु र उम्मेदवारलाई परीक्षा गर्नेछ । म निवेदक एल.एल.एम., एम.सि. एल.परीक्षा पास भएको उपप्राध्यापक हुनुको सा