निर्णय नं. ४३८६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३८६ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/१९ २५०१ निर्णय नं. ४३८६ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. २५८ सम्वत २०४७ सालको फौ.सा.नं. ८९ फैसला भएको मिति : २०४८।१०।१९।१ मा पुनरावेदक/प्रतिवादी: कारागार शाखा पाल्पामा थुनामा रहेको शिवे भन्ने गोविन्दबहादुर चन्द ठकुरी विरुद्ध विपक्षी/वादी : रामबहादुर चन्दका जाहेरीले श्री ५ सरकार मुद्दा : कर्तव्य ज्यान (१) लास जाँच मुचुल्काबाट धारीलो हतियारको प्रहारबाट मरेको कुरा पुष्ट्याई भएको पाइन्छ, प्रतिवादीको प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाण चस्मदिद व्यक्तिको बकाईबाट समर्थित भएको अवस्थामा शंका छ र शंकाको सुविधा अभियुक्तले पाउनु पर्छ भन्ने बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. ३०) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना (साविक पेज नं. ६२१) फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।८।१८।१ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदन परी तथा साधकको लागि समेत पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकार छ । २. मेरी बुढी आमा (बज्यै) वर्ष ६३ की हिरकुमारी चन्द ठकुरी र काम गर्न बसेकी वर्ष ११ की मनी जैसिनीलाई लिई छुट्टै बस्ने गर्नु भएको थियो । २०४४।५।२ गतेको राती निज बज्जैको घरमा गुहार भनी आवाज सुनी जाँदा नमालुम कहाँ बस्ने को बदमास आई बजै हिराकुमारी र मनी जैसिनीलाई टाउको, घाँटी, पाखुरा समेतमा खुकुरी वा हसियाँले हानी मरणासन्न अवस्थामा पुर्‍याएको रहेछ उपचार गर्न तरखर गर्दा गर्दै बजैको मृत्यु भएको र मनी जैसिनीलाई झिवाखोला हेल्थपोष्टमा पठाई जाहेर गरेको छु भन्ने रामबहादुर चन्दको जाहेरी दर्खास्त । ३. मृतकको ३ तले घरको भित्र भुँई तल्लामा परालको गुन्द्री र थाङना सिरक रहेको गुन्द्री र सिरक रगतले मुछिएको अगेनादेखि पश्चिम पट्टी उत्तर दक्षिण गरी काठको खाट विछ्याएको विस्तरामा उत्तर सिरान गरी उत्तानो परी रहेको मृतक हिराकुमारीको लास, भुँइमा रगत बगेको मुख बन्द दुवै हात खुम्च्याई कुममा राखेको बायाँ कानको बीचबाट कान र गाला समेत काटी बड्डारा देखिएको ५ इन्च लामो २ इन्च गहिरो काटिएको घाउ बायाँ कान माथि टाउकोमा ३ इन्च लामो धारिलो हतियारले काटेको घाउ रहेको दुवै आँखा बन्द रहेको नाकमा पनि काटिएको घाउ, बायाँ पाखुरामा ३ ठाउँमा काटेको घोचेको ठूलो घाउ भई रगत बगेको दायाँ हातको पाखुरामा ३ ठाउँमा काटेको घाउ पिठमा काटेको ३ घाउ भएको भन्ने समेत व्यहोराको मृतकको लाश प्रकृति मुचुल्का । ४. म हिराकुमारीको घरमा काम गर्न बसेकी थिएँ । कहिले काँही १।२ रातको लागि बाबु आमाको घरमा जाने गर्थे २०४४ साल भाद्र १ गते घरमा जान्छु भन्दा नजाउ म एक्लै हुन्छु भनेकी थिइन मैले जिद्दी गर्दा निजले मलाई दिएको कपडा पनि खोसिन मैले घरमा गई आमालाई भने भोलिपल्ट हिराकुमारीको घरमा गयौं कपडा दिने भइन र आमा घरमा फर्कनु भयो । म त्यही बसें । साँझ खाना खाई हिराकुमारी खाटमा र म अगेना नेरको विस्तरामा सुते राती कुन समयमा हो हिराकुमारी ऐया भनी कराएको सुनी निन्द्राबाट बिउँझी को हो भनी हेर्दा हिराकुमारीकै नाती शिवे भन्ने गोविन्दले लाइटबाली काट्दै गरेको देखि ए दाइ किन काट्छौ भन्दा पनि नमानी हानेकाले दाइ मलाई नहान म कसैलाई भन्दिन मलाई नहान भन्दा पनि हान्न खोजेकोले म दक्षिण ढोकाबाट निक्ली भागी