निर्णय नं. ४३८८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३८८ - अंश भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४७/१०/०१ ३०३१ निर्णय नं. ४३८८ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ६९२ फैसला भएको मिति: २०४७।१०।१।३ मा पुनरावेदक/वादी : नवलपरासी जि.कावास्वती गा.पं.वार्ड नं. ३ बस्ने केदारनाथ पाध्या विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने हेमराज उपाध्यायसमेत मुद्दा : अंश (१) जस्ले जुन कुराको दावी लिन्छ सो दावी प्रमाणित गर्ने भार त्यस्तो दावी लिने उपर नै हुने । (प्रकरण नं. १७) (२) अंशियार अंशियार वादी र प्रतिवादीको बीच सुक्री बिक्री भएको देखिँदा अंश बण्डा भएको छैन अंश पाउँ भन्ने वादी पुनरावेदकको कथनसंग सहमत हुन नसकिने । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना अवलम्बित नजीर : ने.का.प. ०३८, अंक ११, पृष्ठ २९ । फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षी पिता हिरालालका २ श्रीमतीमा कान्छीतर्फ शिवलाल, मिनराज, टोपराज र बुद्धिराम, जेठीतर्फ प्रतिवादी हेमराज, कुलराज तथा म फिरादी हुँ हाम्रो पहाडमा प्यूठान र मदेश तराइमा गोश्वारा सम्पत्ति थियो । २०२८ सालमा छुट्टी भिन्न भई कान्छी आमातर्फका छोरा शिवलाल समेत पहाड प्यूठानमा र हामी मदेशमा रहेका, विपक्ष दाजु र भाइ टाठा बाठा भई खेती गर्न निमित्त कृषि विकास बैंकबाट ऋण सहुलियत हुन्छ भनी आ–आफ्ना नाउँमा दर्ता गराउँदा नरम गरम नमिलाई बढी जग्गा राखेका थिए । यस्तैमा ०४०।२।२२ गतेका दिन विपक्षी पितासंग अंश माग्दा ०२८ सालमा नै जेठीतर्फका छोराहरुको तीन अंश हेमराजले बुझेको कान्छी तर्फको र मेरो अंश मैले बुझेको कागज छ, जस्का नाउँमा जे जति जग्गा छ, त्यो नै अंश हो । अरु अंश दिन बाँकी छैन जाने बुझेको गर भनी जवाफ दिएकाले हामीहरुका बीच अंश बण्डा नभएको र केवल मानो छुट्टी भिन्न भएकोले अंश बण्डाको २०।२३ नं. बमोजिम विपक्षहरुबाट तायदाती फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. विपक्ष वादीसंग म समेतका अंशियारा ०२८ सालमा छुट्टी भिन्न भई आ–आफ्नो अंश भागको जग्गा पहाड तिरबाट बेची जग्गा जमीन खरिद गरेका छन् सो मध्ये विपक्षले ०३२ र ०३६ सालमा कुलराजसंग ३ कित्ता जग्गा राजीनामा पारीत गराई लिई भोगी आएका छन् । मैले पनि उक्त बमोजिम पहाडको जग्गा बिक्री गरेका र आफ्नो मेहनत र परिश्रमका (साविक पेज नं. ६३३) साथ आर्जन गरेको सम्पत्तिबाट जग्गा खरिद गरेको त्यसरी खरिद जग्गा मलाई बढी भयो भनी झुठ्ठा फिराद गरेका मात्र हुन् अंश बण्डा भइसकेको बण्डापत्रको कागज नभए तापनि विपक्षलाई मैले अंश दिनुपर्ने बाँकी छैन भन्ने समेत व्यहोराको प्रतिवादी हेमराज उपाध्यायको प्रतिउत्तरपत्र । ४. म समेतका ३ भाइका बीच अंश बण्डा भएका छैन, हामी ज–जस्का नाउँमा दर्ता भएको जग्गा भए पनि ३ भाग बराबर बण्डा लाग्ने हो भन्ने समेत प्रतिवादी कुलराज उपाध्यायको प्रतिउत्तरपत्र । ५. जेठी श्रीमतीतर्फका छोरा हेमराज, कुलराज र वादीका बीच अंश बण्डा भइसकेको हो । वादीको अंश भागको जग्गा हेमराज जिम्मा छ, निजबाट अंश पाउने हुन् पहाडको सम्पत्ति बिक्री गरी मधेशमा आर्जन गरेको जग्गा निज ३