निर्णय नं. ४३९३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३९३ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/१५ ३१२५ निर्णय नं. ४३९३ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल २०४७ सालको फौ.पु.नं. २९२ फैसला भएको मिति: २०४८।१०।१५।४ मा पुनरावेदक/वादी : शर्मानन्द ढुंगानाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.खोटाड्ड विजयखर्क गा.वि.स.वा.नं.४ बस्ने नारायणप्रसाद ढुंगाना मुद्दा : कर्तव्य ज्यान (१) एकजनाले मात्र मृतक लाश बोकी लगी मुचुल्कामा वर्णित अवस्था हुने गरी झुण्डयाउन सक्ने सामान्य स्थिति मान्न नमिल्ने । (प्रकरण नं. २४) (२) शुरु जाहेरी दर्खास्त आफैंले पासो लगाई झुण्डिई मरेको भनी उल्लेख गरेको, काजकृया सदगत समेत आत्महत्याको रुपमा भएको सम्झी सम्पन्न गरिएकोले पोष्टमार्टम हुन नपाएको अवस्था हुँदा मारेर झुण्डयाइएको हो भन्ने कुरा निश्चयात्मक रुपले भन्न नसकिने । (प्रकरण नं. २६) पुनरावेदक, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी श्री ५ को सरकारको तर्फबाट दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. ०४४।५।१६ गते मेरी श्रीमती छोरा नारायणप्रसाद समेत बारीमा दिनभर सुढुनी रोपी बेलुका घरमा आउँदा श्रीमती घरमा छैन भनी छोराले भनेकाले रातभर खोजतलास गर्दा फेला नपरेको र भोलिपल्ट १७ गते (साविक पेज नं. ६५१) बिहान ऐ.वा.नं. ४ बस्ने अविनारायणको छोरीले सावित्रा ढुंगाना मरेको कुरा गाउँमा हल्लाखल्ला गरेकोले गई हेर्दा अविनारायणको बारी पुछारमा खनिउको रुपमा नामलाको बरीयाको पासो लागी झुण्डि मरेको लाश फेला पारी लाश सुरक्षा राखी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको जाहेरी । ३. तुरतुरेखोला पूर्व अविनारायणको बारी पश्चिम अविनारायणको बारी दक्षिण वासुदेवको बारी तुरतुरेखोला उत्तर रहेको खनिउको बोटमा झुण्डिएको सावित्राको लाश घाँटीको डोरी खोली हेर्दा नागवेली आकारको डाम भएको आँखा दुवै बन्द भएको जिब्रो केही बाहिर निस्की दाँतले टोकेको योनीबाट सेतो पदार्थ निस्केको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. जाहेरवाला निजकी श्रीमती तथा ज्वाई समेतले २०४४।५।१६ गते छोरी सावित्रालाई मकै चोर लगाएको भनी छलफल गरिदिनु पर्‍यो भनी छोरीले सो १६ गते बेलुका हाम्रो बेसी गोठमा आई भनेको सो पछि सो बेलुका राती ज्वाई मेरो घरमा आई तेरो छोरी आज देखि चाहिंदैन, मारेर सरजमीन गराउन सक्छु भनी भनेको हुँदा मेरो छोरी सावित्रालाई जाहेरवाला शर्मानन्द, थासे र नारायणप्रसादले कर्तव्य गरी मारेको शंका लाग्छ भनी राधादेवीले प्रहरीमा गरेको कागज । ५. लाशको प्रकृति हेर्दा आफैं आत्महत्या गरी मरे जस्तो लाग्छ, कर्तव्यमा कुनै उपर शंका लाग्दैन भन्ने पद्मप्रसाद ढुंगानाले प्रहरीमा गरेको कागज । ६. २०४४।५।१६ गते रातभर मृतक सावित्रालाई म समेत भई नारायणप्रसादसंग खोजतलास गर्दा फेला नपरेकी भोलिपल्ट बिहान खनिउको रुखमा झुण्डी मरेको लाश फेला परेको हुँदा र लाशको प्रकृति हेर्दा आफैं आत्महत्या गरी मरेको जस्तो लाग्छ, कर्तव्यमा कसै उपर शंका लाग्दैन भन्ने समेत काशीरामले प्रहरीमा गरेको कागज । ७. ०४४।५।१६ गते बेलुका ४ बजेको समयमा सावित्रा छोरी बोकी आइरहेको देखी कहाँ जाने भन्दा मलाई मकै चोर लगाए, छलफल गरी माग्न माइतीहरुलाई लिई आउँछु भनी गएको र म गोठमा आउँद