निर्णय नं. ८५४७ - वैदेशिक रोजगार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५४७ - वैदेशिक रोजगार भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/०८/२८ २९५६ निर्णय नं. ८५४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय संवत् २०६६ सालको रिट निवेदन नं. –०४१८ आदेश मितिः २०६७।८।२६।१ विषय :– उत्प्रेषणयुक्त प्रतिषेध समेत । निवेदकः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं.३ शंकरपुर बस्ने ज्ञानबहादुर बुढाथोकी समेत विरुद्ध विपक्षीः ऐ.ऐ. वडा नं. ६ वस्ने पदमकुमारी बुढाथोकीको मु.स.गर्ने मोहनबहादुर बुढाथोकी समेत § आफ्नो आमाले दिएको हक कायम मुद्दा निजले सकार गरेको र सो मुद्दामा यस अदालतले पुनरावेदिका समेतको अपुताली भाग कायम हुने गरी ५ भागको १ भाग पाउने भनी फैसला गरेबाट एक भाग अपुताली हक निजको छोराले पाउने । (प्रकरण नं.५) § मुद्दा कारवाहीको क्रममा कानूनबमोजिम मृतकको तर्फबाट मुद्दा सकार गरी मृतकको हकमा भएको फैसलापश्चात् त्यस्तो फैसला कार्यान्वयनको चरणमा कुनै तात्विक परिवर्तन नआएको अवस्थामा फैसलामा उल्लिखित स्पष्ट र सोझो अर्थ आउने गरी त्यसको कार्यान्वयन गरिनु पर्दछ । यसको अतिरिक्त कार्यान्वयन गर्नुपर्ने मुद्दा अंश मुद्दा पनि नभै अपुताली हक कायम नामसारी भएकोले सो मुद्दाको वादीको मृत्युपछि निजको हक पहिला नै छुट्टी भिन्न भएका अंशियारहरूमा जान नसक्ने । § अपुताली हक अंश हक जस्तो सबै जीवित अंशियारमा सर्न सक्ने पनि होइन । त्यस्तो हक निजको अपुताली खाने हकदारमा नै जाने हुन्छ । यही नै अपुतालीसम्बन्धी कानूनी व्यवस्था भएकोले छोरा भएको नाताले सो हक पाउने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कुमुदकुमार भटृराई विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री बद्रीप्रसाद पाठक अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदन सहित मुद्दाको ठहर यस प्रकार छः– पुनरावेदन अदालत विराटनगरले मिति २०५३।१०।२० गते २०५१ सालको दे.पु.नं. १९३९ को अंश मुद्दा फैसला गर्दा व्यवहार प्रमाणले वादी प्रतिवादीहरू अघि नै छुट्टी भिन्न भएको भन्ने पुष्टि हुन्छ भनी वादी प्रतिवादीहरूको संयुक्त नाउँमा रहेको अबण्डा जग्गाहरूको दर्ता फुटाई आ–आफ्नो नाउँमा जग्गा दर्ता गर्न वादी प्रतिवादीलाई कानूनले हक प्रदान गरेको हुँदा त्यसतर्फ केही बोली रहनु परेन । बाबु दानबहादुर बुढाथोकीको अंश भागमा परेको निजको नाम दर्ताको जग्गा बाबुको शेषपछि अपुतालीको रोहबाट वादी प्रतिवादीहरूले कानूनअनुसार आ–आफ्नो हक कायम गराउन सक्ने हुँदा त्यस सम्बन्धमा पनि निर्णय गरी रहनु परेन भनी भएको फैसला नै अन्तिम भएर रहेको छ । उक्त फैसलाबमोजिम पिता दानबहादुर बुढाथोकीका नाउँ दर्ताको जग्गा नामसारी गर्न उक्त मुद्दाको हामी वादी प्रतिवादीले कारवाही चलाउँदा प्रत्यर्थी पदमकुमारी बुढाथोकी र मोहनबहादुर बुढाथोकी समेतले नामसारीमा दावी गरेको हुँदा मालपोत कार्यालय मोरङ्गले मिति २०५६।२।२३ मा आफ्नो हक कायम गरी ल्याउनु भनी निर्णय गरेबमोजिम प्रत्यर्थी पद्मकुमारी बुढाथोकी, मोहनबहादुर बुढाथोकी र निवेदक नथुबहादुर बुढाथोकीको हक कायममा मोरङ्ग जिल्ला अदालतमा छुट्टा–छुट्टै फिराद दायर भएकोमा तह तह हुँदै प्रत्यर्थी पदमकुमारी बुढाथोकीले सम्मानीत सर्वोच्च अदालतमा पुनरावेदन पत्र दायर गर्नु भएकोमा उक्त मुद्दा चल्दाचल्दैको अवस्थामा पद्मकुमारी बुढाथोकीको मृत्यु भयो ।