निर्णय नं. ७२०१ - घर भत्काई खिचोला मेटाई चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२०१ - घर भत्काई खिचोला मेटाई चलन भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०५/१५ ३७५० निर्णय नं.७२०१ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५६ सालको दे.पु.नं. ... ६१३९ फैसला मितिः २०६०।५।१५।२ मुद्दाः – घर भत्काई खिचोला मेटाई चलन । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही वुटवल न.पा. वडा नं. ५ वस्ने तुल्सीराम घिमिरे विरुद्ध विपक्षी वादीः जिल्ला कपिलवस्तु तौलिहवा न.पा.वडा नं. २ वस्ने मोतीलाल पौडेल § जुनसुकै मुद्दामा हदम्याद सम्वन्धी प्रश्नले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । नगरपंचायत क्षेत्रमा फिराद दावी अनुसार प्रतिवादीले निजको जग्गा चापी २०४४ सालमा घर वनाउन थालेको भए सम्वन्धित नगरपंचायतमा नगरपचायत ऐन, २०१८ को दफा ४८ अनुसार मौकामा उजुरी गरी घर वनाउन रोक्का पनि गरेको नदेखिंदा वादीको फिराद दावी मुलुकी ऐन घर वनाउनेको महलको ११ को हदम्याद नाघी दायर भएको देखिंदा सो फिराद दावी अ.वं. १८० नं. वमोजिम खारेज हुने । (प्र.नं. १६ र १७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सीताराम तिवारी विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ वमोजिम मुद्दा दोहोर्याई दिए अनुसार पुनरावेदन दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ : – २. जिल्ला रुपन्देही वुटवल नगरपालिका वडा नं ५ कि.न. २७५ को क्षेत्रफल ०–०–१० जग्गा उमा शंकर चौधरीवाट मिति २०३४।४।९ मा छोडपत्र पारित गरी लिएको मिति २०४४।९।१० गते मेरो जग्गाको उत्तर पश्चिम तर्फवाट विपक्षी तुल्सीराम घिमिरेले अ.पुर्व पश्चिम लम्वाई २० फिट उत्तर दक्षिण चौडाई १२ फिट भएको जग खनी घर वनाउन शुरु गरेको कुरा साक्षी मध्ये त्रिलोचन वस्यालले खवर पठाएको र वुटवल आई जग्गा हेर्दा १ फिट गाह्रो उठाई सकेको र उक्त वनाउन लागेको घर नाप नक्सा गर्दा पूर्व पश्चिम लम्वाई २० फिट मध्ये १५ फिट र उत्तर दक्षिण चौडाई १२ फिट मेरो जग्गा मिची २०४४।९।२१ गते पक्की घर तयार गरी दक्षिण किनारामा २०४४।९।२२ मा पाइखाना वनाई ऐ २३ गते पाइखाना समेतलाई भित्र पारी अढाई फिट अग्लो ढुगाको पर्खाल लगाई मेरो जग्गाको पश्चिम तर्फवाट पूर्व पश्चिम चौडाई १५ फिट उत्तर दक्षिण १२ फिट जग्गामा घर पाईखाना र पर्खाल वनाई हटक खिचोला गरेकोले घर भत्काई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद दावी । ३. विपक्षीले दावी लिनु भएको जग्गा कुनै व्यक्तिको स्वामित्व नभएको सार्वजनिक वाटो घाटो डहर जग्गा हो सो जग्गा विपक्षी र उमा शंकरले आफ्नो स्वामित्वमा ल्याएको कुरा फिरादपत्रको व्यहोरालाई अवगत गर्दा म आश्चर्य चकित भएको छु । विपक्षीले दर्ता गराएको जग्गा निजकै स्वामित्वको ठहरिएमा पनि विपक्षीको जग्गा मिची मैले घर पाइखाना समेत वनाएको छुइन । मेरो आफ्नै जग्गा कि.नं १२२ को २ कठ्ठा जग्गा भित्र वनाएको छु, सो घर २०२१ सालमा मेरो जग्गामा सव भन्दा पहिला वनाएको घर हो । घर पाइखाना र गाह्रो समेत ०४४ सालमा वनाएको होइन । वादीको दावी सरासर झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. वादीको साक्षी प्रेमप्रसाद शर्मा (ढकाल), प्रतिवादीको साक्षी हरिप्रसाद उपाध्यायले गरेको वकपत्र मिसील सामेल रहेको । ५. मिति२०४५।११।२८ को नाप नक्सा मुचुल्का मिसील सामेल रहेको । ६. मिति २०४६।९।९ को आदेशानुसार मिति २०४७।३।२१ मा नाप नक्शा मुचुल्का भएको ।