निर्णय नं. ७२१६ - जवरजस्तीकरणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२१६ - जवरजस्तीकरणी भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०१/२५ ४१०९ निर्णय नं.७२१६ ने.का.प.२०६० अङ्क ५.६ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्बत् २०५७ सालको फौ.पू.ई.नं. ....१५ फैसला मितिः २०६०।१।२५।५ मुद्दा :– जवरजस्तीकरणी । पुनरावेदक वादीः कान्छी राउतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला मल्पी गा.बि.स. वडा नं. ७ बस्ने राजेश के.सी समेत § वारदात सम्बन्धी सम्पूर्ण कुराहरुलाई दृष्टिगत गर्दा चरित्र सम्बन्धमा कोही कसैवाट लाञ्छना लगाउन नसकेको जाहेरवाली जस्ती एक छोरा र दुई छोरी सन्तान भएकी महिलाले आफ्नो र आफनो परिवारको इज्जतमा आँच आउने प्रकृतिको र त्यसमा पनि आफ्नो छोरा विरामी भै श्रीमान इलाज गर्न गएको चिन्ता र पीडाको समयमा नभए नगरेको कुरा गाउँ घरका मानिसलाई भन्दै हिड्नु पर्ने कुनै कारण देखिन नआउने । § अनुसन्धानको क्रममा दिएको जाहेरीमा र अदालतमा आई वकपत्र गर्दा जाहेरवालीको कथनमा केही झिनामसिना कुरा फरक परेको कुरालाई अस्वभाविक मान्न नमिल्ने । § पीडित जस्तो गाउंकी एउटी अशिक्षित महिलाले जवरजस्ती करणीको वारदातको सम्बन्धित सम्पूर्ण कुराहरु पटकै पिच्छे सिलसिलाबध्द रुपले भन्न नसक्ने अवस्था पनि हुन सक्छ । त्यतिमात्र कारणले उपरोक्त अवस्थाको एउटी पीडित महिलाले भनेको कुरामा असंगति रहेको भनी जवरजस्तीकरणीको वारदात नै नभएको तथा निजको व्यहोरा झुठ्ठा हो भन्ने सम्मको निष्कर्षमा पुग्न नसकिने । § प्रतिवादी राजेश के.सी. ले जाहेरवाली राधा भन्ने कान्छी राउतलाई जवरजस्तीकरणी गरेको ठहर्‍याई निज प्रतिवादीलाई अभियोग मागदावी वमोजिम मुलुकी ऐन जवर्जस्ती करणीको महलको ३ नं. अनुसार तीन वर्ष कैद सजाय र सोही महलको १० नं. अनुसार निज प्रतिवादीको आधा अंश सर्वश्व गरी पीडित जाहेरवाली राधा राउतलाई भराई दिने समेत ठहर्‍याएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सो हद सम्म मनासिव ठहर्ने । (प्र.नं. ३२ र ३३) पुनरावेदक वादी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण सापकोटा अवलम्वित नजिरः फैसला प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनवाट मिति २०५३।२।१ मा भएको फैसला उपर न्यायप्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पर्न आएको पुनरावेदन निर्णयार्थ पेश हुंदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत निमयावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ : – २. मिति ०५०।१०।८ गते राति राजेश के.सी.मेरो घरमा आई सामान राखि देउ भनि ढोका खोल्न लगाएकोले मैले ढोका खोली के सामान राख्ने भनि भन्दा राजेश के.सी.प्रमोद के.सी. समेत घर भित्र पसी मेरो मुख थुनी भर्‍याङमुनि लडाई पालै पालोसंग जवरजस्तीकरणी गरेको हुंदा कानून वमोजिम कारवाही गरी पाऊ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. मिति २०५०।१०।८ गते राति राजेश के.सी.समेतले जाहेरवाला राधा भन्ने कान्छी राउतलाई जवरजस्तीकरणी गरेछन भनि लक्ष्मी नारायण ताम्राकारले भनेबाट थाहा पाई जाहेरवालाको घरमा गई सोधपुछ गर्दा निजले समेत उल्लेखित कुरा भनेकाले थाहा पाएको हो भन्ने स