निर्णय नं. ७२५० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२५० - उत्प्रेषण भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०७/०४ २७१८ निर्णय नं.७२५० ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०५७ सालको रिट नं. .....३४०० आदेश मितिः२०६०।७।४।३ विषयः उत्प्रेषण । निवेदक जिल्ला सर्लाही फरहदवा गा.वि.स.वडा नं. ४ वस्ने हिरा सिंह दनुवार विरुद्ध विपक्षीः पुनरावेदन अदालत, जनकपुर समेत § प्रत्यर्थीले ०५५।१।२८ मा गराएको कपाली तमसुक भन्दा अगावै ०५४।११।१५ मा करारनामा भएकोले जेठो लिखतले मान्यता पाउनु पर्ने भन्ने समेत निवेदन दावी रहेको देखिएपनि निवेदकको करारनामाको लिखत भन्दा अगावै प्रत्यर्थीको कपाली तमसुक अदालतमा पेश भै लेनदेन मुद्दा दायर हुन गएको पाइदा घरसारमा भएको उक्त करारनामाको मिति सम्म कपाली तमसुकको भन्दा अघिको देखिएता पनि अदालत प्रवेश गरेको आधारमा कपाली तमसुकलाई नै जेठो मान्नु पर्ने । § दुवै लिखत घरायसको भएकोमा अघि अदालतमा प्रवेश गर्ने लिखत जेठो ठहर्ने भनी यस अदालत पूर्ण इजलासवाट सिद्धान्त प्रतिपादित भै रहेको पुष्ठिभूमि समेतवाट प्रत्यर्थीको भन्दा मेरो लिखत जेठो हुँदा मैले अग्राधिकार पाउनु पर्छ भन्ने निवेदन दावी कानूनसंगत नदेखिने । § अघि नै परेको लेनदेन मुद्दामा रोक्का भएको जग्गावाट पछि परेको करार मुद्दाको फैसला कार्यान्वयन हुने भनी रोक्का फुकुवा गर्न मिल्ने अवस्था समेत नदेखिंदा निवेदन माग वमोजिमको आदेश जारी गर्न नपर्ने । (प्र.नं. १२) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री विजयकुमार सिंह विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री सरोजनाथ प्याकुरेल अवलम्वित नजिरः नि.नं. १३८९, ने.का.प.२०३७, अंक ७, पृ.१३९ आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. म निवेदकसंग विपक्षी मध्येको राज नारायण सिंहले रु. ४५,०००। लिई निज नाउँ दर्ताको जि. सर्लाही ववरगंज गा.वि.स. वडा नं. ९ कि.नं. १७ को ज.वि. १.०.१६ को ईश्वरपुर वैंकमा रोक्का रहेको जग्गा २ वर्ष भित्र पारित गरि दिने शर्त राखि २०५४।११।१५ मा करारनामाको लिखत गरि दिनु भएको थियो । लिखत मिति देखि नै जग्गा भोगचलन गर्दै आएकोमा विपक्षीले करार वमोजिमको जग्गा हडप्ने उद्देश्यले उक्त जग्गा फुकुवा गराई केही विक्री गरी कि.का. भै कायमी कि.नं. ३९६ को ०.१३.१६ जग्गा विपक्षी भोला महतो संगको दे.नं. ६९७ को लेनदेन मुद्दामा रोक्का गराउनु भएको रहेछ । करारको भाखा भित्र जग्गा पारित गरि नदिएकोले विपक्षी राज नारायण उपर करार वमोजिमको जग्गा पारित गराई पाउँ भनी मैले दे.नं. १४१६ को मुद्दा दिएकोमा दावीको जग्गा वादीका नाउँमा पारित भई दा.खा. हुने ठहर्छ भनी सर्लाही जिल्ला अदालतवाट ०५७।४।२२ गते फैसला भएको छ । ३. उक्त फैसलावाट मेरो हक स्वामित्व प्राप्त भएको जग्गा द.स.को ४४ नं. वमोजिम मेरो नाउँमा दा.खा. पुर्जि हुने भनी फैसलाको तपसिल खण्डमा उल्लेख भएको छ । फैसलाले हक भएको जग्गा फुकुवा गरी पाउँ भनी सर्लाही जिल्ला अदालतका श्रेस्तेदार समक्ष निवेदन गरेकोमा फुकुवा गर्न नमिल्ने भनी ०५७।५।२९ मा आदेश भएकोमा सो आदेशलाई सर्लाही जिल्ला अदालतले मिति ०५७।६।११ र पुनरावेदन अदालत जनकपुरले मिति ०५७।९।६ मा सदर गरेकोवाट निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७(१) वमोजिम प्रदत्त हकमा आघात परेकोले यो निवेदन गर्न आएको छु । ४. अतः पु