निर्णय नं. ७२६९ - लिखत वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२६९ - लिखत वदर भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०९/२४ ३७०५ निर्णय नं.७२६९ ने.का.प.२०६० अङ्क ९.१० पूर्ण इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री वलिरामकुमार माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०६० सालको दे.पु.इ.नं. .....५५ फैसला मितिः २०६०।९।२४।५ मुद्दा :– लिखत वदर । पुनरावेदक प्रतिवादीः काठमाडौं जि.चम्पादेवी गा.बि.स. वडा नं. ५ वस्ने रामप्रसाद रावल समेत विरुद्ध विपक्षी वादीः काठमाडौं जि.काठमाडौं म.न.पा.वडा नं. २ वस्ने झलकवहादुर समेत § साविकको उल्लेखित कि.नं. १६५ को जग्गालाई चक्र कुमारीले २०१४ सालमा नरवहादुर खत्रीवाट फार्छेपत्र पारित गरी लिएको देखिन्छ । उक्त लिखत गराई लिएको जग्गा दाइजोवाट प्राप्त निजी आर्जन भनी प्रतिवादीहरुले जिकिर लिएकोमा उक्त २०१४ सालको पारित फार्छे पत्र हेर्दा सो कि.नं. १६५ को जग्गा चक्र कुमारीलाई दाइजो स्वरुप प्राप्त भएको भन्ने कुरा खुल्न आउदैन र निजको निजी आर्जनको भन्ने पनि उल्लेख भएको देखिंदैन । चक्रकुमारीले रु. ७१५०।– मा खरिद गरी लिएको भन्ने तथ्य लिखतवाट खुल्न आउंछ तर आफ्नो दाइजोको रकमवाट खरिद गरेको भन्ने लिखतमा कही कतै उल्लेख भएको नपाइने र अन्य कुनै तथ्यवाट पुष्टी हुन सकेको पनि नदेखिने । § मिति २०३७।९।१७ को लिखतमा निजी आर्जन भन्ने उल्लेख भएको र सो उपर वादीहरुको नालिस पर्न नआएको भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरुले आफ्नो वहसका क्रममा व्यक्त गर्नु भएको छ । उक्त २०३७।९।१७ को लिखतको कैफियत महलमा निजी आर्जनको भनी उल्लेख गर्दैमा सो सम्पत्ति आफूखुश गर्न पाउने निजी आर्जनको सम्पत्ति रहेछ भनी स्वत : अनुमान गर्न नमिल्ने । § मिति ०३७ सालको लिखत उपर वादीले नालेस उजुर नगरेको र उक्त कैफियत व्यहोरा वदर गराउन नसकेको भन्ने प्रश्नका सन्दर्भमा उक्त लिखत उपर दावी उजुर गर्नु नगर्नु वादीको स्वेच्छाको कुरा हो । एउटा संपत्ति पर दावी छाड्दैमा अन्य संपत्ति उपर दावी गर्न मिल्दैन भन्ने हुँदैन । यसका अतिरिक्त उक्त ०३७ सालको प्र.चक्र कुमारी आफैले गरी दिएको लिखतमा आफै निजी आर्जनको भनी प्रमाणित गर्न खोजेको देखिएको छ । आफ्नो कुरालाई आफैले भनेको कुराले प्रमाणित गर्दैन, अन्य तथ्य र स्वतन्त्र प्रमाणद्वारा पुष्टि गरिनु पर्दछ । प्रमाण कानूनको सिद्धान्त पनि यही हो । त्यसमा पनि अघिको तथ्यलाई पछि वनाइएको वा निर्माण गरिएको तथ्य प्रमाणले पुष्टि हुने पनि होइन । ०१४ सालको लिखतको संपत्तिलाई ०३७ सालको लिखतको व्यहोराले निजी आर्जन भनेर पुष्टि गरेको मान्न पनि नमिल्ने । § मिसिल संलग्न अन्य कुनै पनि सवुद प्रमाणहरुले आफू खुश गर्न पाउने निजी आर्जनको एकलौटी सम्पत्ति हो भन्ने कुरालाई पुष्टयाई गर्न नसकिरहेको स्थितिमा २०२३ सालमा वण्डापत्र हुँदा २०१४ सालमा चक्रकुमारीले प्राप्त गरेको जग्गा वण्डा नलागेको वा अवण्डा रहेको नदेखिएको भन्ने आधारबाट मात्रै सो सम्पत्ति चक्र कुमारीको निजी तवरले आफूखुश गर्न पाउने सम्पत्ति रहेछ भनी अर्थ गर्न मिल्दैन र आमा छोराका वीच वण्डा नलाग्ने संपत्ति हो भन्न नसकिने । § प्रतिवादीहरुले आफूखुश गर्न पाउने दाइजोबाट प्राप्त सम्पत्ति भनी जिकिर लिएको विवादित जग्गा २०१४।८।२१ मा चक्र कुमारीका नाउमा कायम हुन आएको र मुलुकी ऐनमा मिति २०३४।९।२७ मा सातौं संशोधन हुनु पूर्व सगोलमा रहे भएको अवस्थामा आर्जन गरिएको संपत्ति वण्डा लाग्ने भन्ने तत्कालको अंश वण्डाको १८ नं. को कानूनी व्यवस्थाको आधारमा समेत विवादित संपत्ति निजी आर