निर्णय नं. ७२९२ - उत्प्रेषण युक्त उपयुक्त आज्ञा आदेश जारी गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२९२ - उत्प्रेषण युक्त उपयुक्त आज्ञा आदेश जारी गरी पाउं भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११ फैसला मिति :२०६०/१२/१२ ३५७६ निर्णय नं.७२९२ ने.का.प.२०६० अङ्क ११.१२ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री बलिराम कुमार सम्वत् २०६० सालको रि.पू.ई.नं. ....५ फैसला मितिः २०६०।१२।१२।५ विषयः– उत्प्रेषण युक्त उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । निवेदकः जिल्ला महोत्तरी, वदिया वचौरी गा.वि.स.वडा नं. ९ वस्ने रामेश्वरप्रसाद साह सुडी विरुद्ध विपक्षीः पुनरावेदन अदालत, जनकपुर समेत § विगो भरीभराउको दरखास्त परेको ३५ दिनसम्म पर्खन नियमले गरेको अनिवार्यताको विपरीत सम्पत्ति जायजात गर्न डोरखटाएको हुनाले जिल्ला अदालत नियमावलीको नियम ७४(४) र मुलुकी ऐन दण्ड सजायंको ४२ नं. को उल्लंघन भएको देखिनुको साथै पञ्चकृते मोल कायम गर्दा नियम ७५(५) अनुसार नजिकको कुनै अड्डाको प्रतिनिधि राख्नु पर्ने अनिवार्यतालाई पनि पुरा गरेको नदेखिंदा नियमले तोकेको अनिवार्य प्रक्रियालाई पुरा गरी डाँक लिलाम नगरी गरेको डाँकलिलामको काम कारवाईमा माथि उल्लेख भएका कानूनी प्रावधानहरुको त्रुटी विद्यमान रहेको देखिने । § पहिलो पटक डाकलिलाम गर्दा नै साहुले सकार गर्न पाउने हो भने दोश्रो लिलाम बढाबढ हुंदा समेत कसैले सकार नगरेमा दुनियाको विगोको हकमा पञ्चकृते मोलमा निवेदकले समेत सकार गर्न नचाहेमा अर्को चोटि लिलाम गराई रहन पर्दैन भन्ने वाक्यांश नियमावलीको नियम ७५(७) मा उल्लेख हुनुपर्ने प्रयोजन नदेखिने । § ऐन नियममा प्रयोग भएको कुनै शव्द वा वाक्यांश निरर्थक वा प्रयोजनहीन रुपमा प्रयोग भएको हुंदैन । ऐन नियममा प्रयोग भएको शव्द वा वाक्यांशलाई निष्क्रिय तुलाउने गरी व्याख्या गर्नु पनि हुंदैन । यसरी पहिलो पटक डाकलिलाम गर्दा कसैले सकार नगरेमा दोश्रो पटक लिलामको सूचना निकाल्नु पर्नेमा त्यसो नगरी पहिलो पटककै लिलाममा विगो भरी पाउने पक्ष प्रत्यर्थीले लिलाम सकार गरेको जिल्ला अदालत नियमावली २०५२ को नियम ७५(७) अनुरुप भएको भन्न नमिल्ने । § जिल्ला अदालत नियमावली २०५२ को नियम ७४(५) को प्रक्रियागत त्रुटी गरी महोत्तरी जिल्ला अदालतको तहसिल फांटले मिति २०५८।१।१८ मा पहिलो पटक डाकलिलाम गर्दा नै प्रत्यर्थीले नियम ७५(७) को विपरीत सकार गरेको डाकलिलाम माथि उजूर पर्दा तहसिल फांटले मिति २०५८।१।१८ मा गरेको डाकलिलामलाई सदर गर्ने गरी जिल्ला अदालतले मिति २०५८।२।१९ मा गरेको आदेश तथा उक्त आदेश माथि अ.वं. १७ नं. अनुसार उजूर पर्दा पुनरावेदन अदालत जनकपुरले मिति २०५८।२।४ र मिति २०५८।३।२१ मा गरेको आदेश र महोत्तरी जिल्ला अदालतले प्रत्यर्थीलाई दिएको चलन पूर्जी समेत उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्र.नं. १५ देखि १७) निवेदकतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शंभु थापा र श्री इश्वरी भटृराई विपक्षीतर्फवाटः विद्वान वरिष्ठ अविधक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री नरहरि आचार्य अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ (२) बमोजिम परेको प्रस्तुत रिट निवेदनमा संयुक्त इजलासका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) अन्तर्गत पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं ठहर यसप्रकार छ :– २. विल्टेश्वर, रामचन्द्र र म ३ अंशियार रहेकोमा २ दाजुहरु उपर मैले दिएको अंश मुद्दा महोत्तरी जिल्ला अदालतमा विचाराधीन रहेको छ