निर्णय नं. ८५६१ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५६१ - भ्रष्टाचार भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/०६/११ ४५२९ निर्णय नं. ८५६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६२ सालको २०६२-CR–३७२२ फैसला मितिः २०६७।६।११ मुद्दा : भ्रष्टाचार । पुनरावेदक वादीः बिशेष प्रहरी विभागको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० बस्ने हर्षरत्न एण्ड सन्स फर्मका प्रोप्राइटर प्रत्येकरत्न ताम्राकार समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री डम्वरबहादुर शाही पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री गोविन्दकुमार उपाध्याय § नेपाल सरकारको ढुकुटीमा आई नसकेको रुपैयाँलाई यत्ति रकम राजस्वमा दाखिल हुन सक्थ्यो भनी अनुमान गरी सरकारी सम्पत्ति मान्न नमिल्ने । § कुनै व्यक्तिले राजस्वबापत यति रकम तिर्नु पर्दछ भनी पहिले नै अनुमान गरी सो व्यक्तिको निजी सम्पत्तिको निश्चित् भागलाई सरकारी सम्पत्तिभित्र पर्दछ भनी सम्झन नमिल्ने । (प्रकरण नं.२) § सरकारी सम्पत्ति हिनामिना गरेको भनी अभियोग लगाउने पक्षले सबैभन्दा पहिले हिनामिना भएको सम्पत्ति सरकारी सम्पत्ति हो भन्ने कुरा स्थापित गर्न सक्नुपर्ने । § दाखिला भैसकेको राजस्व नेपाल सरकारको सम्पत्ति भएको मानिन्छ भने दाखिला हुन बाँकी रहेको सम्पत्तिलाई नेपाल सरकारको सम्पत्ति मानी हाल्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी र विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरु श्री कमलनारायण दास, श्री हरिहर दाहाल, श्री शम्भु थापा, विद्वान अधिवक्ताहरु श्री इन्द्र खरेल, श्री सालिग्राम पाण्डे, श्री राजु वस्नेत, श्री राजु आचार्य र श्री हरिश्चन्द्र सुवेदी अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपाल अधिराज्यको संविधान , २०४७ धारा ९८(५) § भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा ३, ७(१) र १३ फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालत समक्ष पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– वैदेशिक हुलाक भन्सार कार्यालयबाट नियमानुसार भन्सार जाँच पास गरी सामान बाहिर लग्न लाग्दा भन्सार विभागका निमित्त निर्देशकले त्यसरी कार्यालय बाहिर लिएर जान लागेका शिवहरि सुवेदीलाई मालसहित पक्राउ गरी खोली हेर्दा उक्त पक्राउ भएको मालको एक प्याकेटभित्र तीन हजार पिस घडीको व्याट्री फेला परेकोले मिति २०३८।९।१२ मा मौका मुचुल्कासहित उक्त कार्यालयले मिति २०३८।९।१२ को पत्र साथ त्रि.अ.वि.भन्सार कार्यालय गौचरमा व्यक्ति र सामान सहित पठाएको रहेछ । बिना भन्सार महसूल १८ थान पार्सलहरू नवराज बुढाथोकी, भीमप्रसाद गौतत र म समेतको मिलोमतोबाट देवकी नन्दन फर्मका सामान छोडेको हो । मउपर कारवाही भएमा मञ्जूर छ भन्ने समेत व्यहोराको किरणहरि विष्टले वि.प्र.वि.मा गरेको साबिती बयान । मिति २०३७।१२।२१ गतेदेखि बैदेशिक हुलाक भन्सार कार्यालयमा हाजिर भै काम गर्दै आएको छु । मिति २०३८।९।१२ गते कार्यालयमा हाजिर छु । उक्त दिन मैले दर्ताको काम गरेको थिए । उक्त दिन पार्सल चोरी भयो भन्ने हल्ला सुनेको र किरणहरि विष्ट काउन्टरमा थिए भन्ने व्यहोराको रामलाल कर्माचार्यले वि.प्र.वि.मा गरेको बयान