निर्णय नं. ४४५९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४५९ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/१०/०१ २४३० निर्णय नं ४४५९ ने.का.प. २०४९ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत २०४६ सालको रिट नं. ६४४ आदेश भएको मिति : २०४८।१०।१।४ मा निवेदक : भोजपुर जिल्ला भोजपुर गा.वि.स. वडा नं. ३ बस्ने बलराम के.सी. विरुद्ध प्रत्यर्थी : प्रहरी प्रधान कार्यालय, नक्सालसमेत विषय : उत्प्रेषण (१) प्रहरी ऐन, २०१२ बमोजिम प्रहरी सहायक निरीक्षकलाई नोकरीबाट हटाउने अधिकार प्रहरी महानिरीक्षकलाई भएको र प्रहरी नियमावली, २०३३ बमोजिम सो अधिकार प्रहरी नायव महानिरीक्षकलाई भई ऐन र नियमको व्यवस्था बाझिएको स्थितिमा ऐनको व्यवस्था नै मान्य हुने, कानुन व्याख्याको सामान्य सिद्धान्त समेत भएको हुनाले निवेदक प्रहरी सहायक निरीक्षकलाई नोकरीबाट हटाउने अधिकार प्रहरी ऐन, २०१२ को दफा १०(२) बमोजिम प्रहरी महानिरीक्षकलाई नै हुने देखिँदा प्रहरी नायब महानिरीक्षकले निवेदकलाई सेवाबाट हटाउने गरी गरेको निर्णय अनाधिकार भएको देखिने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक मिति २०४४।१२।३ देखि क्रिया विदा बसेको बेला मेरो ठेगानामा जि.प्र.का. सोलुले पठाएको क्र.सं. २८१९ को आ.वा. मिति २०४४।१२।१८ मा प्राप्त भई त्यसमा उल्लेखित पत्र पाई नसकेको र आ.वा. को व्यहोराबाट म उपर गरिएको कारवाहीको सम्पूर्ण विवरण जानकारी नहुँदा प्रहरी प्रधान कार्यालय नक्सालमा बुझ्दा मलाई प्रहरी नियमावली, २०३३ को नियम ९.५ को देहाय (क) को कसूरमा ऐ. नियमावलीको नियम ९.६ को उपनियम (२) को देहाय (ग) को प्रकृया अपनाई नियम ९.१ (च) बमोजिम सरकारी सेवाको लागि भविष्यमा आयोग्य नठरिने गरी सेवाबाट हटाउने गरी प्रहरी नायव महानिरीक्षकज्यूबाट मिति २०४४।११।२६ मा निर्णय भएको रहेछ, सो उपर प्रहरी महानिरीक्षकज्यू समक्ष पुनरावेदन गरेकोमा शुरु निर्णय नै कायम राखी पुनरावेदन उपर अन्तिम आदेश दिने गरी मिति २०४५।५।२० मा निर्णय पर्चा खडा भएको भन्ने समेत व्यहोरा उल्लेख भएको प्रहरी प्रधान कार्यालयको च.नं. ४५९ मिति २०४६।३।२२ को पत्रद्वारा जानकारी पाएँ । ३. कुनै पनि विवादीय विषय वस्तुमा सम्बन्धित पक्षले प्रतिवाद गर्ने मौका पाउनु पर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त अनुरुप प्रहरी ऐन, २०१२ को दफा १० मा प्रहरी कर्मचारीलाई मनमानी बर्खासी इत्यादिबाट संरक्षण गर्ने दफा ११ मा सेवाबाट हटाउने आदि कुरामा कुनै पनि प्रहरीलाई सफाईको मौका प्रदान गर्न पर्ने प्रहरी नियमावलीको नियम ९.६(२) मा सफाई पेश गर्ने मौका दिन पर्ने व्यवस्थाका साथै उक्त दफा र नियममा अपवादिय व्यवस्था भए पनि उक्त अवस्थाहरु मेरो हकमा आकृष्ट हुन सक्ने स्थिति छैन । म निवेदकलाई अधिक मात्रामा मादक पदार्थ सेवन गर्ने भन्ने मनगढन्ते दोष लगाएको छ । म उपर लगाइएको जनतालाई दुःख दिने गरेको भन्ने आरोप पनि आधारहिन छ । म उपर अपराधीलाई लुकाउने क्रियाकलापमा सरीक रहने भन्ने कसूर पनि उल्लेख गरेको छ । मैले कहिले कहिले कुन कुन अपराधीहरुलाई लुकाएँ वा सो कुरामा मद्दत दिएँ सो उल्लेख छैन । म निवेदक जिल्लामा कार्यरत रहँदा प्रहरी निरीक्षकको मातहतमा रहने