निर्णय नं. ४४७० - लुटपीटबाट उठेको जग्गा खिचोला जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४७० - लुटपीटबाट उठेको जग्गा खिचोला जालसाजी भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०१/१५ २३९० निर्णय नं. ४४७० ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान २०४६ सालको फौ.पु.नं. ३०९ फैसला भएको मिति: २०४९।१।१५।२ मा पुनरावेदक/वादी: लमजुङ जि. धेर्मु गा.पं. वडा नं. ३ बस्ने महादेव गुरुङका वा.भै आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने स्व.खतबहादुरको मु.स. गर्ने सेरबहादुर गुरुङ विरुद्ध विपक्षी/प्रतिवादी: मनाङ जि. धारापानी गा.पं. वडा नं. ८ बस्ने जगजित गुरुङसमेत मुद्दा : लुटपीटबाट उठेको जग्गा खिचोला जालसाजी (१) वादीको हकको श्रोतको नै कानुनतः अस्तित्व नभए नरहेपछि दावीको जग्गामा वादीको हक रहे भएको मान्न कानुनसंगत नहुने । (प्रकरण नं. २५) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्ष/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली र विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. प.क्षे.अ. को २०४६।३।८ को आदेश उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(७)(४) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. १९९१ सालमा साविक जि.मु. कालीदासको हाल जि.मु. ककबहादुर गुरुङ जिम्मा झुत्तामा अजम सिं गुरुङका नाउँमा बिजमाना ।।१ लागिको खोला नेरको पाखो कित्ता दर्ता भएको, निज दर्तावाला र निजका छोरा भक्त गुरुङ परलोक भएबाट निजको छोरा महादेव गुरुङले मलाई सो पुरै कित्ता पूर्व भिर कुना पश्चिम मुलबाटो उत्तर रोया छहरा खोला दक्षिण रोल्पो र डिल यो चार किल्लाभित्रको पाखो कित्ता १ रु. १०००।– मा लमजुङ मालबाट ०४२।२।८ गते राजीनामा रजिष्ट्रेशन गरिदिएकोले भोगी चर्ची आएको सो जग्गामा मैले मकै र कोली बाली लगाएकोमा बाली कांचै थियो, उक्त बालीहरु विपक्ष अग्रसर भई नचिनेका अरु २०, २२ जना मानिसहरुको मद्दत साथमा लिई ०४२।५।५ गते दिउँसो १० बजे देखि ५ बजेसम्म लुटपीट गरेछन् मकै मुरी २५, कोली बोदी ५ गाउँ घरको दर भाउले मकै मुरी १ को रु. ४०० ले रु. १०,०००।– कोली बोदी मुरी १ को रु. ४००।– ले २,०००।– समेत जम्मा रु. १२,०००।– विपक्षबाट भराई सजाय समेत गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. विपक्षले ०४२।२।८ मा राजीनामा गरी लिएको भनी हकको श्रोत देखाई बाली लुटपीट गरे भनिएको विपक्षको दाताको हकमा सो जग्गा छैन विपक्षको दाता महादेव गुरुङ कै बाजे दर्तावाला अजन सिं गुरुङले नै सर्वजित गुरुङसंग जग्गा दर्ता सन्धीसर्पन मुद्दा चली निज अजम सिंको दर्ता नै बेकायम हुने ठहरी २००६।११।१२ मा कुन्छा मालबाट अन्तिम फैसला भएको छ । दाता भनिएको व्यक्तिको नै हक समाप्त भएको जग्गा राजीनामा लिएको भनी दावी गरे पनि विपक्षको हक नपुग्ने हुँदा फिराद खारेज गरी पाउँ । विपक्षीले दावी लिएको ४ किल्ला भित्रको जग्गा प्र.पं.गणेशबहादुर समेतका उपर नन्दु गुरुङले २०३२ सालमा खिचोला गरे भनी फिराद दिई कारबाही चल्दा अजम सिं र सर्बजित समेत भएको २००६।११।१२ को कुन्छा मालको फैसला समेतका मिसिल प्रमाण लगाई फिराद खारेज गरी ०३३।१०।२०।४ मा मनाङ तथा लमजुङ जिल्ला अदालतबाट खारेजी फैसला भएको र सोही खारेजी फैसला सदर गरी गण्डकी अञ्चल अदालतबाट २०३५।२।१७ मा फैसला भएको छ विपक्षीहरुको जग्गा साविक फैसलाहरुबाट सन्धीसर्पन कायम भई रहे पनि हामी गाउँलेहरुको परिवारिक संख्या बृद्धि भएकोले हामीलाई आवाद गर्न दिने सम्बन्धमा मनाङ जि.पं. मा अनुरोध गरी जि.पं