निर्णय नं. ६१३४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१३४ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक: १ फैसला मिति :२०५२/०९/११ २६२४ निर्णय नं.६१३४ २०५३, ने.का.प. संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०४८ सालको रिट नं. .....२०९९ आदेश मितिः- २०५२।९।११।३ विषय: उत्प्रेषण । निवेदकः- जिल्ला सुर्खेत, विरेन्द्रनगर नगरपालिका वडा नं. २ बस्ने वर्ष २९ को भुपेन्द्र प्रसाद गिरी । विरुद्ध विपक्षीः- एस.ओ.एस. बालग्राम हर्मन माइनर विद्यालय सुर्खेत विरेन्द्रनगर । प्रिन्सिपल ईश्वरी प्रसाद शर्मा, हर्मन माइनर विद्यालय सुर्खेत विरेन्द्रनगर । करार अन्तर्गतको सेवाको हक सुविधा सोही करारले निर्धारित गरे बमोजिम हुने । (प्र.नं.७) कानूनले व्यवस्थित गरेको सेवा सम्बन्धमा मात्र यस अदालतले असाधारण अधिकार क्षेत्र भित्र रहेर हेर्नु पर्ने कुरा संविधानको धारा ८८(२) मा प्रयुक्त अन्य उपचार विहिन कानूनी हक मात्र प्रचलन गराउने व्यवस्था भएको हुँदा करारबाट उत्पन्न हकको प्रचलन गराउने सम्बन्धमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्र.नं.७) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाटः- विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी अवलम्वीत नजीरः- × आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको यस रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छः- २. एस.ओ.एस. बालग्राम सानो ठिमी अन्तर्गत संचालित विपक्षी हर्मन मायनर विद्यालय सुर्खेतमा ३ मार्च १९८९ तदनुसार २०४५।११।२० मा जुनियर इन्सट्रक्टर पदमा अस्थायी रुपमा नियुक्त भएकोमा सो कामको लागि योग्य भएको हुनाले २५ अप्रिल १९९० तदनुसार २०४७।१।१२ देखि जुनियर इन्सट्रक्टर पदमा स्थायी रुपमा नियुक्त भई स्थायी कर्मचारीले पाउने सुविधा जस्तै थप ग्रेड संचयकोषको सुविधा समेत प्राप्त गरी ५ जनवरी १९९२ तदनुसार २०४८।९।२१ सम्म संस्थाको भलो चिताउदै संस्था प्रति सधै इमान्दारी तथा कर्तव्य निष्ठ भई काम गर्दै आएको थिएं । यसै सिलसिलामा विपक्षी हर्मन मायनर विद्यालयद्वारा ११ मार्च १९९१ तदनुसार २०४७।११।२७ मा स्पष्टीकरण सोधेकोमा म बाट कुनै गल्ती नभएको व्यहोरा स्पष्टीकरण मिति २०४७।११।२९ मा पेश गरेकोमा पुनः उक्त विद्यालयद्वारा २१ मार्च १९९१ तदनुसार २०४७।१२।७ मा १ र २१ अप्रिल १९९१ तदनुसार २०४८।१।८ मा १ गरी जम्मा २ पटक तपाईले बैकल्पिक कक्षा किन लिनु भएन भनी बनावटी र कपोलकल्पीत गल्ती देखाई मलाई चेतावनी पत्र दिई ६ जनवरी १९९२ तदनुसार २०४८।९।२२ देखि लागु हुने गरी ५ जनवरी १९९२ तदनुसार २०४८।९।२१ को रे.फ.नं. ०१।९२ को विद्यालय प्रिन्सिपल विपक्षी ईश्वरी प्रसाद शर्माले मलाई मेरो सेवाबाट हटाइएको पत्र दिइयो । यस प्रकार मैले इमान्दारी पूर्वक कुनै गल्ती कमजोरी बिना आफ्नो कर्तव्य बहन गरी रहेकै अवस्थामा कानूनको प्रकृया पुरा नगरी मलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा १ द्वारा प्रदत्त समानताको हक तथा धारा १३(२) को (ङ) द्वारा प्रदत्त पेशा व्यवसाय रोजगार गर्न पाउने स्वतन्त्रताको हक समेतमा आघात पुर्‍याउने गरी विपक्षीद्वारा विद्यालयको सेवाबाट हटाइएको हुँदा उपचारको लागि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ अन्तर्गत यो निवेदन गर्न आएको छु । ऐ.को धारा ८८ (२) अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी विपक्षी हर्मन मायनर विद्यालयले मलाई सेवाबाट अवकास गरेको ५ जनवरी १९९२ को