निर्णय नं. ८५६८ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५६८ - कर्तव्यज्यान । भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/१२/०२ ६९२३ निर्णय नं. ८५६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की २०६५–CR-०१६५ फैसला मितिः २०६७।१२।२ मुद्दा :– कर्तव्यज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं. १४ घर भई हाल जिल्ला कारागार कार्यालय पाल्पामा थुनामा रहेको पदमबहादुर जुगजाली मगर विरूद्ध प्रत्यर्थी वादीः शेरबहादुर नेपालीको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्नेः– मा.जि.न्या.श्री रामचन्द्र राई पुनरावेदन फैसला गर्नेः– मा.मु.न्या.श्री मोहनप्रकाश सिटौला मा.न्या.श्री केशवप्रसाद मैनाली § मृतकको शरीरमा तथा वारदातस्थलमा कुनै पनि संघर्षका चिन्ह छैनन् । कुनै हतियार वा लाठा ढुङ्गाको प्रयोग भएको देखिएको छैन । समान उमेरका दुई पक्षबीच संघर्ष हुँदा जसको मृत्यु हुन पुगेको छ त्यसको शरीरमा तथा वारदातस्थलमा कुनै न कुनै संघर्षका चिन्ह देखिनु पर्ने । § हातमा लगाएका चुरा फुटेको छैन । खुट्टामा लगाएका चप्पल पनि लगाइएको अवस्थामा जस्ताको त्यस्तै छन् । वारदातस्थलको वरिपरि दोस्रो व्यक्तिको पद चिन्हसमेत छैन भने मृत्युको कारणमा घाँटी थिचिई श्वास प्रश्वाश रोकिएको (asphyxia due to Strangulation) भन्ने उल्लेख छ । तर, मृत शरीर नै सडी गली सकेको र लासजाँच मुचुल्काले यस तथ्यलाई समर्थन नगरेको अवस्थामा सडे गलेको लाशको भिसेरा परीक्षण समेत गर्नुपर्नेमा सो कार्य पूरा नगरी व्यक्त गरेको विशेषज्ञको रायसमेतलाई न्यायको प्रयोजनको लागि भर पर्न नसकिने । (प्रकरण नं.३) § अनुमान, आशंका र संभावना अनिश्चित तत्व भएकाले यस्ता अनिश्चित तत्वले ज्यान मारेको पुष्टि गर्ने प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । § प्रतिवादीको प्रहरी हिरासतमा नै रहँदा घाँटी रेटिएको भई घाँउ छ । यसलाई प्रहरी कागजमा आफूले नै ल्याएको दाह्री काट्ने ब्लेडले अपराधबाट बच्न आफैले काटेको भन्ने भनाई कागजमा राखिएको छ । अचानक पक्राउ परेको थुनुवाले दाह्री काट्ने पत्ति पनि साथै ल्याउनु र आफैँले घाँटी काट्नु भनिएको तथ्य पनि शंकाको घेरामा पर्न आउँछ । यस्तो अवस्थाको कतैबाट पुष्टि नहुने अनुसन्धान अधिकारीसमक्षको भनिएको सावितीलाई आधार लिएर ज्यान जस्तो कसूरमा सजाय गर्न नमिल्ने । (प्रकरण नं.६) § अन्य प्रत्यक्ष वस्तुगत प्रमाणको सर्वथा अभाव रहेको स्थितिमा केवल मौखिक प्रमाणको आधारमा अपराधी घोषित गर्न अदालतले अत्यन्त संयमता अपनाउनु पर्दछ । मौखिक प्रमाण दिने व्यक्ति स्वयमले देखेको, सुनेको र अनुभव गरेको कुरा भरपर्दो देखिएमा मौखिक प्रमाणले पनि उत्तम प्रमाणको रूप ग्रहण गर्न सक्दछ । तर शंकाको भरमा गरिएको अभिव्यक्तिलाई न्यायको रोहमा विश्वास गरिहाल्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री लीलामणि पौडेल प्रत्यर्थी वादी तर्फबाटःविद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :— मेरी श्रीमती वर्ष ३४ की सुकमाया नेपाली केही वर्ष पहिलादेखि अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, आफूखुसी हिँड्ने डुल्ने कार्य गर्दैे आएकीमा २०६३।४।२० गतेका दिन १०:०० बजे घरबाट हिंडी गएकी र घरमा नआएकीले छरछिमेक समेत