निर्णय नं. ६१५१ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१५१ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाऊँ । भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/१६ २४४२ निर्णय नं. ६१५१ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५७ सालको रिट नं. २९९९ आदेश मिति २०५३।२।१६।४ विषयः उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ । निवेदक- काठमाडौं जिल्ला का.न.पा. वडा नं. १० वानेश्वर हाइट स्थित पश्चिमाञ्चल इट्टा टायल उद्योग प्रा.लि. को तर्फबाट सो प्रा.लि. का अध्यक्ष टेकनरसिंह भट्टचन । विरुद्ध विपक्षी- श्री ५ को सरकार, उद्योग विभाग त्रिपुरेश्वर । मिति २०४४।७।१ मा औद्योगिक व्यवसाय ऐनमा दोश्रो संशोधन भै दफा १०(क)(३) को आयकरमा थप २ बर्षे म्यादको अवस्था समाप्त भए पनि दफा १० को उपदफा २ मा भएको व्यवस्था तर्फ दृष्टिपात गर्नु आवश्यक हुन्छ । उक्त ऐनमा यो दफा प्रारम्भ हुन अघि यसै ऐन बमोजिम अनुमति प्राप्त गरी यो दफा प्रारम्भ हुनु अगावै उत्पादन शुरु गर्ने वा अनुमति पत्रमा तोकिएको अवधि भित्र उत्पादन शुरु गर्ने उद्योगले अवधि किटिएको जति सुविधा सहुलियत र संरक्षणको हकमा अनुमति प्राप्त गर्दाको बखत कायम रहेको व्यवस्था बमोजिम नै पाउनेछ र अवधि नकिटिएको सुविधा सहुलियत र संरक्षणको हकमा यसै दफामा गरिएको व्यवस्था बमोजिम पाउनेछ । तर अनुमति पत्रमा तोकिएको अवधि भित्र उत्पादन शुरु नगर्ने उद्योगले पाउने सुविधा सहुलियत र संरक्षण यसै दफामा गरिएको व्यवस्था बमोजिम हुनेछ भन्ने लेखिएको पाईन्छ । निवेदक उद्योगले यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरेको हो वा अनुमति पत्रमा तोकिएको म्याद सम्बन्धमा उद्योग विभागबाट उत्पादन गर्ने म्याद थप लिई उत्पादन प्रारम्भ गरेबाट उक्त ऐनमा व्यवस्था भए बमोजिम अनुमति प्राप्त गर्दाका बखत कायम रहेको व्यवस्था बमोजिम नै सुविधा पाउने भन्ने स्पष्ट शब्दमा भनिएको व्यवस्था बमोजिम २०४३।१०।१४ मा अनुमति प्राप्त गरेको बखत कायम रहेको दफा १०(क)(३) बमोजिम आयकरमा थप २ बर्ष आयकर छुट पाउने सुविधा प्राप्त गर्न सक्दैन भन्न नमिल्ने । ( प्र.नं. ८) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(२) बमोजिम आयकर छुटको हिसाव किताब र निर्धारण हुनु पर्नेलाई ०४४ सालको संशोधित दफा १० बमोजिमको आयकर छुट प्रदान हुँदैमा दफा १०(क)(३) बमोजिमको थप २ बर्ष आयकर छुट पाउन सक्ने नसक्ने भन्ने प्रश्नमा विचार गर्नु नै पर्दैन भन्ने कानून संगत नहुने । (प्र.नं.९) निवेदकको उद्योग स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग देखिँदा सो उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ को पहिलो संशोधन सहितको दफा १०(क)(३) बमोजिमको थप २ बर्षको आयकर सुविधा पाउने हुँदा सो सुविधा नपाउने भन्ने प्रत्यर्थी उद्योग विभागको मिति २०५१।१२।२३ को पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । निवेदक उद्योगलाई थप २ बर्षको आयकर छुट दिनका लागि सिफारिस दिनु भनी उद्योग विभागका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाट - विद्वान बरिष्ठ अधिवक्ता श्री भक्त बहादुर श्रेष्ठ विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता नन्दबहादुर सुवेदी अवलम्बित नजिर- × आदेश न्या. गोविन्द बहादुर श्रेष्ठ- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- २. स्थीर पुँजी र चालु पुँजी रहने र इट्टा उत्पादन गर्ने गरी विपक्षी उद्योग विभागबाट २०४३।१०।१४ मा दर्ता भएको यो उद्योगको कारखाना न